निर्दयीले चुड्यो तनुजाको जीवन

  प्रकाशित मिति
६ श्रावण २०७३, बिहीबार १०:३२


tanuja
तनुजा

बुधवारे । स्कुले विदाको अवसर पारेर मावल आएकी शान्तिनगर–१ की एघार वर्षीया तनुजा कोइरालाको घाँटी रेटेर विभत्स हत्या भएको छ । ‘बलात्कार’पछि हत्या भएको प्रहरी आशङ्का  छ ।

बुधवारे–५ स्थित कान्छा मामाको घरमा तनुजाको मङ्गलवार राति हत्या भएको हो । मृतकको घाँटीमुनि किलकिलेमा धारिलो हतियारले बेस्सरी रेटिएको छ ।

मीठो मसिनो खाएर माइजु र मावली हजुरवुवा र हजुरआमासँग बस्दै आएकी उनको कलिलो जीवन अपराधीले नृशंसतापूर्वक चुँडेको छ । घटनाले सिङ्गो बुधवारेवासी स्तब्ध भएका छन् ।

बेलुकी टीभी सिरियल हेरेर कोठामा सुत्न गएकी उनलाई बुधवार विहान परिवारकै सदस्यहरूले ओछ्यानमा मृत फेला पारेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरि शर्माले घटनाको प्रकृति हेर्दा बालिकाको ‘बलात्कारपछि हत्या भएको’ अनुमान गरिएको बताए ।

मृतकको घाँटी रेटिएको र शरीर रगतपच्छे अवस्थामा पाइएको छ । खुट्टा आधा भुइतिर झारेर शरीर चाहिँ लाश खाटमाथि लमतन्न उत्तानो पारिएको फेला पारिएको छ । हत्याराले लाशलाई सिरक र तन्नाले आँधाउधी छोपेर छाडेको थियो ।

tanuja bhai
सँगै सुतेका भाइ नुतन

मृतकसँगै सुतेका थिए उनका भाइ
बुधवारे बजारबाट करीव डेढ किलोमिटर पश्चिम जयपुरतिर जाने सडकको दक्षिणपट्टि प्रसाई निवास रहेको छ ।

५÷६ दिन अघि तनुजा र उनको पाँच वर्षे भाइ नुतन शान्तिनगर–१ देवीवस्तीस्थित घरबाट मावल आएका थिए । मावलका हजुरवुवा र हजुरआमा समेत बस्दै आएको कारण उनीहरू कान्छा मामा दिपक प्रसाइँको घर आएका थिए ।

दुई तले ठूलो घरको भुइँतलाको भित्रि एक कोठामा तनुजा र उनको पाँच वर्षे भाइ सुतेका थिए । अर्को कोठामा हजुरवुवा र हजुरआमा सुतेका थिए भने अर्कै कोठामा मृतककी कान्छी माइजु गीता प्रसाई सुतेकी थिइन् ।

अभियुक्तले अपराधको पोल खुल्ने डरले तनुजाको हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । सँगै सुतेका पाँच वर्षीय उनका भाइ नुतन सकुशल छन् ।

नुतन विहान सबेरै उठेर रुँदै रुँदै अर्को कोठातिर गएका थिए । नुतनको हात र कपडामा रगतको छिर्का लागेका छन् । हाल त्रसित अवस्थामा रहेका कारण नुतनसँग प्रहरीले सोध्न बाँकी रहेको बताइएको छ । हत्या हुँदा नुतन निद्रामा थिए वा उनले घटना देखेका छन् भन्ने विषयमा अहिले केही बताइएको छैन ।

खेतालामाथि आशङ्का
नाम नखुलेका अन्दाजी ४० वर्षका व्यक्तिले दुई दिन अघि प्रसाईको घरमा दुई दिनसम्म खेतमा आली तास्ने ज्यालादारी काम गरेका थिए ।

ती व्यक्ति मङ्गलवार साँझ ७ः ३० बजेतिर तनुजाकै माइलो मामा हरि प्रसाइँको घरमा साइकल डोर्याउँदै आएका थिए । तनुजा बसेको कान्छा मामा र साँझमा खेताला आएको माइलो मामाको घर साँध जोडिएको छ ।

‘उता (तनुजाको घरमा) सुतिसके होलान्, भात खाएको छुइँन’ भन्दै त्यो खेताला आफ्नो घरमा आएको र भात खाएपछि हिँडेको तनुजाका माइलो मामा हरि प्रसार्इँ बताउँछन् ।

हत्या भएको घर बाहिर त्यही खेतालाको साइकल र चप्पल फेला परेको छ ।
आँगनमा फेला परेको साइकलमा चामलको पोका लोड गरिएको छ । त्यो चामल हत्या भएकै घरभित्रबाट चोरिएको अनुमान छ ।

खेतालाले आफ्नो घर कहिले धुलावारी र कहिले कालिस्थान बताउने गरेका थिए । तनुजा सुतेको कोठाको आग्लो खुल्लै रहेको मौका छोपेर अभियुक्त उनको कोठासम्म सजिलै पुगेको र हत्यापछि घर पछाडिको दैलोबाट भागेको प्रहरीले शङ्का गरेको छ ।

वुवा मलेशियामा
तनुजाको बुवा चन्द्रकान्त कोइराला वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा छन् ।
उनको घरमा एउटा भाइ नुतन कोइराला र एउटी दिदी तारा कोइराला छन् । चन्द्रकान्त मलेशिया गएपछि नानीहरूको पठनपाठन र लालनपालन आमा वृन्दादेवी कोइरालाले गर्दै आएकी छन् ।

पढाइमा अब्बल तनुजा बर्नेस्थित ब्राइट फ्युचर अङ्ग्रेजी स्कुलमा कक्षा ५ पढ्दै थिइन् ।

तनुजाको हत्याको खबर फैलिएपछि घटनास्थलमा बुधवार विहान हजारौँ मानिसको भीड लागेको थियो । आफन्तजन भेला भएका थिए । ती सबैको आँखामा आँशुको भेल उर्लिएको थियो । परिवारका सबै सदस्यमा रुवावासी मच्चिएको थियो ।

राति ‘थाहा पाएनन्’ घरका कसैले
तनुजाको हत्या भएको वल्लो र पल्लो कोठामा सुतेका आफन्त समेतले पनि राति थाहा पाएनन् ।

भाञ्जाभाञ्जीहरू अबेरसम्म सुतेकै होलान् भन्ठानेर तनुजाकी कान्छी माइजु गीता प्रसाई बुधवार विहान स्थानीय समूहको बैठकमा गएकी थिइन् । उनलाई समूहका साथीले नै ‘घरमा मान्छे मरेको खबर आएको छ, तपाइँ त बैठकमा पो आउनु भएको रहेछ, जानुस् जानुस्’ भनेर घटनाको जानकारी दिएका थिए ।

हजुरआमा, हजुरआमा र माइजुले घटना विहान मात्र थाहा पाएका थिए ।

पोस्टमार्टम जाँच धरानमा
प्रहरीले लाशको उच्चस्तरको पोस्टमार्टम जाँचका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । त्यहाँ ३ जना फोरेन्सिक विज्ञ डाक्टरले लाशको जाँच गर्ने छन् ।

प्रहरीले घटनाको वास्तविकता अनुसन्धानपछि वाहिर ल्याइने जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक श्याम अधिकारी बुधवार विहानैदेखि अनुसन्धानमा खटिएका विभिन्न तहका प्रहरीसहित घटनास्थलमा खटिएका थिए ।

प्रहरीले मृतकका लुगाकपडा जाँचका लागि लगेको छ भने घटनास्थलमा फेला परेका साइकल र चप्पल समेत अनुसन्धानका लागि साथै लगेको छ ।

(२०७३ साउन ६ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित )

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: