निर्दोष प्रमाणित भएपछि छुटे श्याम

  प्रकाशित मिति
१३ बैशाख २०७५, बिहीबार ०९:१२


मेचीनगर । प्रशासनको गम्भीर त्रुटीका कारण मेचीनगरका एक युवाले निर्दोष अवस्थामा नै १३ दिन कारागार बस्नु परेको छ ।

मेचीनगर–६ का ३५ बर्षीय श्याम थापा निर्दाेष हुँदाहुँदै पनि कारागार बस्नु परेको हो । झापा जिल्ला अदालतले थापालाई निर्दोष सावित गर्दै बुधबार कारागार मुक्त गर्ने आदेश दिएपछि उनी रिहाइ भएका हुन् ।

घटना विवरण अनुसार २०६४ जेठ २२ गते झापा जिल्ला साविक टाघनडुब्बा वडा नं २ का गुलाम रसुल मियाँ मोलबीको घरमा रातो चन्दनको काठ लुकाइ राखेको अवस्थामा एउटा भारतीय नम्बर प्लेटको कारसहित प्रहरीले सुराकीको आधारमा सो काठ बरामद गरेको थियो ।

उक्त घटनामा तत्कालीन मेचीनगर वडा नं १० काँकरभिट्टाका अर्कै श्याम थापा नाम गरेका व्यक्तिलाई २६ लाख ९९ हजार दुई सय रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय हुने ठहर गरेको थियो । तर, नाम मिलेकै कारण निर्दोष थापालाई प्रहरीले पक्राउ गरेको थियो ।

सो घटना भएको समयमा थापा वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको परराष्ट्र मन्त्रालयले प्रमाणित गरेपछि जिल्ला अदालतले बुधबार उनलाई रिहाइ गर्ने आदेश दिएको थियो ।

रिहा भएलगत्तै लोकतन्त्र पोस्टको कार्यालयमा बुधवार आइपुगेका थापाले निर्दोष अवस्थामा १३ दिन जेल बस्नु परेकोमा गहिरो दुःख व्यक्त गरेका थिए । मलिन स्वरमा थापाले भने, ‘काँकरभिट्टाको टेम्पो स्टेन्डबाट मलाई प्रहरीले पक्राउ गर्दा नै मैले म तपाईले खोजेको श्याम थापा होइन भन्दा मेरो कुरा सुनुवाइ भएन ।’

रिहाइको लागि पहल गर्ने स्थानीय राजनीतिक दल, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय नागरिक समाज र सञ्चारकर्मी सबैलाई थापाले धन्यवाद दिए ।

अदालतको फैसला कार्यान्वयन गराउने नाममा फरार अभियुक्तसँग नाम मिलेकै आधारमा बिना प्रमाण सर्वसाधारण नागरिकलाई प्रशासन र अदालतले जेल हालेर दुःख दिने कार्य लोकतन्त्रको उपहास भएको झापा क्षेत्र नं १ का प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले बताए ।

निर्दोष व्यक्तिले केही दिन भए पनि जेल बस्नु गम्भीर गल्ती भएको भन्दै थापाको रिहाइको पहल गर्ने मध्येका एक स्थानीय राजु दाहालले पीडितले क्षतिपूर्ति पाउनु पर्ने बताए । दाहालले भने, ‘यो अवधिको मानसिक र शारीरिक पीडाबापत पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्छ ।’

वैदेशिक रोजगारीबाट फर्केपछि ट्याम्पो किनेर काँकरभिट्टा क्षेत्रमा चलाउने थापालाई चैत ३० गते प्रहरीले पक्राउ गरी कारागारमा कैद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: