नेपालकै ठूलो सौर्य विद्युत परियोजना झापामा, आउँदो साल दश मेगावाट उत्पादन हुने

  प्रकाशित मिति
२६ पुष २०७७, आईतवार ०७:०९


झापा, २६ पुस । झापामा नेपालकै ठूलो सौर्य विद्युत परियोजनाको काम द्रुत गतिमा अघि बढेको छ ।

दश मेगावाट सौर्य विद्युत उत्पादन गर्ने महत्वाकांक्षी योजनासहित दुई वर्ष अघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ३ र ४ मा सोलार प्यानल राख्नका लागि प्रति बिगाहा रु. २० लाखका दरले जग्गा खरिद गरिएको कम्पनीका अध्यक्ष एवम् निवत्र्तमान संघीय सांसद् लालबहादुर सावाले बताए ।

आयोजनाको कूल लागत रु. ७९ करोड रहेकोमा रु. ६० करोड बैङ्क कर्जामार्फत स्रोत व्यवस्थापन गरिने उनले जानकारी दिए । कम्पनीले रु. एक लाखदेखि माथि जतिसुकै रकम लगानी गर्न इच्छुक लगानीकर्तालाई आह्वान गरेको छ ।

‘झापालीका लागि झापालीद्वारा’ भन्ने उद्घोषका साथ स्थापना भएको झापा इनर्जीको सौर्य विद्युत उत्पादन परियोजनामा मुलुकभित्र रहेका झापाली उद्योगी व्यवसायी र विदेशमा रहेर विभिन्न उद्यम गरिरहेका झापालीहरुको उत्साहजनक लगानी रहेको कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले बताए ।

उनका अनुसार आगामी वर्षको पुस १५ सम्ममा परीक्षण उत्पादन गर्ने लक्ष्य लिइएको छ । व्यावसायिक उत्पादन भने २०७८ पुस मसान्तसम्ममा गर्ने लक्ष्य लिइएको सञ्चालक भट्टराईले जानकारी दिए ।
यहाँबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई प्रति युनिट रु. ७.३० का दरले विक्री गर्ने कम्पनीको योजना छ ।


यसले वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन गर्ने कम्पनीको दावी छ । कम्पनीले यही वर्षको माघ मसान्तसम्ममा विद्युत खरिद विक्री सम्बन्धी सम्झौता (पीपीए) गरिसक्ने र चैतको पहिलो सातातिर परियोजनाको इपीसी ठेक्का दिने जनाएको छ ।

झापामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना भएको र विदेशमा यसको ठूला परियोजनाहरु सफलतापूर्वक सञ्चालन भइरहेको देखेपछि झापा इनर्जी कम्पनी स्थापना गरिएको सञ्चालक एवम् सहकारी अभियन्ता रामचन्द्र उप्रेतीले बताए ।

कम्पनीले शनिवार दोस्रो वार्षिक साधारणसभा सम्पन्न गर्दै २०७८ मङ्सिर मसान्तमा आयोजना सम्पन्न गर्ने अठोट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: