निरीह बुहारी

  प्रकाशित मिति
९ असार २०७५, शनिबार १५:४९



आँशु अमिलो, तितो, टर्रो, पिरो, नुनिलो र गुलियो सवै खाले स्वाद वनेर झर्ने गर्छ । विहान ओच्छ्यानमै झर्छ नुनिलो भएर । दिउँसो पिरो भएर झर्ने गर्छ । कसलाई सुनाउ दिदी मनका वह ! वह सुनाउनु पर्छकि भनेर मैले बाटाहरु छोडिन छु । थाहा पाइन छु यी दिनहरु आउलान् भनेर । एउटा हातमा गाईको दाम्लो, अर्को हातमा खोलेको भाँडो । ती मृग नयनवाट खसेको आँशु पुष्ट गलालाई कुलेसो बनाउँदै तप्लक्क झरे भुईँमा । म अवाक भए । सुन्नु अनि हेर्न मात्र सक्थेँ उनका आँशुसँगका वेदनालाई ।

सान्त्वना वाहेक मसँग केही थिएन । नत मेरा सान्त्वनाले उनको छाती हलुङ्गो हुँदो हो । यदि हुन्थ्यो भने कति हो कति सान्त्वना उनको लागि छोडी दिन्थे । दुःख बाड्न मिल्ने भए आधा भन्दा धेरै मै भिरिदिन्थे काँधमा झँै भयो । साँझ झमक्क परेको हातमा पक्रेको डोरी छिनाउँला झैँ गरी गाई लम्कियो हरियो सागतिर । म पनि हातमा एक मुठी साग वोकेर लागेँ मास्तिर । अरुको वेदनामा पोल्ने उसको छाती आफ्नै वेदनाले पोलेको छाती भैmँ केले शितल होला त भनी मनमा कुरा खेलाइरहन्थी पारु ।

अब, खेदाइदैछे पारु, उसको लोग्नेको जन्म र उसको कर्म घरवाट । उसको लोग्नेवाट जन्मेका दुई सन्तान च्यापेर बेघर हुँदैछे । कहाँ साहरा मिल्छ थाहा छैन । लोग्ने परदेशवाट फर्केको छैन । परदेशमा उसको आफ्नै व्यथा छ । नोकरीको तलवले उसैलाई खान पुग्दैन ।

छोराले पैसा पठाउन नसकेको रिस पारु अनि उसले जन्माएको सन्तान माथि बज्रिन्छ । आँगनमा खेल्दै गरेकी छोरी एक्कासी चिच्याए पछि दौडिदै उ छोरी छेउ पुग्छे । जुरुक्क उचालेर काखमा राखी चार औँलाका डाम गालामा नआँटेर चल्नी अनि कानतिर पुगेको, छरछरी रगत आउँला झैं भएको छ, अबोध वच्चीको । आमा हो जन्म दिने कसको मन रुँदैन र ! ‘आफ्नै विहे गरेकै छ अव आफैँ जन्माउनु अनि कुट्नु’ देवरलाई गाली गर्दै पारु नानीलाई फुल्याउन थाली । भात पकाउने भड्डु, डाडु, पन्यू उचालेर देवर बज्रन थाल्यो । ‘केही पनि दिन्न, केही पनि नदिई निकाल्नु यसलाई घरवाट भनेर सवैको आदेश छ । निस्किहाल यो भाँडा, कराई केही पनि दिन्न’ उसले उचाली रह्यो हाँडा–भाँडा । फेरि के विचार आयो भूईंमा पछार्यो भाँडालाई कुच्चिने गरी ।

चुपचाप सुनिरहन्छे पारु । उसलाई भन्न मन लाग्छ–‘तेरो जति नै अधिकार छ मेरो यस घरमा जा तैँ निस्केर’ । तर, जवाफ फर्काउन पनि सकिन । कतै मेरो ससुरा र देवरहरुको कुरा नै पो सहि हो कि मैले सबै काम गर्न नसक्नु मेरै दोष पो हो कि ! आफु निर्दोष भएको दावी गर्न नसकेर ऊ ठगिइरहेको उसलाई नै थाहा छैन । एकोहोरो चुपचाप सहिरहेकी थिई ।
‘टेर्दिनस् ! आज मसान्त भयो, भोलि सङ्क्रान्ति, पर्सी चैँ निस्किहाल तेरा छोरा, छोरी लिएर’ चुलोको दाहिनेतिर छेउमा बसेर खाना खाँदै ससुरा फलाक्न थाले । चुलोको तलतिर वसेर सुनी मात्र रहन्छे ऊ । फेरी फलाक्तै छन् ‘वाहिर भित्र सवै काम गर्न सक्छेस् भने बस नत्र निक्ली । मलाई काम लाग्दिनस् तँ’ यो सवै झेल्ने पारुको वसको कुरा थिएन, हिम्मत थिएन । टाढाको कुवाको पानी, हिलो वाटो, भासिँदै कुवासम्म, फेरि भासिँदै घरसम्म अनि चुलो चौको नै काफी थियो । बर्कतले भ्याएसम्म गरेकी थिई ।

अव एक्लो महसुुस गर्न थालेकी थिई उसले आफ्नो भन्ने कोही होइन रहेछ भन्ने भान हुन्थ्यो उसलाई । फगत एक्लो, नितान्त एक्लो कोहि छैन साथमा । रातभर लुकाएर आँशु झार्ने गर्थी अनि लुकाएरै सुकाउने गर्थी आँशुलाई । अग्रज अनि आफन्तको सहयोगको अपेक्षा नगरेकी पनि होइन उसले । हरेक दिन, हरेक साँझ तिनै प्रश्न दोहोरिन्थे । तिनै व्यवहार दोहोरिन्थो ‘भाउजु निस्किन्छे भनेर विहे गरेँ, भाउजु त झन् पो भित्रिया भएर बसी’ देवरका यस्ता वचन पनि सुन्नुपर्यो । नमिठा प्रश्न र नराम्रा व्यवहार सामना गरिरहँदा शारीरिक अनि मानसिक अवस्थामा कमजोर भइसकेकी थिई ऊ । एकोहोरो प्रश्न र नराम्रा व्यवहारले तहस–नहस वनाउनु के नैतिकता थियो र ? कहाँनिर चैँ वाँकी थियो मानवताको नातासँगसँगै रगतको नाता ? केका लागि थियो त हाडनाता ? आखिर सवै नाता सम्वन्ध रुपैँयाँ पैसाभरिको मात्र हो भने किन चाहियो समाज ? केका लागि इष्टमित्र, बन्धुवान्धव ।

पैसाले परिवार खुसी पार्न सकेनन् पारुका पतिले । आखिर ऊ एक्लो भई समाजविहिन, परिवारविहिन, आफन्तविहिन । कसैको मानसिकस्थितिमाथि खेलवाड गर्ने अधिकार कसले दियो त्यो परिवारलाई ? आज प्रश्न माथि प्रश्न गर्दै छे ऊ । ‘ए ! बा, दुध–दहीले कहिले खाँचो नभएको घर, धेरै भो भन्सा शुन्य भएको, ल्याउनुहोस् न एउटा भैँसी’ माथ्लाघरे दिदीले आग्रह गरिन् । छोरो भनाउँदाका ज्यामराज निक्लेर जाउन् यो घरवाट अनि ल्याउँछु यत्रो भैसी । पारुका ससुरा दारा किट्दै वोले । भन्सामा लुटुपुटु गर्दै गरेकी पारुका कानमा वल्लो भित्तो, पल्लो भित्तो वज्रिदै शब्दहरु ठोकिन्छन् । वा वा ! छेलो–खेलो, मनमानी गर्न पुग्ने सम्पति छैन भने किन चाहियो घर किन चाहियो परिवार ? केका लागि समाज ? समाजले एउटी नारी अपमानित भएको हेरिरहने छिमेकी अनि आफ्नै सन्तानलाई अपहेलित गर्ने परिवार किन चाहियो ? एक छाक मात्र खाएर भए पनि एक्लै वसे हुन्न र जहाँ समाज छैन, आफन्त छैनन् । परापूर्वकालमा जङ्गलमै हुर्की वढी मरणोपरान्त जङ्गलकै बास वस्ने प्राणीलाई किन चाहियो त समाज ? मन दुःखाउन, मन रुवाउन, मानसिक अनि शारीरीक स्थिति क्षत विक्षत वनाउन त चाहिने रहेछ, इष्ट मित्र र परिवार अनि समाज ।

रातभर पारुका आँशु लुकेर वग्थे अनि लुकेर नै ओभाउँथे । के पारुले जस्तै अभावमा यति नै अपमानित हुँदैछन् त कयौँ नारीहरु ? पारु मात्र हो कि, अभावका कारण अपहेलित, लाचारी हुन विवश । सवै नारीले भोग्नुपर्छ पारुको झैं नियति ? मानसिक तनावको न्याय मिल्ने तराजु कुन चाहिँ अदालतहरुमा राखिएका छन् ? कोसँग गरेका प्रश्नले न्याय पाउली त पारुले ?

वा ! वा !! आज निकालिदै छे पारु ? लोग्नेको जन्म घरवाट गोवर कुँडो दाउरा, घाँस गर्न नसकेर । चुलो चौको मात्र गरेर जमिन्दारका घरमा दुईछाक खान पाउने अधिकार छैन भनेर खेदाइदैछे पारु । छोरा, छोरीले उनहरुको वावुका घरको भैँसीको दुध पिइदिए भनेर धपाईदैछे पारु । दिउँसोमासा नुन, पानी हालेर जमिन्दारका अँगेनामा जाउलो पकाइएको निहुँमा लखेटिइँदै छे पारु । दुई छोरा र छोरी साथमा लिएर ।

वा ! सन्तान श्रृष्टि गरिदिनु पर्ने, नगरे वाँझी कहलाइने । शारीरिक, मानसिक र आर्थिक आदि इत्यादि समस्याहरु झेलेर पनि सन्तान वढाइदिनु पर्ने, हेला भई दिनुपर्ने निरीह वुहारी अनि सम्पतिको ओइरोलाई दिन नसक्ने छोरो निरीह । उनीहरुले जन्माएका सन्तान निरीह ! छोरोले कमाउन नसके छोरोले भित्र्याएकी वुहारी हेला । वुहारीले काम गर्न नसके उसले जन्माएको छोरा र छोरी हेला । वा ! परिवार अनि समाज । परिवार अनि समाजवाट कहिले पाइन उसले एक मुठी न्याय, एक अञ्जुली सान्त्वना मात्र पनि पाउने छनक कहिले देखिन उसले त्यही भएर गह भित्रै दवाएर राखी सवै अन्याय अनि अत्याचार ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: