विर्तामोड । नेकपा माओबादी क्रान्तिकारीका उपाध्यक्ष सीपी गजुरेलले निर्वाचन आयोगले चुनाव चिन्ह नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
दलीय आधारमा हुने चुनावमा भाग लिन चाहने दलले चुनाव चिन्ह पाउनु संसारभरिकै बहुदलीय अभ्यास भएको उल्लेख गर्दै नेता गजुरेलले नेपालमा चार दलीय सिन्डिगेटको लहैलहैमा लागेर निर्वाचन आयोगले लोकतन्त्रकै उपहास गरेको आरोप लगाए ।
आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने बताउँदै आएको सो पार्टीका नेता गजुरेलले सोमवार विर्तामोडको विनायक होटलमा पत्रकार सम्मेलन गरी उक्त विचार व्यक्त गरेका हुन् ।
पार्टीले चुनाव चिन्हको रुपमा ‘हँसिया हथौडा र तारा’ निर्वाचन आयोगसँग माग गरेको छ । तर आयोगले संसदमा नरहेका दललाई चुनाव चिन्ह दिन नसकिने र स्वतन्त्र चिन्ह प्रयोग गर्न सुझाव दिने गरेको छ ।
गजुरेलले मुलुकमा गाउँफर्के लोकतन्त्र चलिरहेको टिप्पणी गर्दै पहिलेको एउटा राजाको ठाउँमा अहिले चार वटा पार्टी राजा बनेको बताए ।
राप्रपा, माओबादी केन्द्र, एमाले र काङ्ग्रेसको सिन्डिगेटले मुलुकको स्वाधीनता जोगाउन नसकेको, भन्नै लाज लाग्नेगरी भ्रष्टाचार गरिरहेको र दलहरुलाई चुनाव चिन्ह नदिएको आरोप लगाउँदै उनले चुनौतिको भाषामा भने–‘सिन्डिगेटवाला चार पार्टी पनि स्वतन्त्र चिन्ह लिएर चुनावी मैदानमा आउन् त हेरौँ !’
गजुरेलले माओबादी क्रान्तिकारीले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको नामबाट स्थानीय तहको चुनावमा भाग लिने बताए । मोर्चाको अध्यक्ष उनी आफै छन् ।
विगत दोस्रो संविधानसभा चुनाव वहिष्कार गरेको माओबादी क्रान्तिकारीका नेता गजुरेलले यसपटक वहिष्कार नगर्ने स्पष्ट पारे ।
चुनाव वहिष्कार गर्दा जनताबाट टाढिने निष्कर्ष निकाल्दै उनले पार्टीले चुनावमा चार पार्टीबाहेक अरु सबैसँग तालमेलको सम्भावना जनाए ।