सोध्नु हुन्थ्यो–‘ओई सानोकाजी, गाइँगुइँ के छ ?’

  प्रकाशित मिति
२१ श्रावण २०७३, शुक्रबार ०७:५७


mohan kazi
              ( मोहन काजी )

सेतै फुलेका दारी जुँघा । रातो र सेतो रङको मोपेड (भटभटे)को सवारी । पत्रकार डिल्लीराम निर्भिकलाई हामी परैबाट चिन्थ्यौँ । नहाँसी नबोल्ने र बोल्दा अलिअलि छड्के हान्ने उहाँको बानी नै थियो । साना हुन् कि ठूला, उहाँ कसैलाई पनि पद, जात र पावरका आधारमा विभेद गर्नु हुन्नथ्यो । पत्रकारका रुपमा उहाँ राजादेखि रङ्कसम्म उत्तिकै परिचित हुनुहुन्थ्यो । मेची अञ्चलको जेठो दैनिक पत्रिका ‘हिजोआज’का सम्पादक अर्थात् श्रद्धेय अग्रज पत्रकार डिल्लीराम निर्भिकको २०७३ साउन १९ गते काठमाडौँस्थित घरमा ७८ वर्षको उमेरमा निधन भएको छ । भौतिक शरीर ढले पनि झापाली पत्रकारिता इतिहासमा निर्भिक बनेर उहाँ सँधै अमर रहिरहनु हुनेछ ।

‘हिजोआज दैनिक’ र डिल्लीराम निर्भिक पर्यायबाची नाम हुन् । निर्भिकलाई ‘हिजोआज’ले चिनायो भने ‘हिजोआज’ पनि निर्भिकले इच्छा गरुन्जेल मात्र प्रकाशित भयो । ‘हिजोआज’को ‘गाइँगुइँ’ नामक स्तम्भ निकै लोकप्रिय थियो । टाढाबाट उहाँ आउँदै गर्दा ‘गाइँगुइँ’ लेख्लान् है भन्दै मानिसहरू सतर्क हुन्थे । च्वास्स व्यङ्ग्य गर्ने ‘गाइँगुइँ’ जस्तो स्तम्भको थालनी उहाँले गर्नु भएको हो । पछि विवेचनामा अग्रज पत्रकार नकुल काजीले ‘खासखुस’ नामक स्तम्भ चलाउनु भयो ।

२०३९ साल असार १३ गते ‘हिजोआज दैनिक’को पहिलो अङ्क निस्किएको थियो । २०६० सालतिर उहाँले झापाका प्रमुख जिल्ला अधिकारीलाई ‘मैले पत्रिका चलाउन सकिन, बन्द गरिदिनु’ भन्ने व्यहोराको चिठी लेखेरै ‘हिजोआज’ सँधैका लागि बन्द गरिदिनु भएको थियो ।

मेट्रिकसम्म अध्ययन गर्नु भएका निर्भिकले आफु जातिपाति र वर्गीय विभेदको विरोधी भएकाले नामको पछाडि थर नलेखेको बताउने गर्नु हुन्थ्यो । उहाँ जातले बाहुन र थर लुइँटेल हो । उहाँकी आमा र भाइ ज्यामिरगढीको भिन्डीवस्तीमा बस्नु हुन्थ्यो ।

श्यामकृष्ण उपाध्याय, बसन्तकुमार खड्का, नकुल काजी, एसएल शर्मा, गोविन्दचन्द क्षेत्री, हृषिकेश उपाध्याय जस्ता केही पत्रकार मात्र भएको भद्रपुर त्यसबेलाको जिल्लाको मात्र होइन, पूर्वकै आकर्षणको केन्द्र थियो । पञ्चायतकाल भएकाले पत्रिका निकाल्न र त्यसमा जनताका भावना प्रकट गर्न कठिन थियो । भूमिगत र अर्धभूमिगत रुपमा मात्र प्रजातान्त्रिक र बामपन्थी पत्रकारले गतिविधि चलाउँथे भने पञ्चायतको समर्थन नगरी खुल्लमखुल्ला पत्रकारिता गर्नेले राज्य आतङ्क सहनु पथ्र्यो ।

nirvik pic
डिल्लीराम निर्भिक

इलामको शान्तिपुरमा जन्मिएर ८ वर्षको उमेरमा घर त्यागी झापा आउनु भएको निर्भिकले स्थापित हुन सङ्घर्षको लामै यात्रा गर्नु पर्यो । उहाँले पढ्न, जीविका चलाउन र पत्रकारिता गर्न कठिन दुःख झेल्नु भएको छ । भद्रपुरमा उहाँ रात्रि स्कुल पढ्नु हुन्थ्यो । पञ्चायतकै समर्थनमा पत्रिका चलाउँदा समेत उहाँले तत्कालीन शासकहरूको कोपभाजनको शिकार हुनु पर्यो ।

उहाँ पत्रकार भएरै झापामा जेल पर्ने सम्भवतः पहिलो पत्रकार हुनुहुन्छ । ३०३१ साल कार्तिक २० देखि पुस २६ गतेसम्म उहाँ झापा कारागारमा थुनिनु भएको थियो । शान्ति सुरक्षा भङ्ग गरेको अभियोग लगाइए पनि खासमा उहाँलाई पत्रकारकै रुपमा थुनिएको थियो ।

धुलावारी, शनिश्चरे र भद्रपुरलाई कर्मथलो बनाउनु भएका निर्भिकले गोरखापत्र र राससका प्रतिनिधि भई काम गर्नु भएको थियो । वीवीसी नेपाली सेवाले झापाको गतिविधि सम्बन्धमा उहाँसँगको फोनिङ सम्वाद सुनाउने गथ्र्यो । सरकारी जागिर पनि खानु भएका उहाँ २०२५ सालतिर भद्रपुरको त्रिभुवन चोकस्थित भैरव श्रेष्ठको घरमा नेमप्लेट राखेरै ‘डिल्लीराम शर्मा निर्भिक’को रुपमा अफिस चलाउनु हुन्थ्यो ।

‘हिजोआज’को कार्यालय र सिद्धार्थ छापाखाना जनता चोकमा खुल्यो । उहाँको अड्डा त्यही जम्यो । पत्रकारहरू गोपाल गिरी, राजबाबु शङ्कर, श्यामप्रसाद उपाध्याय उहाँकै उत्पादन हुनुहुन्छ । जनता चोक अहिले सुनसान छ । २०६० सालमा पत्रिका बन्द भयो । त्यसपछि जनता चोकप्रतिको आकर्षण पनि शुन्य जस्तै भयो ।

निर्भिकका समकक्षी पत्रकार नकुल काजी उहाँ खाली पाइतालाले पृथ्वी टेकेर उभिएको व्यक्तित्व भएको बताउनु हुन्छ ।
विवेचना पत्रिकाका संस्थापक नकुल काजी २०२५ सालमा भद्रपुरको सगरमाथा चोकमा पहिलोपल्ट निर्भिकलाई देखेको र विवेचनाको पहिलो अङ्कमा संयुक्त सम्पादक बनाएको स्मरण गर्नु हुन्छ । काजीभन्दा निर्भिक ८ बर्षले जेठो हुनुहुन्थ्यो ।

निर्भिक झापाको पहिलो पुस्ताका पत्रकार हुनुहुन्थ्यो । पहिलो पुस्ताका अग्रज पत्रकार नकुल काजी र निर्भिक अलग अलग पत्रिका चलाउने त्यसबेलाका सबैले चिनेका समकालीन पत्रकार हुनुहुन्थ्यो ।

उहाँसँग लामो समय सँगै रहेर पत्रकारिता गर्नु भएका अर्का अग्रज पत्रकार गोपाल गिरी निर्भिकलाई कर्मयोगी भन्न रुचाउनु हुन्छ । सहकर्मीलाई काम र मिहेनत गर्न सँधै उत्प्रेरित गर्ने उहाँको स्वभाव रहेको पत्रकार गिरी बताउनु हुन्छ ।

निर्भिकका दुई छोरा अर्पण र समर्पण हुनुहुन्छ भने पत्नी पार्वता शर्मा नेपाल राष्ट्र बैङ्ककी निवृत्त अधिकृत हुनुहुन्छ । अर्पण पत्रकार हुनुहुन्छ भने समर्पण चिकित्सक हुनुहुन्छ ।

उहाँको जीवनी प्रकाश पार्ने ‘नेपाली पत्रकारितामा निर्भिक’ नामक कृति प्रकाशित भइसकेको छ । जसमा निर्भिक आफैले आफ्नो जीवन दर्शन यसरी लेख्नु भएको छ–‘मेरो जीवनयात्रा नै जात, वर्ग र वर्ण विशेषमा आधारित नभई आफ्नो कर्मलाई नै धर्ममा रुपान्तरण गरी सिङ्गो मान्छे जातको वर्ग र वंशमा रहेर जीवनयापन गर्ने र यात्रा गर्ने मेरो जीवनशैलीसँगै सकारात्मक विचार राख्ने र बाँच्ने स्वतन्त्रता खोज्ने अग्रसरतामा रहेँँँँँँँ र मेरो पत्रकारिता एवम् जीवनयात्रा पनि सँधै समभाव, सामूहिक सचेतनतामै रह्यो, त्यसैमा रमायो ।’

मैले उहाँसँगै एउटै मिडियामा रहेर काम गर्ने अवसर पाइन । तर उहाँको सान्निध्य र स्नेह भरपूर पाएँ । मैले त्यसबेला काम गर्ने ‘विवेचना’ र उहाँले सम्पादन गर्नु हुने ‘हिजोआज’को अफिस भद्रपुरको एक किलोमिटरको दुरी नजिक थियो । म उहाँको अफिसमा गइरहन्थे, भलाकुसारी भइरहन्थ्यो । मेरो गाउँ ज्यामिरगढीका बारेमा पनि पूर्ण जानकार उहाँ गाउँतिरको खबर पनि सोध्नु हुन्थ्यो ।

‘विवेचनामा ठिक लागेन भने मेरोमा आउनु’ भन्दै मलाई धेरैचोटी उहाँले फकाउनु भएको पनि थियो । तर मैले आदरणीय नकुल सरको सान्निध्य र विवेचना कहिल्यै छाडिन । ‘ओई सानो काजी, नकुलको गाइँगुइँ (खबर) के छ ?’ बाटोमा भेट्दा उहाँले सोध्ने पहिलो प्रश्न यस्तै हुन्थ्यो । कहिलेकाहिँ ‘विवेचना’ र ‘हिजोआज’ विच खट्पट् हुन्थ्यो, खासखुस र गाइँगुइँमा हानाहान हुन्थ्यो । मलाई रिस होइन, हाँसो उठ्थ्यो ।

पार्वती भाउजु पनि ममतामयी हुनुहुन्थ्यो । म कहिलेकाहिँ उहाँको घर पुग्दा मीठो खानेकुरा खुवाउनु हुन्थ्यो । उहाँलाई सङ्गमचोकको नेपाल राष्ट्र बैङ्कको अफिसमा पनि भेटिन्थ्यो । उहाँको छोरा अर्पण शर्मासँग चिनजान राम्रै छ, तर समर्पणसँग चाहिँ छैन । अर्पणजी सुरुतिर टीभीमा अङ्ग्रेजी समाचार वाचन गर्नु हुन्थ्यो । पछि नेपालयमा सक्रिय हुनुभयो । पत्रकार महासङ्घको जिल्ला अध्यक्ष हुँदा नेपालयको नेपथ्य साङ्गीतिक अभियानमा हामीले निकै सहकार्य गरेका थियौँ ।

पारिवारिक सम्बन्ध भएको त्यो परिवार मेरा लागि सँधै प्रेरक रह्यो । ‘हिजोआज’ दैनिक बन्द हुँदा नमिठो लागेको थियो मलाई । उहाँ प्रेस काउन्सिलमा दुई दुई पटक सदस्य बन्नु भयो । पञ्चायतको कट्टर समर्थक मञ्जुरत्न शाक्यको कब्जाबाट नेपाल पत्रकार सङ्घलाई मुक्त गर्न प्रजातन्त्रबादी एवम् बामपन्थी पत्रकारहरूले २०४५ सालतिर विद्रोह गरी गोविन्द वियोगीको संयोजकत्वमा समानान्तर पत्रकार सङ्घ गठन गरेका थिए । त्यसबेला झापामै भेला भएको र झापा घोषणा पत्र जारी भएको थियो । प्रजातन्त्रबादीहरूले गठन गरेको पहिलो झापा शाखाको संयोजक उहाँ हुनुहुन्थ्यो । यसमा कतिपयले विवाद झिकेका छन् । तर इतिहास भनेको कसैले तोडमोड गर्न नहुने विषय हो ।

पञ्चायतको समर्थक भनेर कतिले जब उहाँमाथि पूर्वाग्रह राख्थे, उहाँ दुःखी देखिनु हुन्थ्यो । हुन पनि हो, पञ्चायतको उर्वर कालमा उहाँले समाजसेवाका लागि पत्रकारिता रोज्नु भयो र मेची अञ्चलकै पहिलो दैनिक ‘हिजोआज’ स्थापना गर्नु भयो । यो नै ऐतिहासिक योगदान हो । बहुदलीय व्यवस्थाको पुनर्वहाली पश्चात पनि उहाँ पत्रकार नै हुनुहुन्थ्यो । तर उहाँले कुनै एउटा पार्टीको पुच्छर बन्नु भएन । बहुलबादी समाजमा एउटा आस्था रोज्नु उहाँको गल्ती थियो भन्न मुस्किल हुन्छ । राजाबादी, माओबादी, प्रजातन्त्रवादी जेसुकै बन्न छुट त संविधानले नै दिएको थियो । कसैको आस्थाको विषयलाई लिएर सच्चा लोकतन्त्रवादीहरूले पूर्वाग्रह राख्नु हुँदैन । झापाको पहिलो प्रजातन्त्रबादी नेपाल पत्रकार सङ्घको संयोजक पनि उहाँ नै हुनुहुन्थ्यो ।

झापाका अग्रज पत्रकार नकुल काजी, डिल्लीराम निर्भिक, मदन ढकाल र गोविन्दचन्द क्षेत्रीलाई नेपाल पत्रकार महासङ्घद्वारा आजीवन भत्तासहित वरिष्ठ पत्रकारको सम्मान दिइयोस् भनी मैले महासङ्घको केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक पदमा रहँदा केन्द्रीय कमिटीको बैठकमा प्रस्ताव राखेको थिएँ । महासङ्घले एउटा जिल्लाबाट धेरै जनालाई सुरुमै सम्मान दिन गाह्रो हुने ठहर गर्दै नकुल काजी र डिल्लीराम निर्भिकलाई मात्र त्यो सम्मान दिने निर्णय पारित गरेको थियो । पछि महाधिवेशनले पनि त्यो प्रस्तावलाई अनुमोदन गरेको थियो । हामी कार्यकाल पूरा गरेर बाहिरियौँ । दुःखको कुरा हाम्रो पालामा भएको र महाधिवेशनले पारित गरेको त्यो निर्णय अहिलेसम्म लागू भएको छैन । मदन ढकाल र गोविन्दचन्द क्षेत्रीलाई पनि आगामी वर्षमा क्रमिक रुपमा सोही सम्मान दिने सहमति भएको थियो । पछि यो निर्णय किन लागू नभएको भनेर तत्कालीन अध्यक्ष शिव गाउँलेले पनि वत्र्तमान नेतृत्वलाई सोधेको मलाई थाहा छ ।

निर्भिक दाइ ‘हिजोआज’ बन्द गरेर काठमाडौँ बस्न थाल्नु भयो । उहाँ त्यसबेलै विरामी हुन पनि थाल्नु भयो । अलि धेरै पिउने बानीले उहाँलाई विराम बढाएको हुनुपर्छ । डायविटीजको पुरानो रोगी भएर पनि उहाँले गुलिया मिठाइ र सोमरस खान छाड्नु भएको थिएन । काठमाडौँ बस्न थालेपछि उहाँसँग सम्पर्क अत्यन्त कम भयो । उहाँको जीवनीमा आधारित कृति निस्कने बेलामा मलाई पनि लेख लेखिदिन प्रकाशकका तर्फबाट अनुरोध र ताकेता आएको थियो । उहाँको जीवनीबारे के प्रकाश पार्न सकुँला, अरु थुप्र्रै उहाँलाई नजिकबाट चिन्ने र जान्नेहरू हुनुहुन्छ भनेर मैले केही लेखिन ।

साउन १९ गते विहान फेसबुकमा कसैले उहाँको निधनको खबर पोस्ट गरेको रहेछ । स्तब्ध भएँ । उहाँसँगका संस्मरणहरू सिनेमाको रिल जसरी फन्फनी दिमागमा घुमे । सोचे, आखिर मृत्यु जीवनको अन्तिम सत्य हो । उहाँले जीवनमा आफ्ना लागि पनि गर्नु भयो, अरुका लागि पनि गर्नु भयो । तर समग्रमा अरु (हामी बाँचेकाहरू)का लागि नै धेरै काम गरेर विदा हुनु भएको छ । उहाँका असल कर्मलाई हामीले सँधै सम्मान र सम्झना गरिरहनु पर्छ । धूलोबाट उठेर ठूलो मानिस बन्न सफल उहाँ सच्चा कर्मयोगी हुनुहुन्थ्यो । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।

(२०७३ साउन २१ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: