स्तन क्यान्सरको उपचारका लागि सरकारले काङ्ग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख रुपैयाँ दिएको विषय अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यममा चर्चामा छ ।
आलोचना गर्नेहरूले उनलाई दिएको उपचार खर्च अत्यधिक भएको टिप्पणी गरेका छन् । स्तन क्यान्सर पछिल्लो समय महिलाको ज्यान लिने प्रमुख रोग बनेको छ । सुजातालाई जस्तै नेपालका ३ हजार ५ सय जना महिलालाई स्तन क्यान्सर रहेको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपाने बताउँछन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्तन क्यान्सरको प्रमुख कारण महिलाले बच्चा नजन्माउनु, स्तनपान नगराउनु, ढिलो बिवाह गर्नु आदि हुन् । विश्वमा प्रत्येक बर्ष दुई लाख भन्दा बढी महिलाहरूमा स्तन क्यान्सर हुने गरेको छ । डा. न्यौपानेका अनुसार स्तन क्यान्सर भन्नाले स्तनमा अत्याधिक रुपमा कोषहरूको वृद्धि हुनु नै स्तन क्यान्सर हो । पुराना कोषहरू टाँसिएर एकै ठाउँमा जम्मा हुन थालेमा गिर्खा बन्छ, जुन पछि गएर स्तन क्यान्सरको रुपमा परिणत हुने गर्छ ।
स्तन क्यान्सर धेरै जसो दूध उत्पादन गर्ने नलीबाट सुरु हुने गर्छ । तर कहिलेकाहीँ तन्तुहरूबाट पनि सुरु हुने गर्छ । स्तन क्यान्सर जुन सुकै उमेरका महिलाहरूमा हुने भए पनि बिशेषतः ४० बर्ष उमेर पुगेका महिलाहरूमा धेरै हुने डा. न्यौपानेको भनाई छ ।
सरकारले ५० लाख रुपैयाँ दिएपछि काङ्ग्रेस नेतृ उपचारका लागि सिङ्गापुर गइसकेकी छन् । अन्य क्यान्सर भन्दा कम खतरनाक मानिने स्तन क्यान्सरको बेलैमा उपचार गर्न सकेमा निको हुने डा. न्यौपाने बताउँछन् । बेलैमा उपचार गरेमा नेपालमा नै स्तन क्यान्सर निको पार्न सकिन्छ ।
डा. न्यौपानेका अनुसार हाल भक्तपुर क्यान्सर अस्पताल, चितवनको बीपी कोइराला क्यान्सर अस्पताल र वीर अस्पतालमा स्तन क्यान्सरको सजिलै उपचार हुन्छ । सामान्य खालको स्तन क्यान्सर उपचारका लागि १५ देखि २० हजारमा अपरेसन, २० हजारको औषधि र किमोथेरापीको ४० हजार गरी एक लाख रुपैयाँ लाग्छ । तर खराब हर्मोनका कारण हुने स्तन क्यान्सरको किमोथेरापी महँगो पर्न सक्छ । त्यसैले यस्तो खालको क्यान्सर उपचारमा बढी खर्च लाग्छ ।
हाल नेपालमा देखिएका स्तन क्यान्सरमध्ये ९० प्रतिशतको उपचार १ लाखसम्ममा हुने डा.न्यौपाने बताउँछन् । ‘खराब हर्मोनको कारण लाग्ने क्यान्सरहरूको उपचारमा अलि बेसी खर्च लाग्छ तर त्यो पनि ५ लाखभित्रै उपचार हुन्छ’ उनले भने । किमोथेरापी र अपरेसन धेरै अस्पतालमा हुने भए पनि किमोथेरापी, रेडियोथेरापी र अपरेसन भने वीर अस्पताल, भक्तपुर अस्पताल क्यान्सर अस्पताल, भरतपुरको वीपी कोइरला क्यान्सर अस्पताल र पोखराको मणिपाल शिक्षण अस्पतालमा हुन्छ ।
‘किमोथेरापी र अपरेशनको सुविधा धेरै अस्पतालमा हुने भए पनि किमोथेरापी, अपरेसन र रेडियो थेरापी गरी तीनवटै सेवा वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, भरतपुरको वीपी कोइराला क्यान्सर अस्पताल र पोखराको मणिपाल शिक्षण अस्पतालमा गरी ४ ठाउँमा मात्र छ । ‘स्तन क्यान्सर लागे पछि यसको सबै चरणको उपचार नेपालमा नै गर्न सकिन्छ’–डा. न्यौपानेले भने । स्तन क्यान्सरको उपचारका लागि गरिने सबै किमोथेरापी नेपालमा नै सम्भव रहेको वीर अस्पतालकी बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सन्ध्या चापागाई बताउँछिन् ।
अरु क्यान्सर भन्दा स्तन क्यान्सर कम जटिल खालको रहेको र यसको सम्पूर्ण उपचार नेपालमा नै हुने भएकाले विदेश जानु नपर्ने उनको भनाई छ । ‘महिलामा स्तन क्यान्सर देखा परेपछि ५० हजार देखि एक लाख सम्ममा सम्पूर्ण उपचार हुन्छ, कुनै कुनै विरामीलाई अलि महँगो किमोथेरापी दिनुपर्ने अवस्था पनि आउने गर्छ । यी सबै उपचार सेवा नेपालमा नै हुन्छ’–उनले भनिन् ।
स्तन क्यान्सरको उपचार विधि फरक फरक खालको छ । विरामी सुरुकै अवस्थामा अर्थात क्यान्सरको पहिलो चरणको पनि सुरुकै अवस्थामा चिकित्सककोमा पुगे भने स्तन काटेर फाल्नु पर्दैन । साधारण त स्तनमा देखिएको गिर्खा एक सेन्टिमिटर भन्दा सानो छ भने डल्लोमात्र काटेर फालेमा पुग्छ । यस्तो अवस्थाको विरामीलाई किमो र रेडियोथेरापी जरुरत पर्दैन । यदि गिर्खा ठूलो हुँदै गएमा र त्यस्ता गिर्खा काखीको छालामा पनि देखिएमा अपरेशनका साथै रेडियो थेरापी र किमोथेरापी पनि गर्नुपर्छ । स्तन क्यान्सरबाट अरु क्यान्सरमा जस्तो मर्नेको सङ्ख्ख्या अत्यन्त कम रहेको छ ।
फोक्सो, कलेजोको क्यान्सर देखिएमा ७० देखि ८० प्रतिशत बिरामीको मृत्यु पहिलो वर्षमा नै हुन्छ । तर स्तन क्यान्सरमा समयमा नै उपचार गरेमा निको हुन्छ । स्तन क्यान्सर अरु चरणमा पुगेमा पनि नियमित उपचार गरेमा १०÷१५ बर्षसम्म बाँच्न सक्छन् ।
स्तन क्यान्सर सबै उमेरका महिलालाई हुने सम्भावना हुन्छ । विशेषत ३० बर्ष माथिका महिलाहरूलाई हुने सम्भावना हुन्छ । त्यसैले यसबाट बच्न स्वस्थ खानेकुरा खानुका साथै जीवनशैली पनि स्वस्थ अपनाउनुपर्छ । यसका अलवा नियमित रुपमा आफैले आफ्नो स्तनको परीक्षण गर्ने, बर्षमा एक पटक चिकित्सकोमा गएर स्तन परीक्षण गर्ने, स्तनमा साना साना गिर्खा देखिएपछि जाँच गराउने, विकिरणबाट बच्ने, नियमित व्यायाम गर्ने, धुमपान तथा मध्यपानबाट टाढै रहने गरेमा स्तन क्यान्सरको जोखिम कम हुन्छ ।
परिवारका सदस्यहरूमा स्तन क्यान्सर छ भने बेलाबेलामा चिकित्सकोमा गएर आफ्नो स्तनको परीक्षण गर्न पनि विशेषज्ञले सुझाव दिएका छन् ।