निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह

  प्रकाशित मिति
१६ श्रावण २०७४, सोमबार १५:५३


bhupendra (1)

आदरणीय नव निर्वाचित जनप्रतिनिधि महानुभावहरु,
लामो समयको कालखण्डपछि अधिकार सम्पन्न तथा शिक्षा र प्रविधिले धेरै फड्को मारेको चेतनशील समयमा यहाँहरुलाई हाम्रो स्थानीय तहको समृद्धिको लागि जनताले चुनेका छन् । प्रथम हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रथम भई निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा शुभ कामना । जनताको चाहना समृद्ध सहर गाँउघर होस् भन्ने चाहना असीमित रुपमा रहेको छ । यसलाई पूरा गर्न हजुरहरुबाट निम्न कुरा होस् भन्ने अपेक्षासहित यो आग्रह गरेको छु ।

१) सबैभन्दा पहिला तपाईँहरुको सम्पत्ति विवरण औपचारिकता निभाउन मात्र नभएर तपाईँका मतदाताले थाहा पाउने गरी सार्वजनिक गर्नुहोस् र साथमा तपाईँका आम्दानीका स्रोतहरु के के छन् ? त्यो पनि जानकारी दिनुहोस् । जसले गर्दा निश्चित समयपछि तपाईँको सम्पत्ति कति हुनसक्छ त्यो पूर्वानुमान योग्य बनोस् । यसले तपाईँलाई लाग्नसक्ने सम्भावित भ्रष्टाचारको आरोपबाट बचाउँछ ।

२ तपाईँ हाम्रो नगर गाँउलाई समृद्ध बनाउन चाहनुहुन्छ भने श्रम र मूल्यबीचको अन्तर कम गर्दै समायोजन गर्ने प्रयास गर्नुहोस् । सबै प्रकारका सरकारी र संस्थागत सिन्डिकेट ध्वस्त बनाउने प्रयास गर्नुहोस् ताकि लाइसेन्स तथा प्रमाणपत्र (सञ्जीवनीका रुपमा आजीवन ठगी खाने अस्त्र) धारी नाममा दिमागी ठगहरुले पाँच मिनेटमा कमाउने ज्याला र सोझासाझा श्रमिकहरुले दिनभरि श्रम गर्दा कमाउने ज्यालामा दिमागी ठगहरुको पारिश्रमिक पाँच मिनेटको ज्याला ज्यादा हुने अवस्था कम होस् । हाम्रो जस्तो देशका लागि समृद्धिको आधार यो पनि एउटा उपाय हुनसक्छ ।

३ शिक्षामा सर्टिफिकेट हैन मापदण्ढ हेर्ने प्रणालीको विकास गर्नुहोस् । घरजग्गा मूल्याङ्कन, जग्गा नापजाँच गर्ने, कार्यालयीय तमसुक लेख्ने जस्ता कुराहरुको प्रस्ट मापदण्ड प्रक्रियाका बारेमा सार्वजनिक गर्नुहोस । ताकि माध्यमिक शिक्षा उत्तीर्णले ती काम नमुना हेरेर र सिकेर आफैँ गर्न सकून् । तमसुक र विभिन्न फाराम नमुना हेरेर भरेको भए त्यसलाई पहिलो प्राथमिकता दिने प्रयास गर्नुहोस् ।

४.हाल हाम्रो ठाँउमा रक्सी नपाइने पसल पाउन गाह्रो भैसकेको छ । यस्तो अवस्थामा त्यस्ता पसललाई प्रभावकारी नियन्त्रण गर्नुहोस् । सार्वजनिक स्थलमा रक्सी बेच्न र खान प्रतिबन्ध लगाउनुहोस् । रक्सी पसलमा रक्सी किन्ने र खानेको पुरा विवरण राख्ने र अनिवार्य रुपमा सिसिटिभी राख्ने व्यवस्था गर्नुहोस । जसबाट धेरै भ्रष्टाचारका विवरण स्वतः खुल्नेछन् भने रक्सीका कारण दुरुपयोग हुने सम्पत्ति पनि नियन्त्रण हुन्छ ।

५.सबै श्रमलाई समान रुपमा हेर्ने बानी विकास नहुन्जेल श्रमप्रतिको सम्मान भाव आउँदैन । श्रमप्रति सम्मान भाव जगाउन तपाई नै किन उदाहरणीय नबन्ने ? यसका लागि तपाईँले दैनिक १÷२ घण्टा, वा दुई दिनमा वा हप्तामा २ पटक वा हप्तामा एक पटक कार्यालय समयबाहेक बिहान वा बेलुका समाजका साना भनिने काम गरेर देखाउनुहोस् । जस्तै कार्यालयमा सरसफाइ गर्ने, आफ्नो गाडी आफैँ सफा गर्ने, सार्वजनिक स्थलहरु सरसफाइ गर्ने, विद्यालय जाँदै गरेका बाल बालिकालाई बाटो क्रस गर्न सघाउने आदि । यसले गर्दा जनताको नजरमा तपाईँप्रतिको भावना निच नभएर अझ ठूलो हुन्छ ।

६.कार्यालयका सबै कक्षमा गुनासो सुन्ने तपाईँको हटलाइन नम्बर सबैले प्रस्टसँग देखिने गरी राख्नुहोस् । आफ्नो कार्यकक्ष प्रवेश गर्नुभन्दा पहिला सकिन्छ भने कार्यालयका अरु कक्षहरु पनि अनुगमन गरेर पस्ने बानी गर्नुहोस् ।
७. लोकतन्त्रको यति समय अभ्यास गरेर पनि अहिलेसम्म निमुख जनताले लोकतन्त्रको मूर्त अनुभूति गर्न पाएका छैनन् । स्थानीय सरकारका रुपमा रहेको स्थानीय तह आजसम्म जनतामैत्री बनेको महसुस भएको छैन । जनताले स्थानीय तहलाई हाम्रो सरकार हाम्रो काम गर्न बनेको महसुस गर्न पाउनु पर्छ । जनप्रतिनिधि विहीन अवस्थामा कर्मचारीतन्त्रबाट चलेको स्थानीय तहमा कार्यालय र जनताको सम्बन्धमा ठुलै ग्याप छ । यो ग्याप हटाउने र जनतामा स्थानीय तहप्रति अपनत्व सिर्जना गर्ने जिम्मेवारी तपाईँमा छ । यसका लागि तपाईँले सेवाग्राही जनताहरुसँग कार्यालयभित्रै भेट्ने बानी विकास गर्नुपर्छ ।

८. प्रत्येक जिम्मेवारीलाई जीवनमा आफूले पाएको एक अवसर ठानेर कर्तव्य पुरा गर्न सकियो भने आफू सफल भइन्छ । जसले व्यक्तिलाई जीवनभर आत्मसन्तुष्टि दिन्छ । त्यसैले २० वर्षपछि भएको स्थानीय तहको निर्वाचन त्यसमा पनि अधिकार सम्पन्न स्थानीय सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । यो वास्तवमै एउटा महत्त्वपूर्ण अवसर नै हो । यो अवसर तपाईँलाई जनताले दिएका हुन् । तपाईँप्रतिको विश्वास र सामाजिक अपेक्षा पुरा गर्नसक्ने तपाईँको व्यक्तित्व पनि यससँगै जोडिएको छ । व्यवस्थापनका सिद्धान्त तपाईँले पछ्याउनै पर्छ, त्यसलाई व्यवहारमा उतार्नै पर्छ । निरीक्षण, निर्देशन, नियन्त्रण तपाईँले गर्नुहुन्छ यसमा कुनै शङ्का छैन तर तपाईँको पनि जनताले छद्म रुपमा गरिरहेका हुन्छन् । त्यसैले जनताको अभिमतबाट प्राप्त यो जिम्मेवारीलाई जीवनमा प्राप्त एक अवसरको रुपमा लिई कार्य गर्नुहुन अनुरोध छ । हुन् त यो स्थानीय तहलाई समृद्ध र समुन्नत बनाउने तपाईँका धेरै राम्रा योजनाहरु होलान् । ती योजनाका बापत यी मैले अपेक्षा गरेका कुराहरु सायदै तपाईँहरुलाई कठिन लाग्ने छैनन् । गरिबी र अन्य मारमा परेका तपाईँका मतदाताहरुले यी कुरा तपाईँबाट पाएमा पक्कै खुसी हुने छन् ।

अन्तमा, भनिन्छ मानिस जन्मिदा ऊ रुन्छ तर आफन्त सबै खुसी भइरहेका हुन्छन् । अनि सन्तुष्ट जीवन माचेर मर्दा ऊ हाँसिरहन्छ अरु सबै रोइरहेका हुन्छन् । तपाईँ निर्वाचित हुँदा तपाईँले धेरै दुःख पाउनु भएको थियो तर बहुमत तपाईँका शुभ चिन्तकहरु हाँसिरहेका थिए । अब ५ बर्से कार्यकाल सिध्याएर तपाईँ सन्तुष्ट भएर हाँस्दै जानुहोस् ताकि तपाईँका शुभचिन्तक भावविह्वल होऊन् । तपाईँले जीवनमा पाउने आनन्द त्यो भन्दा अर्को हुनेछैन । आखिर त्यही समर्पण लागि त तपाईँले आफ्नो ५ वर्ष अब जनताका लागि सुम्पिसक्नु भएको छ । हैन र ?

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: