झापा, २७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी विवादलाई कार्यसूची नै बनाएर समाधान गर्ने निष्कर्ष निकालेको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित ५ सचिवालय सदस्यको आग्रहमा शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको बैठकले कार्यसूची नै बनाएर विवाद समाधान गर्ने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
लामो अन्तरालपछि भएको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले राजनीतिक दस्तावेज पेस गरे ।
बैठकमा स्थायी कमिटीको निर्णय कार्यान्वयन, कोभिड उपचार, रोकथाम र नियन्त्रणका प्रयास र पार्टी–सरकार सम्बन्धका विषयमा पनि छलफल भएको श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा पाँच नेताले सचिवालय बैठक बोलाउन गरेको आग्रह, जवाफमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले लेखेको पत्र, प्रधानमन्त्रीको पत्रको जवाफमा दाहालले लेखेको पत्र र दाहालले पार्टी विवाद समाधानका लागि तयार गर्नुभएको प्रस्ताव र स्थायी कमिटीपछि जारी गरिएको अन्तरपार्टी निर्देशिका अध्ययनका लागि सचिवालय सदस्यहरुलाई वितरण गरिएको छ ।
‘सामग्रीको अध्ययन गरेपछि समग्रतामा छलफल हुन्छ,’ उनले भने ।
प्रवक्ता श्रेष्ठले संवाददाताहरुको एक प्रश्नमा पार्टीको विवाद कुनै विदेशी शक्तिको इशारामा नभएको दाबी गरे ।
अर्को बैठक मंसिर ३ गते दिउँसो १ बजे बस्ने निधो गरिएको छ ।