निर्वाचन र पत्रकारको परीक्षा

  प्रकाशित मिति
२७ चैत्र २०७३, आईतवार १२:०७


gyanendrajiस्थानीय तहको निर्वाचन हुने मिति बैशाख ३१ गते जति जति नजिक आउँदैछ त्यति त्यति चुनावी सरगर्मीले दलका नेता कार्यकर्ता मात्र होइन आम मतदातालाई समेत छुन थालेको छ । खास गरी आम सञ्चारका माध्यमहरुले निर्वाचनसँग जोडिएका बिषयवस्तुलाई प्राथमिकताका साथ प्रसारण र प्रकाशन गरे पछि भने सबैलाई चुनावको चस्को लागि सकेको छ । यस्तो बेलामा सबै आम मानिसको हेराई सामान्य अवस्था भन्दा फरक हुने गरेको पाइएको छ । त्यसैले पनि यतिबेला पत्रकारिताको मूल प्रभावमा रहेका हामी पत्रकारहरुलाई पनि समाजले नजिकबाट नियाल्ने र हाम्रा गतिविधि मार्फत हामीप्रतिको धारणा बनाउने पनि यही बेला हो ।

समाज रुपान्तरणमा पत्रकारिताको महत्वपूर्ण भूमिका हुन्छ भनिन्छ र त्यो सही पनि हो । तर निर्वाचन यस्तो समय हो कि यो बेला लेखिएका र बोलिएका बिषय प्रसङ्गले अन्य समयको भन्दा बढी र दूरगामी असर राख्न सक्छ । नियमित भन्दा फरक समाचारका बिषयवस्तु यतिबेला स्रोता र पाठकको रुची बनेको हुन्छ ।

चुनाव भन्ने बित्तिकै आम बुझाई भनेकै राजनीतिक दल, तिनका कार्यकर्ता र खास गरी दलले चुनावी मैदानमा उतार्ने आफ्ना उम्मेद्वार नै हुन् । यी र यिन कै सेरोफेरो भित्र प्राय चुनावी गतिविधि हुने गर्दछ । हामी पत्रकारहरुले पनि यी र यस्ता गतिविधि त प्रकाशन प्रसारण त गर्छौ नै त्यसमा पनि फरक ढङ्गबाट यथार्थ कुरालाई बाहिर ल्याउन सकियो भने आम मतदाताका लागि त्यो बढी उपयोगी सामाग्री बन्ने निश्चित छ ।

बैशाख ३१ मा हुन गइरहेको स्थानीय तहको निर्वाचन भनेको नयाँ व्यवस्था अन्तर्गत हुने पहिलो निर्वाचन हो । यसका धेरै कानूनी कुरा अहिलेसम्म दलका अगुवालाई समेत पनि पूर्ण जानकारी छैन भने आम मतदातालाई जानकारी हुने कुरा थप जटिलता हुन्छ नै । सञ्चार माध्यम र हामी पत्रकारले निर्वाचनका कानूनी कुराहरुमा पनि अध्ययन गर्नु जरुरी छ । साथसाथै आम नागरिकका लागि निर्वाचन कानूनका कुरा जानकारी हुने उद्देश्यले कलम चलाउनु पनि यो बेलाको आवश्यकता हो । त्यस सँगसँगै चुनावी मैदानमा उत्रिन सक्ने र उत्रिसकेका उम्मेद्वारका बारेमा पनि मतदातालाई जानकारी गराउनु पनि हाम्रो अर्को महत्वपूर्ण काम हो ।

pressस्थानीय तहको निर्वाचनका बिषयमा झापाका दुई वटा सञ्चार माध्यम रेडियो सरगम र लोकतन्त्र पोस्ट दैनिकले संयुक्त प्रयास मार्फत चुनावी गतिविधिलाई फरक ढङ्गबाट प्रस्तुत गर्ने जमर्को गरिएको पनि छ । आम मतदाता बिच यो प्रयासलाई अत्यन्त सकारात्मक ढङ्गले ग्रहण गरेको हामीले पाएका छौँ । त्यति हुँदा हुँदै पनि केही राजनीतिक अगुवा र केही पत्रकार साथीहरुले सामाजिक सञ्जाल एवम् सार्वजनिक अभिव्यक्तिमार्फत सर्वेक्षणमाथि असन्तोष जाहेर गरेको यथार्थ पनि हामीलाई राम्ररी थाहा छ ।

सर्वेक्षणका बारेमा समग्रतामा सकारात्मक टिप्पणी छ । केही केही प्रश्न पनि हामीलाई तेर्साइएको छ र त्यसको जवाफ हामीले हाम्रो निष्पक्ष कर्म र व्यवहारमार्फत आगामी दिनमा दिदै जानु पर्ने छ, दिनेछौ । तर जसले यसलाई नकारात्मक रुपमा बुझ्नु भयो वहाँहरु प्रति पनि हाम्रो कुनै गुनासो छैन । किनकि नयाँ कुराको सुरुवात हाम्रो समाजमा सजिलै पचाउने खालको हुन्छ भन्ने भ्रम हामीमा छैन । निर्वाचनका बेला गरिने सर्वेक्षण विश्वमा पुरानो भइसक्यो तर हाम्रो समाजमा यो अझै पनि व्यवस्थित ढङ्गबाट आउन सकेको अवस्था छैन । हामीले यसपाली गरेको सर्वेक्षण पनि हाम्रा लागि पनि सिकाईको चरण नै हो । नराम्रो गर्यौँ भन्ने होइन, अझ व्यवस्थित रुपमा यस्तो काम गर्न सकिने रहेछ भन्ने हामीले यसबाट पाठ सिकेका छौँ ।

स्थानीय तहमा आफुलाई उम्मेद्वार हुने दौडमा राख्नु भएकाहरुले यति कुरालाई सजिलै पचाउनु पर्छ किनकि भोलि त वहाँ यो समाजलाई समृद्ध बनाउँछु भनेर अगाडि बढ्नु हुँदैछ । तर सञ्चार कर्ममा नै लागेकाहरुबाट जुन ढङ्गबाट सर्वेक्षणको आलोचना खप्नु पर्यो त्यो एउटा नयाँ स्वाद हामीले पायौँ । सुरुमा अलि फरक महसुस भए पनि पत्रकारितामा पछिल्ला दिनहरुमा बिकास हुँदै गएको अभ्यासलाई नजिकबाट हेर्दा त्यस्तो टिप्पणी पनि खासै नौलो लागेन । किनकि हामी पछिल्ला दिन यस्तो अभ्यासमा लागेका छौँ कि हाम्रा रेडियो, पत्रिका र टेलिभिजनहरु फगत औपचारिक कार्यक्रमका समाचारमा नै सीमित हुन पुगेका छन्, त्यसबाट तानेर मिडियालाई खोजमूलक र ओजपूर्ण बनाउनै पर्छ । कसैलाई रिझाउन र कसैलाई व्यवस्थापन गर्न नै हाम्रा सञ्चार माध्यमका समाग्रीहरु केन्द्रित भइरहेका छन् ।

झन् राजनीति र पत्रकारितालाई हेर्ने हो भने बितेको दशक हामी पत्रकारहरु राजनीतिक पार्टीको असल कार्यकर्ता भएर नै हिँडेको अवस्था जगजाहेर छ । मेरो अर्थ यो पनि होइन कि पत्रकारले राजनीति गर्नु हुँदैन । तर मेरो बुझाईमा राजनीतिकरण र दलीयकरण फरक कुरा हो । राजनीति छ र हामी पत्रकार हुन पाएका छौँ । राजनीति छ र लोकतान्त्रिक गणतन्त्र छ । राजनीति छ र नै हाम्रा सञ्चार माध्यमहरु निर्वाध रुपमा सञ्चालनमा छन् । तर दलीयकरण हाम्रा लागि आम नागरिकबाट टाढा राख्ने धारिलो हतियार बनेको छ । यो हतियार कहिले राजनीतिक दलका नेता कार्यकर्ताले प्रयोग गर्छन् त कहिले आम नागरिकले हामी र हाम्रो बिश्वास माथि प्रहार गर्न प्रयोग गर्छन् । हामी प्रायोजित हुन थालेको छौँ भन्ने आम नागरिकले बेला बेला हामी माथि लगाउने गभ्भीर आरोप पनि हो ।

चुनावका बेला त झन् दलीयकरण हावी हुने बेला हो । यो बेला हामी पत्रकारले सबैभन्दा सचेत हुने बेला पनि यही नै हो । सबै राजनीतिक दलहरुले आफु निकट पत्रकार मार्फत आफ्नो प्रचार गराउन खोज्छन् । सम्बन्धित दलका लागि त्यो कुरा राम्रो होला तर आम नागरिकका नजरमा हामी पत्रकार स्खलित हुने पनि यहिँनेर हो । यसै त पत्रकार पलपलमा आफुलाई प्रमाणित गरिरहेको हुन्छ भनिन्छ त्यसमा चुनावी माहोलमा आफुलाई निष्पक्ष राख्नु पत्रकारका लागि चुनौती पनि छ । तर निष्पक्ष पत्रकारिता गर्छु भनेर कुनै पत्रकारले भन्यो भने पत्याउन गारै छ । किन भने अहिले त्यो नपत्याउने मान्छे पनि निष्पक्ष छैन र उसले अरु निष्पक्ष हुन्छ भन्ने कुरा पत्याउनै सक्दैन ।

यो बेला हाम्रो परीक्षाको घडी हो । यो परीक्षा उत्तीर्ण गर्न हामीले हामी भित्रको राजनीतिक आस्था हाम्रो कलम र बोलीमा ल्याउनु पर्छ जस्तो मलाई लाग्दैन । निर्वाचनमा राजनीतिक दलसँगको सम्बन्ध मतदानको दिन गोप्य मत दिने सम्मको मात्र राख्न सकियो भने मात्र हामी पत्रकारहरु आम नागरिकले नियालिरहेको निष्पक्षताको परीक्षामा उत्तीर्ण हुन्छौँ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: