नेपालमै पहिलोपटक मेचीनगरमा ‘जीरा’ खेतीको तयारी

  प्रकाशित मिति
३२ जेष्ठ २०७७, आईतवार ०७:५५


अर्जुन कार्की

मेचीनगर, ३२ जेठ । देशमै उत्कृष्ट कृषकको रुपमा छवि बनाएका झापाको मेचीनगर–९ मागुरमाडीका डिल्लीप्रसाद उप्रेतीले आउँदो असोज महिनादेखि नेपालमै सम्भवतः पहिलोपल्ट मेचीनगरमा ‘जीरा’ खेती गर्ने बताएका छन् ।

कृषि विज्ञको रुपमा परिचित उनी नयाँ–नयाँ उत्पादनमा रमाउँछन् । राष्ट्रपति कृषक पुरस्कार समेत पाइसकेका उनले झापामा कागती, मेवा, खरबुजा, सयपत्री फूल लगायतको व्यावसायिक खेतीमा ख्याति आर्जन गरिसकेका छन् ।

‘नेपालमा अहिलेसम्म जीरा खेती गरिएको थाहा छैन, म यसको सुरुवात गर्दैछु’, उनले भने–‘कसै न कसैले सुरु गरेपछि मात्र जीरा खेतीले व्यावसायिक स्वरुप लिन्छ ।’

‘जीरा’ खेती नोभेम्बरमा सुरु हुने र यसले उत्पादन दिन चार महिना लाग्ने उनको भनाई छ । धनिया, सुप, मेथी, लसुन, प्याज फल्ने नेपाली माटोमा जीरा खेती फस्टाउने उनको अनुमान छ ।

कृषि विज्ञ उप्रेतीले मेचीनगर ९ मा सञ्चालन गरिरहेको डीएन्डडी बायो प्लानटेक नर्सरी ।

‘कृषि उत्पादनका साना कुरामा समेत भारत र चीनमा भर पर्ने नराम्रो बानी बस्दै गएको छ’, उप्रेती भन्छन्–‘हामीले आफ्नो माटोमा जे रोपे पनि फल्छ, अल्छी मान्नु चाहिँ हुँदैन ।’

बजारमा जीरा प्रति केजी ४०० रुपैयाँ भन्दाबढीमा विक्री हुन्छ । मसलाको राजा मानिने जीरालाई औषधिको रुपमा पनि लिइने गरिएको छ । हालसम्म नेपालीहरु भारतीय जीरामा निर्भर रहँदै आएका छन् ।

उनी निर्धक्कसाथ भन्छन्–‘मैले जुनजुन उत्पादनमा हात हालेको छु, अहिलेसम्म सफलै भएको छु । अब हेरौं, जीरामा के हुन्छ ?’

भारतमा किसानहरुले गरिरहेको जीरा खेती ।

मेचीनगर–९ मा जीरा खेतीका लागि एक विगाहा जग्गाको बन्दोबस्त उनले गरिसकेको बताए । अहिले उनी जीराको बिउ भारतको राजस्थानबाट ल्याउने तयारीमा छन् । मलखाद, गोडमेल र आवश्यक प्राविधिक कुराको अध्ययन उनले गरिसकेको बताए ।

उनले गर्ने जीरा खेती नेपालमा जीरा खेतीको सम्भाव्यताका दृष्टिले अनुसन्धानमूलक हुने भएको छ । उनको खेती फस्टायो भने नेपालमा जीरा खेती सप्रिने पुष्टि हुने छ ।

विदेशमा रोजगारी गरेर नेपाल फर्किएपछि आफ्नै देशमा केहि गर्नु पर्छ भन्ने उद्देश्यले कृषि पेशामा लागेका उनको पुरै परिवार यसैमा समर्पित छ । मेचीनगर–९ मा उनले सञ्चालन गरेको डीएन्डडी बायो प्लानटेक प्रालिको विशाल नर्सरी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: