राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपाली काँग्रेसको ऐतिहासिक १३आँै महाधिवेशन काठमाडौँमा सुरु भएको छ ।
करिब एक वर्ष ६ महिना ढिलो गरी सबैभन्दा पुरानो पार्टी काँग्रेसको महाधिवेशन सुरु भएको हो । १२आँै महाधिवेशन पनि काठमाडौँमा नै २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौँमा नै सम्पन्न भएको थियो ।
खुल्लामञ्चमा आयोजित भव्य समारोहबीच नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले पानसमा दीप प्रज्वलन गरी महाधिवेशनको समुद्घाटन गरे । आफ्नो सभापतिले नै पार्टीको महाधिवेशनको उद्घाटन गर्ने परम्परा कबाभ्रेसमा रहिआएको छ ।
चार दिनसम्म चल्ने महाधिवेशनले सभापति, महामन्त्री, कोषाध्यक्ष र समानुपातिक, समावेशी प्रतिनिधित्वसहितका ६४ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । नयाँ नेतृत्वका लागि विहीबारदेखि नै मनोनयन सुरु भएको छ । काँग्रेसको विधानअनुसार बाँकी सदस्य मनोनयन प्रक्रियाद्वारा पूर्णता दिई ८५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।
महाधिवेशनका लागि देशभरका २४० निर्वाचन क्षेत्रबाट दुई हजार ८८०, विदेशस्थित १७ जनसम्पर्क समितिबाट १२६ जना, १७ भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ जना र वर्तमान केन्द्रीय कार्यसमितिका ८४ सदस्य गरी जम्मा तीन हजार १८८ महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ ।
महाधिवेशनमा शुभकामना मन्तव्य दिन प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता राजीव पराजुली, उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, उपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपप्रधानमन्त्री एवम् नेकपा (माले)का महासचिव चन्द्रप्रकाश मैनाली सहभागी थिए ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दलगायत राजनीति दलका नेताहरुले महाधिवेशनको उद्घाटन सत्रमा भाग लिएका थिए ।
महाधिवेशन सुरु हुनुअघि काँग्रेसले राजधानीका विभिन्न स्थानबाट आयोजना गरेको सांस्कृतिक, झाँकीसहितको ¥याली खुल्लामञ्च प्रवेश गरेको थियो ।
महाधिवेशनका लागि खुल्लामञ्चलाई विशेष रुपमा सिङ्गारिएको छ । राजधानीका प्रमुख सडक, गल्ली र चोकमा काँग्रेसको चारतारे झन्डाले राजधानी रङ्गिएको छ ।
खुल्लामञ्च परिसर र आसपासका सडकमा संस्थापक नेताहरु बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र पूर्वसभापतिहरु गिरिजाप्रसाद कोइराला एवम् सुशील कोइरालाको चित्र अङ्कित फ्लेक्स ब्यानरले झकिझकाउ पारिएको छ ।