‘निर्भीक’लाई म यसरी जान्दछु

  प्रकाशित मिति
२३ श्रावण २०७३, आईतवार १४:२२


Nakul Kazi2
यो सम्भवत ः २०२२ सालतिरको कुरा हो । म भद्रपुरमा बिलकुल नयाँ थिए । ताप्लेजुङको खेवाङबाट ३ महिना १० दिनको बच्चो म दार्जीलिङ लगिएको हुँ । उतै बढेपढेको युवक त्यस बेला मेरा लागि यताको चालचलन, बोलीव्यवहार र विविध सामाजिक चलन प्रचलनहरू एकदमै नौला थिए ।

भद्रपुरमा सर्वप्रथम मैले चिनेका व्यक्ति हरिप्रसाद न्यौपाने (हाल झापा बुधबारे) हुनुहुन्थ्यो । उहाँले भद्रपुरका एसएल शर्मा (हाल स्वर्गीय) र गमनराज आचार्यसँग सबभन्दा पहिले चिनजान गराउनु भएको थियो र यी नवपरिचितमार्फत स्वयम्भूलाल श्रेष्ठ(हाल स्वर्गीय) र डिल्लीराम निर्भीकसँग चिनजान भएको थियो । छोटै समयमा डिल्लीराम निर्भीकसँग म अरुभन्दा नजिक हुन पुगेँ, तापनि म उहाँलाई आफुभन्दा निकै उच्च मर्यादाको व्यक्ति भन्ठानी आफुलाई समान दर्जामा उभ्याउन डराउँथेँ । पञ्च महहापञ्चहरू र प्रशासनिक प्रमुखहरूसँगको उहाँको निरन्तर उठबस देखेर नै सायद म उहासँग डराएको हुँला । अर्थात् उहाँको नजिक हुन पाए तरक्की गर्न सकिएला भन्ने आशा पनि ममा थियो क्यार ! म अलिक निहुरन चाहन्थेँ पनि कि !

समय बित्दै गयो । उहाँ र म निकै नजिक भयौँ । प्रेस पत्रकारिता व्यवसायमा रहेका जेठा पिँढीका एसएल शर्मा, बसन्तकुमार खड्का, शयामकृष्ण उपाध्याय,स्वयम्भूलाल श्रेष्ठ, डा. हृषिकेष उपाध्याय आदि पछिका तत्काल माइँलो पिँढीमा हामी थियौँ र त्यसकारण पनि हाम्रो हल बाँधिएको थियो । हाम्रो कार्यशैली फरक भए पनि दृष्टिकोण प्रायः मिल्दथ्यो ।

२०२८ सालतिर हामी दुवै मिसन पत्रकारितामा होमियौँ । मैले विवेचना (अर्धसाप्ताहिक समाचारपत्र) चलाउन थाले भने निर्भीक दाइले सिद्धार्थ (पाक्षिक) चलाउन थाल्नुभयो । यी दुई पत्रिका त्यस बेला प्रतिबन्धित दलहरूको समर्थनमा लेख्ने वा अन्य झापाली छापाहरूभन्दा भिन्नै दल तथा गुटनिरपेक्ष दृष्टिकोणद्वारा निर्देशित भएकाले पनि चर्चित बन्न पुगे ।

डिल्लीराम निर्भीक खाली पाइतालाले पृथ्वी टेकेर उभिनुभएका व्यक्ति हुनुहुन्थ्यो तापनि रहाँमा सबैखाले समाजमा मिल्ने, अटाउने र सहानुभूति खिच्ने जुन कला थियो, त्यो मैले अरुमा त्यो हदमा आजसम्म पनि देखेको छैन । त्यस कलाका विरुद्ध कुरा गर्नेहरूको पनि कमी छैन, तर कला त आखिर कला नै हो नि ! साहै दयनीय अवस्थाबाट आफ्नो त्यही कला साँधेर उहाँले आफूलाई लेखन पेशामा संलग्न अनय सम्भ्रान्तहरूभन्दा छिटो परिचित गराउनुभयो, निश्चिन्त बन्नुभयो र पत्रकारिता उहाँको परिचायक पेसा हुँदाहुँदै पनि उहाँले यो पेशा चटक्क छोड्नुभयो । उहाँको आदिकथा जान्नेहरू अहिले उहाँको यस क्षेत्रको अनुपस्थितिमा खिन्न हुने गर्छन् ।
पञ्चायती व्यवस्थाको सरल काम र कठोर काल दुवैका कोसेढुङ्गाहरू हामीले टेकेका छौँ । २०३२ सालपछिको कठोर पञ्चायतकालका रकमीहरूले चाहेका स्वच्छन्द गतिविधिसँग सहमत हुन नसक्ता कहिले उहाँ थुनिनुभयो, कहिले म । पञ्चायती सिद्धान्तका प्रयोगकर्ताहरूका कतिपय क्रियाकलापको तीखो आलोचना गर्ने म दपेटिइरहेँ, तर उहाँ हरेक कुरा पचाउन थाल्नुभयो र मेरो हल झापामा उदाहरणीय बनेको थियो । म पत्रकारितालाई राजनितिका प्रति निस्पृह राखेर हुर्काउनुपर्दछ भनने मान्यता राख्थेँ भने उहाँले राजनीतिद्वारा निर्देशित बाटोमा हिँडाउने बाटातिर लाग्नुभयो । फलत ः उहाँले आधा संसार घुम्ने मौका पाउनुभयो । झापा र बलैले पूर्वाञ्चल मेरो वृत्त रह्यो । तर यसो हुनुलाई म सहर्ष आफनै कमजोरी ठान्थेँ । मेरो कतै कसैसित कुनै गुनासो थिएन ।

राजनीतिकर्मीहरू, प्रशाासनिक जिम्मेवारीका व्यक्तिहरू, उद्योगी व्यापारीहरू आदि लगायत सामाजिक जीवनका जल्दाबल्दा व्यक्तिहरू डिल्लीराम निर्भीकलाई आफ्नोे सङ्गतमा राख्न रुचाउँथै । यसरी विभिन्न कित्ताले आफ्नो सङ्गति रुचाउनुलाई व्यक्ति विशेषले सकारात्मक नै मान्छ । यो मानव मनोविज्ञानद्वारा प्रभावित यथार्थ नै हो । उहाँको आवश्यकता सबै कित्ताद्वारा महसुस गरिनु उहाँको व्यक्तिगत आग्रहको कारण थिएन भने त्यसो हुनुलाई सुखद् किन नमान्ने ? झापामा सीके प्रसाई (भरतबाबु)लाई प्रखर पञ्चायतकालका पञ्चहरू अत्यन्त आदर गर्थे, अन्य प्रतिबन्धित राजनीतिक दलमार्गीहरू आदर गर्थे, त्यस बेलाका उग्रवादीहरू पनि माया गर्थे । तर ती सबै सीके प्रसाईको आग्रहको परिणाम थिएन । यो मैले उदाहरण दिएको हँु, मात्र उदाहरण ।

डिल्लीराम निर्भीकको पत्रकारितासम्बन्धी मान्यता र दृष्टिकोण वर्तमान सुहाउने थिएन कि ! उहाँले सक्रिय पत्रकारिता छोड्ने यहीचाहिँ मुख्य कारण पो हो कि ! तर उहाँको पत्रकारिता शैली भनेको निर्डाह शैली हो । त्यसैले कसैलाई पनि डहँदैनथ्यो, पोल्दैनथ्यो । अरुहरूको डहने पोल्ने पोलखोलाई वा भण्डाफोरबाट पीडा महशुस गर्नेहरू अहिलेसम्म उहाँको कुरो उठाउने गर्छन्, उहाँको समाचार सम्प्रेषणको स्वरुपलाई सम्झन्छन् । यसो गर्दा सायद उनीहरूलाई सितल अनुभूति हुँदो हो । यसलाई उहाँको आफनै किसिमको शैलीको प्रभावका रुपमा परिभाषित गर्न पनि सकिन्छ ।

पञ्चायती पृष्ठभूमिमा आधिकारिकतासाथ उभिने डिल्लीराम निर्भीक परन्तु तत्कालीन दलमार्गीहरूका हन्जामा पनि उत्तिकै घुलेमिलेको देखिनुहुन्थ्यो । यो उहाँको सहिष्णु स्वभावको राजनीतिक पक्ष हो उहाँ राजदरबारका सचिवहरू, शक्तिकेन्द्र चलाइरहेका रजौटाहरू र पञ्च महापञ्चहरूसरह नै तत्काल प्रतिबन्धित दलका नेता र समर्थकहरूसँग पनि निकट देखिनुहुन्थ्यो । २०४६ सालअघिको परिस्थितिमा सबै पक्षसँग त्यसरी समान रुपले मिलेर बस्न साहै चर्को थियो, तर उहाँको रोजाई त्यही रह्यो । अन्ततः आज उहाँलाई कसैले पनि हियाएर, हेपेर वा पूर्वाग्रह राखेर केही भन्ने आँट गर्दैन । उहाँलाई पञ्चायतको कट्टर खेमाभित्र हेरिन्थ्यो, तर उहाँमाथि कुनै विपत्ति आउँदा नेपाली काङग्रेसका विद्वान् नेता सीके प्रसाई (भरतबाबु) र बामपन्थी विद्वान् नरेश बर्माजस्ता व्यक्तिहरू उहाँका पक्षमा पञ्चहरूभन्दा अग्रपङ्तिहरूमा उभिने गर्थे । यस्ता धेरै घटना झापालीका स्मरणमा छन् ।

डिल्लीराम निर्भीकमा हीनताभावको गहिरो जरो गाडिएको मनोवैज्ञानिक विश्लेषण गर्न सकिने उहाँका थुपै्र व्यावहारिक चलखेलका बारेमा उल्लेख गर्न सकिन्छ । तर सोझा दृष्टिले हेर्दा उहाँको भाषा र व्यवहारमा हीनभावको झलक पटक्कै पाइन्नथ्यो । कुनै पनि प्रसङ्गमा उहाँ तिखारिएरै प्रस्तुत हुने गर्नु हुन्थ्यो, र नै उहाँलाई कुनै पनि मञ्चमा बोल्न (मन्तव्य प्रकट गर्न) उभ्याइन्थ्यो ।

डिल्लीराम निर्भीकको पत्रकारिता नातिशीतोष्ण थियो । नपात्तिने, नमात्त्निे, नआत्तिने तरिकाबाट आफ्नो माध्यमलाई एकसमान किसिमले सञ्चालन गर्नुभयो उहाँले । मलाई लाग्छ, उहाँसँग कोही रिसाएनन् बरु अरुको जस्तो नगर्ने भनेर खुसी नै हुन्थे । सबैखाले समाजमा अटाउने उहाँको स्वभाव र सीप नै मलाई लाग्छ उहाँको सफलताको मूल कारक थियो । उहाँ आफुलाई के ठान्नुहुन्छ त्यो उहाँलाई नै थाहा हुने कुरा हो, तर झापाली पत्रकार कित्ताअन्तर्गत अन्य सबैको तुलनामा उहाँलाई आर्थिक पदार्थिक रुपमा सफल मानिन्छ । म मात्र उहाँको उक्त कलाको प्रशंसक होइन, उहाँलाई नजिकबाट चिन्नेहरू सबै नै प्रशंसक छन् ।
यद्यपि डिल्लीराम निर्भीकको पत्रकारिताशैली मैले मन पराउने गरिन । घटनालाई सरासर लेख्न त लेख्ने, तर अपराधी पक्ष र पीडित पक्ष बराबरमा प्रस्तुत हुन्थे उहाँको छापामा । भन्न र लेख्न नडराउने मेरो पारा उहाँसँग मिल्दैनथ्यो र बेलाबखत हाम्रा बिचमा तनावजस्तो पनि हुन्थ्यो, तापनि त्यो स्थायी हँुदैनथ्यो । घटनापरक रुपमा उत्पन्न त्यस्ता तनाव घटना सेलाउन्जेल रहन्थे र पुनः हाम्रो मैत्री व्यवहार हामीमा जोडिन आउँथे । प्रजातन्त्रोत्तर पनि उहाँ पुरानै शैलीमा प्रस्तुत भइरहनुभयो, जो समयको हावाविपरित थियो तापनि उहाँको ‘पचाउने शक्ति’ र घुलमिल गरी कुनै विषयलाई समन गराउने कलाका करण उहाँमाथिको सामाजिक र त्यस आधारमा राजनीतिक दृष्टिकोण बिग्रिँदैनथ्यो ।

मैले माथि नै लेखेँ डिल्लीराम निर्भीकको मूल परिचायक व्यवसाय पत्रकारिता थियो, तर कहिलेकाही उहाँ त्यतिमा सीमित नरहेर राजनीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय देखिनुहुन्थ्यो । यसकारण पनि हुन सक्छ, उहाँले केही वर्ष चलाउनुभएको सिद्धार्थ (पाक्षिक) र लगभग दुई दशक चलाउनुभएको ‘हिजोआज’ दैनिकसँग औसत पाठक सन्तुष्ट थिएनन् । यो एकदमै सत्य हो । तर उहाँको पत्रिका पैसा तिरेर पढ्ने पाठकको सङ्ख्या अरुको भन्दा सायद बढ्तै थियो । त्यो उहाँको सफल व्यक्तिगत सम्पर्कको प्रतिफल थियो भन्न पनि हिच्किचाउनु पर्दैन र त्यो सफलता नै प्रकारान्तरले उहाँको पत्रकारिताको सफलता मानिन पुगेको हुन सक्छ ।
पैतृक साधन स्रोत डिल्लीराम निर्भीकको जीवन व्यवहारसँग कतै पनि जोडिएको छैन । उहाँ आफ्नो घरपरिवारबाट सानै उमेरमा बिछोडिएर वा अलग्गिएर एक्लै अनेक किसिमका घामपानी सहँदै, आरोह अवरोह उकाली ओराली पार गर्दै, अनेकौँ हन्डर टाउकोमा थाप्दै एक समृद्ध व्यक्तिका रुपमा उभिनुभएको व्यक्ति हो । उहाँमाथि जसजसका जेजस्ता लगानी भएका छन्, ती उहाँमा भएको कलाको आकर्षणका परिणाम हुन् । सबै मानिसको एकै किसिमबाट जीवन चलेको हँुदैन अथवा व्यक्ति व्यक्तिको जीवनदर्शन अलग अलग हुन्छ । जीवन जिउने तरिका अलग अलग हुन्छ । यो सत्यलाई स्वीकार्दा मानिसको जीवनयापनका तरिकाहरू स्वाभाविक मान्न सकिने स्थिति स्वतः खडा हुन्छ । यस्तो मनोवैज्ञानिक व्यक्तिबोधले कसैलाई पनि आपसी कटुता किँवा पारस्परिक हेयभावबाट जोगाउँछ र समझदरीमा आबद्ध तुल्याउँछ । उहाँप्रति मेरो यही प्रकृतिको दृष्टिकोण रहँदै आएको छ । उहाँको बौद्धिक, राजनीतिक, सामाजिक र आर्थिक हैसियतले गरेका क्रमिक प्रगतिमा खुसी हुनेमध्ये म पनि एउटा रहेको छु । यो मेरो हार्दिक सत्य हो र सत्य नै मेरो ईश्वर हो ।

डिल्लीराम निर्भीक विचार र भावनाले कहिल्यै बुढो हुनुभएन । उहाँको गतिशीलता जहिल्यै उस्तै थियो । २०६६ साल असारतिर उहाँ झापा आएका बखत दुई तीनपटक म कहाँ आउनुभएको थियो र कुरैकुरामा उहाँलै गाइँगुइँको प्रसङ्ग उठाउनुभयो । उहाँको ‘हिजोआज’मा ‘गाइँगुइँ’ एउटा स्थायी स्तम्भ थियो र त्यो गाइँगुइँ झापामा उहाँलाई सम्झाउने सबैभन्दा चर्चित शब्द पनि रहेको छ । उहाँ आफैले जे कुराको निष्कर्षमा पनि गाइँगुइँ गरौँ न भन्ने गर्नुहुन्छ र झापाका कतिपय रसिकहरू उहाँका पछाडि उहाँलाई गाइँगुइँ दाइ पनि भन्ने गर्छन् । यो प्रसङ्ग यहाँ किन उठाइएको हो भने उहाँ उमेरले बुढो भइसक्नुभएको भए पनि उहाँ लक्का जवानले जस्तै ‘कतै बसौ र यसो केही गाइँगुइँ गरौँ न, भोक लागेको छ’ भनेर सङ्गति माग्न हुन्थ्यो । यो उहाँको जीवन्त गतिशीलताको ज्वलन्त प्रमाण हो ।

डिल्लीराम निर्भीकका बारेमा मैले जमेरै लेख्ने हो भने म एउटा महाभारत नै तयार गर्न सक्तछु । महाभारत विशेष विशेष पात्रहरूमध्ये भीमको बाहेक अरु सबैका गुण अवगुण उहाँमा विद्यमान छन् भन्ने मैले उहाँसँगको ३८—३९ वर्षको सङ्गतको समयावधिमा देखेको छु । त्यसैले हुन सक्छ मैले उहाँका बारेमा लेख्न थालेपछि म साहै अलमलिएँ उहाँको कुन कुरोचाहिँ उजागर हुने गरी लेखूँ ? मेरो कलम औधी नै धर्मरायो । किनभने धेरै बुझिएको व्यक्तिका बारेमा लेखन र धेरै धुज्जिएको वस्तु समेट्न साहै गाहो लाग्छ । गाहो विषय पनि हो । अर्थात मैले उहाँका बारेमा यो जो लेखूँ, म पटक्कै सन्तुष्ट छैन । मैले केही लेख्न सकिन । नदीकिनारमा खेलिरहेको एउटा बालकले जस्तो राम्रा राम्रा, चिल्ला चिल्ला र बाटुला बाटुला ढुङ्गा टिपेर खेलेझैँ मात्र गरेको छु । उहाँका बारेमा लेख्नु भनेको त्यो नदी किनारका सबै ढुङ्गा बालुवालाई अक्षरले कागजमा अङ्कित गर्नु बराबर हो ।
(‘नेपाली पत्रकारितामा निर्भीक’ पुस्तकबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: