मेचीनगर । नेपालको नयाँ नक्सा काँकरभिट्टाको पूर्वी प्रवेशद्वार मेचीपुलमा राखिएको छ ।
नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा नेपालको नयाँ नक्सा मेचीपुलमा राखिएको हो ।
१ नम्वर प्रदेश सभा सदस्यद्वय गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले १० फुट लम्वाई तथा ५ फुट चौडाईको होडिङबोडमा बनाईएको नेपालको नयाँ नक्सा विधिवत उद्घाटन गरेका थिए ।
नयाँ नक्सामा भारतले अतिक्रमण गरेको नेपाली भूमि कलापानी, लिपुलेक लिम्पियाधुरासमेत समेटिएको छ ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बुढाथोकीले भारतले मात्र नभई विश्वका कुनै पनि देशले नेपाली भूमि अतिक्रमण गरे आम देशवासीलाई सह्य नहुने भन्दै त्यसका विरुद्ध जस्तो सुकै आन्दोलन गर्न तयार हुने चेतावनी दिए ।
प्रदेश सभा सदस्य बुढाथोकीले राजनीतिक आस्था र विचारका आधारमा फरक मत भए पनि राष्ट्रियताका सवालमा सम्पूर्ण देशवासी एक ठाउँमा उभिने बताए ।
देशको सीमा रक्षाका लागि हरेक नेपाली रातदिन सक्रिय रहने भन्दै वर्तमान ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेको जग्गा समेत समेटेर नयाँ नेपालको नक्सा सार्वजनिक गरेकोमा सरकारको प्रशंसा गरेका थिए ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, नेकपा झापा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरे, मेचीनगर अध्यक्ष माधव अर्याल, राष्ट्रिय युवा संघका कुमार आचार्य, युवा नेताहरु विनोद मण्डल, दीपक थापा, अखिलका झापा सहसंयोजक दुर्गा धमला लगायतको उपस्थिति थियो ।
राष्ट्रिय युवा संघ नेपालका मेचीनगर अध्यक्ष सरोज मेहराको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अखिलका मेचीनगर अध्यक्ष सन्तोष धमलाले गरेका थिए ।
झापा जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष शंकर थापा लगायत नेकपा, विद्यार्थीलगायत युवा संघका विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।