विर्तामोड । संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले पराजितलाई राष्ट्रिय सभामा ल्याएर प्रधानमन्त्री बनाउने चलखेल गरेर नेकपाले आफ्नो पतनको खाल्डो आफै खनिरहेको बताएका छन् ।
उनले एक व्यक्तिको स्वार्थ पूरा गर्न संविधानको संशोधन गर्ने प्रस्ताव घोर आपत्तिको विषय भएको बताए ।
नेपाल प्रेस युनियन झापाको आयोजनामा विहीबार विर्तामोडमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संविधानसभा सदस्य शिवाकोटीले संविधान संशोधनलाई केटाकेटी खेल जस्तो नसम्झन सत्तारुढ दल नेकपालाई सुझाव दिए ।
नेपालमा लोकतन्त्र र प्रजातन्त्र नेपालीको नसिवमै छैन कि भनेजस्तो आफूलाई लाग्न थालेको बताउँदै नेता शिवाकोटीले भने–‘लोकतन्त्रका लागि हामी किन जिम्मेवार रहेनौं, लोकतन्त्र रहेन भने नेपालको अस्तित्व रहँदैन, प्रजातन्त्रले मात्रै नेपालको अस्तित्व बचाउँछ ।’
काङ्ग्रेस आन्तरिक कलहकै कारण निर्वाचनमा दोस्रो पार्टी भएको स्मरण गर्दै उनले नेकपा पनि अहिले चरम आन्तरिक कलहमा फँसेको र यसले बहुमतीय नेकपा नेतृत्वको सरकार नै ढल्ने अवस्थामा पुगेको धारणा व्यक्त गरे ।
नेपाली काङ्ग्रेस झापाका सभापति उद्वव थापाले नेकपा नेतृत्वले सरकार चलाएको २ बर्ष अवधिमा ६१ बढी गल्ती गरिसकेको र जनताले गल्तीको सजाय आगामी निर्वाचनमार्फत दिने चेतावनी दिए ।
सङ्घीय संरचना अनुरुप पार्टी सङ्गठन समायोजन पश्चात पहिलोपटक आयोजना गर्न लागिएको क्षेत्रीय सम्मेलनले आम कार्यकर्तामा भातृत्वप्रेम बृद्धि गर्दै झापा काङ्ग्रेसलाई सबल, सक्षम र सुदृढ बनाउन सहयोग पुग्ने बताए ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको सभापतित्व र सचिव डिल्लीराम घोर्साईंको सञ्चालन रहेको कार्यक्रममा झापा क्षेत्र नंं.–२ का क्षेत्रीय सभापति खगेन्द्र मैनालीले क्षेत्रीय सम्मेलनका बारे जानकारी दिएका थिए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाली काङ्ग्रेस झापा क्षेत्र नं–२ को क्षेत्रीय सम्मेलन यही फागुन १७ गते हुने भएको छ ।
क्षेत्रीय सभापति मैनालीका अनुसार सम्मेलनमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने, टोल समिति गठन, पुराना कार्यकर्ताको पहिचान, क्षेत्र नं–२ मा पर्ने २५ वटै वार्डमा वडा कार्यालय स्थापना सम्बन्धी छलफल गरिने बताए ।
सम्मेलनलाई नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय केशवकुमार बुढाथोकी, सरिता प्रसाई, पूर्वसांसदद्वय सुधिरकुमार शिवाकोटी र डिल्ली सिटौला, नेपाली काङ्ग्रेस झापाका सभापति उद्वव थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको मैनालीले जानकारी दिए ।
झापाको साविक क्षेत्र नं.–२ र क्षेत्र नं.–४ का २१ वटा वडा मिलेर हालको क्षेत्र नं.–२ स्थापित छ । क्षेत्र नं.–२ मा हाल २१ वटा वडा, विर्तामोड, अर्जुनधारा नगरपालिका तथा र कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका केही वडा रहेका छन् ।
झापाको विर्तामोडस्थित अग्रसेन भवनमा आयोजना हुने क्षेत्रीय सम्मेलनमा लगभग ३ हजार कार्यकर्ताको सहभागिता हुने बताइएको छ ।