नेकपालाई लकडाउनमा नबस्न सुझाव

  प्रकाशित मिति
१५ चैत्र २०७६, शनिबार १९:१८


कोरोना भाइरसका एकजना संक्रमित देखिनासाथ सरकारले देश लकडाउन किन गर्न परेको होला ? धेरैले यो प्रश्न उठाएका थिए । कोरोना भाइरसको आतंकले पाँचदिन देखि देश पूर्ण रुपमा वन्द छ । हामीले भन्दै आएको ‘बन्द’ शब्दलाई अहिले ‘लकडाउन’ नामकरण गरिएको छ । अंग्रेजी शब्द भए पनि ‘लकडाउन’ नेपाली जनजीब्रोले स्वीकार गरिसकेको छ । तर, लकडाउन र विगतमा प्रचलित बन्दमा आधारभूत रुपमै फरक छ ।

लकडाउनको अर्थ घर बाहिर ननिस्किएर घरभित्रै बस्नु हो भन्ने सबैले बुझिसकेका छन् । लकडाउनको विकल्प रहेनछ भन्ने पनि जनताले बुझिसकेका छन् ।

देश लक डाउन भएपनि पनि सरकार र देशको प्रमुख पार्टी नेकपा ‘लकडाउन’मा बस्न मिल्दैन । विपत्‌ सामनामा अगुवाई गर्ने, लकडाउनको व्यवस्थापन गर्ने र यो विपत्‌बाट बाहिर निकाल्ने जिम्मेवारी यिनैको हो ।

सरकारसँग जनताले भरोसा गर्ने नै भए, सरकार सञ्चालन गर्ने पार्टी भएकाले नेकपा प्रति पनि जनताले ठूलो भरोसा गरेका छन् । यो संकटको घडीमा मानिसको भरोसा कि सरकारप्रति छ कि नेकपाप्रति ।

सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा विभिन्न कदम चालिरहेको छ । बैठक आयोजना गरिरहेको छ । भेटघाट हुन नसक्नेहरुसँग भिडियो संवाद, भर्चुअल बैठकबाट भए पनि छलफल जारी राखेको छ । त्यस अनुसारको परिणाम पनि दिन खोजिरहेको छ । यसको सन्देश सरकार कोरोनासँग भिड्न भरमुग्द तयारीका साथ क्रियाशील छ भन्ने हो । हिजो मुख्यमन्त्रीहरुसँग भएको भिडियो छलफलले पनि स्पष्ट पारेको छ कि संघीय सरकार देशव्यापी रुपमा कोरोना काउण्टरमा रणनीतिक रुपले लागिपरेको छ ।

गर्न सकिने काम धेरै छन्

आम मानिसलाई चासो छ यस कुरामा । हिजो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्ताहरुका नाममा विशेष सर्कुलर जारी गरेका छन् । कोरोना विरुद्ध भिड्न निर्देशन दिएका छन् । तर यो निर्देशनले मात्र पुग्दैन ।

नेकपाका हरेक नेतालाई नेकपाले यो संकटका बेला जुध्न केही न केही एसाइन्मेन्ट दिनुपर्छ । नत्र संकटका सारथी बनेर अरु नै कोही जनता माझ उदाउने सम्भावना रहन्छ । मानिसको स्वभावै कस्तो भने सुखमा जतिसुकै साथ दिए पनि दुःखको साथ उसले चिरस्थायी सम्झन्छ । त्यसैले मानवीय यो विपत्‌का बेला नेकपामा नेता कार्यकर्ताले जनतासँग कस्तो व्यबहार गरे भन्ने कुराको मूल्यांकन अढाइ बर्ष पछि हुने निर्वाचनमा जनताले अवश्य नै गर्नेछन् । त्यसैले पनि नेकपा ‘लकडाउन’ हुनुहुँदैन ।

यतिबेला प्रदेश २ बाहेक ६ वटै प्रदेशमा नेकपाको बहुमतको सरकार छ । जनताले भरोसा गरेरै नेकपालाई अधिकांश प्रदेशमा बहुमत दिएका हुन् । चुुनावका बेला जनताका दुःखसुखमा साथ दिने बाचा गरेका उम्मेद्वार अहिले सत्तामा पुगेका छन् । जनता दुःखमा परेका छन् । त्यसकारण नेकपाको तर्फबाट उम्मेदवार बनेर बिजयी भएकाहरुले हिजोका बाचा पूरा गर्ने उपयुक्त अवसरको रुपमा अहिलेको महामारीलाई लिनुपर्छ ।

सरकारको अनुभूती भएन भन्ने जनगुनासो बेलाबेला सुनिने गरेको छ । त्यो गुनासो सम्बोधन गर्ने उपयुक्त अवसर पनि हो अहिलेको महामारी । त्यसकारण केन्द्र, प्रदेश र स्थानीय सरकारहरुले अहिले जनतालाई राहात दिने, उनीहरुलाई साथमा लिने, महामारी विरुद्ध सरकारसँगै नागरिकलाई एकतावद्ध बनाउने उपयुक्त मौकाको रुपमा पनि अहिलेको अवस्थालाई दपयोग गर्नुपर्छ ।

प्रदेश सरकारहरुले संघीय सरकार भन्दा जनताका आवश्यकता र चाहना नजिकबाट बुझेका हुन्छन् । विपत्‌मा ठाउँ अनुसारका आवश्यकता पनि फरकफरक हुन्छन् । जस्तो कि यसबेला कर्णालीमा खाद्यान्नको बढी आवश्कता होला भने प्रदेश २ का लागि सीमाबाट हुने आवातजावत रोक्नु प्राथमिकता होला । त्यसैले प्रादेशिक आवश्यकतालाई ध्यानमा राखेर सरकारहरुले विशेष सहयोग प्याकेज र कार्यक्रम घोषणा गर्नुपर्छ ।

यसका लागि नेकपाको हाइकमाण्डले आफ्नो नेतृत्वमा भएका प्रदेश सरकारलाई निर्देशित गर्नुपर्छ, त्यसका लागि पनि नेकपा लकडाउन हुनुहुँदैन ।

‘गाउँ गाउँमा सिंहदरबार ,घरघरमा अधिकार’ भन्ने नारा सहित स्थानीय चुनावमा ६० प्रतिशत भन्दा बढी तहमा विजयी भएको थियो नेकपा । त्यो नारालाई सार्थक बनाउने मौका दिएको छ अहिलेको महामारीलाई । घरघरमै सिंहदरबारको अनुभूति गराउने यो सुनौलो मौका हो । कतिपय अवस्थामा जनप्रतिनिधिकोे सन्तोषजनक काम नभएको भन्दै जनताले विरोधका स्वर पनि उठाए । गाउँमा सिंहदरबारको अनुभूति पाइएन भनेर जनताले जनप्रतिनीधिलाई विभिन्न विशेषण दिएर व्यंग्य गरेको पनि सुनिन्छ । तर यस महामारीलाई पार लगाउन स्थानीय सहरकारले साँच्चिकै सिहंदरबारको अनुभूति गराइदिन सक्छन् जनजनमा ।

महामारी फैलिनबाट स्थानीय सरकारले गरेका प्रयास नै सर्वसाधारणले अनुभूत गर्ने हुन् । जब स्थानीय तहको प्रयासले सयौं, हजारौं र लाखौंको ज्यान बच्न सक्छ, तब सबै जनप्रतिनिधि हाईहाई । पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुले आआफ्ना क्षेत्रका मानिसहरुलाई अहिलेको महामारी बारेमा बुझाउनुपर्छ । महामारीका बेला किन घर बाहिर निस्कनु हुँदैन रु गाउँमा नयाँ मान्छेको प्रवेशलाई किन कडाइ गर्नुपर्छ रु विदेशबाट आएका दाजुभाइ दिदीबहिनीलाई किन स्वास्थ्य जाँच गर्न पठाउने रु किन क्वारेन्टाइनमा राख्ने रु यस्ता कुरा जनप्रतिनिधिले बुझाइदिनु पर्छ ।

मानिससँग प्रत्यक्ष छोइन हुँदैन, हात मिलाउन हुँदैन, मास्क लगाउनुपर्छ, खोक्दा हाच्छ्यूँ गर्दा मुख छोप्नुपर्छ जस्ता कुरा बुझाउन गाउँभेला गर्र्न पर्दैन । जनप्रतिनिधिहरुले नगर÷वडा÷ टोलबासीलाई सम्बोधन गर्दै आफ्नै मोवाइलबाट भिडियो खिचेर फेसबुक मार्फत सन्देश जारी गर्न सक्छन् । त्यस बाहेक आम सञ्चार माध्यमलाई उपयोग गर्न सक्छन् । सामाजिक उतरदायित्व वहन गरिरहेका सञ्चार माध्यमहरुले यस्ता सन्देश प्रसारण गर्न कुनै मोलमोलाई गर्दैनन् ।

नेकपा र स्थानीय तहप्रतिको भरोसा

स्थानीय तहप्रति जनताको ठूलो भरोसा देखिन्छ । लक डाउनपछिको नेपालको चित्र हेर्ने हो भने स्थानीय तहप्रति आम मनिसले ठुलो भरोसा गरेका रहेछन् भन्ने झन् स्पष्ट भएको छ । माथिल्ला सरकारहरुमा ‘माथिकै’ मात्र बोलवाला हुने तर स्थानीय सरकारले साधारण जनको आवाज सुन्ने भएकोले पनि जनप्रतिनिधिको व्यस्तता बढेको छ अहिले । उनीहरुले आइसोलेसन वार्ड, क्वारेन्टाइन, उद्धार, राहत सबै चिजका लागि स्थानीय जनप्रतिनिधि गुहारेका छन् ।

त्यति मात्र होइन, दैनिक ज्याला मजदूरी गरेर खाने वर्ग लामो लकडाउनबाट भोकै पर्न थालेका छन् । यसका लागि उनै स्थानीय सरकारले आफ्नो पालिकाका वासिन्दाको पालनपोषणका लागि प्याकेज घोषणा गरेका छन् । यसका लागि कतिपय पालिकाले रकमको जोहो गरेका छन् भने कतिपय जनप्रतिनिधि चामलको बोरा बोकेर जनताको झुुपडीमा पुगेका छन् । यस्ता तहमा अधिकांश प्रतिनिधी नेकपाका भएकोले पनिन नेकपा ‘लकडाउन’ हुनुहुँदैन ।

पार्टी अध्यक्षद्धयले शुक्रबार दिएको निर्देशनमा पार्टीका भेला बैठक नगर्ने भनिएको छ । यस्ता बैठक भौतिक रुपमा भेला भएर नगर्ने भनिएको हो । तर केन्द्र, प्रदेश वा स्थानीय तहमा नेताहरुको संवाद हुनु जरुरी छ । आधुनिक प्रविधिको युगमा बैठक गर्न आमनेसामने भेला भइरहनु पर्दैन । भिडियो कन्फरेन्स मार्फत आफ्नै घरमा बसेर भर्चुअल बैठक गर्न, छलफल गर्न, कामको बाँडफाँट गर्न र निर्णय गर्न सक्छन् ।

यस महामारीको बेला संघीय सकारलाई पार्टीको सचिवालयको, प्रदेश सरकारलाई प्रदेश सचिवालयको र स्थानीय तहलाई स्थानीय कमिटीको निर्देशन जरुरी हुन्छ । पार्टीको निर्देशनका आधारमा सरकारहरुले महामारी विरुद्ध जुध्ने रणनीति बनाउन सक्छन् । राहत, उद्धारका प्याकेज घोषणा गर्न सक्छन् । र, महामारीबाट जनतालाई सुरक्षित अवतरण गराउन सक्छन् । जसको अपनत्व स्वयं नेकपाले पनि लिनसक्छ । त्यस कारण पनि नेकपा लकडाउन हुनुहुँदैन ।

लेखक चेतन अधिकारी प्रधानमन्त्री केपी ओलीका पूर्व प्रेस सयोजक हुन् ।
(सनराइज खबरबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: