धुलावारी । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनमत मानव एकता र विश्व शान्तिको पक्षमा एक ढिक्का रहेको जनाउँदै यो एकतालाई कसैले हल्लाउन नसक्ने बताएका छन् ।
नेपाल मानव धर्म सेवा समितिद्वारा मेचीनगर–८ नन्दातटस्थित श्रद्धेय आश्रममा विहीवार सुरु भएको विराट सत्सङ्ग समारोहको उद्घाटन अवसरमा बोल्दै मुख्यमन्त्री राईले नेपाली जनमत एक ढिक्का भएको कारण मुलुकको सार्वभौमसत्ता, अखण्डता र धार्मिक सद्भाव अक्षुण रहेको बताए ।
कार्यक्रममा मानव धर्मका प्रणेता एवम् भारतको उत्तराखण्ड राज्यका पर्यटन मन्त्री सतपाल महाराजले आशिर्वचन प्रदान गर्दै नेपाल धर्म र ज्ञानको भण्डार भएको हुँदा विश्वभरिको ध्यान नेपालतिर आकर्षित भएको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीको सन्दर्भमा भन्ने गरेको अभिव्यक्ति सम्झँदै उनले भने–‘जो मृत्युबाट डराउँदैन भन्छ, ऊ झूट बोल्दैछ कि उ गोर्खाली हो ।’
उनले गोर्खाली फौजको बलमा बेलायतले फोकल्यान्ड युद्धमा अर्जेन्टिनालाई जितेको चर्चा समेत गरे । उनले धर्मको नाममा जातीय विभेद अस्वीकार्य हुने र सबै मानव समान भएको धारणा व्यक्त गरेका छन् ।
मानव धर्मका सर्वोच्च गुरु सतपाल महाराजले नेपाल समृद्धिको नयाँ मार्गमा अघि बढेको भन्दै खुशी समेत प्रकट गरेका छन् । उनले महाकाली नदीमा पञ्चेश्वर परियोजना बनेपछि नेपालको झुपडी झुपडीको अन्धकार हट्ने र अयोध्यादेखि जनकपुर जोड्ने रेल मार्ग बनेपछि धार्मिक एवम् पर्यटकीय सम्बन्धले फड्को मार्ने बताए ।
मेचीनगर नगरपालिका वडा नं. ८ धुलावारीस्थित श्रद्धेय आश्रममा शुक्रवारसम्म सञ्चालन हुने सत्सङ्ग कार्यक्रममा नेपाल, भारत र भूटानका करीव एक लाख भक्तजन सहभागी रहेको आयोजक समितिका सहसंयोजक सागर कटुवालले जानकारी दिए ।
कार्यक्रममा मुख्यमन्त्री राई र मानव धर्मका प्रणेता सतपाल महाराजले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी समारोहको उद्घाटन गरेका थिए । सो अवसरमा प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली, जिल्ला समन्वय समिति झापा प्रमुख सोमनाथ पोर्तेल, मेची नगरपालिका प्रमुख विमल आचार्य, दमक नगरपालिका प्रमुख रोम ओली, गौरदाह नगरपालिकाका प्रमुख रोहितकुमार साह, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति राम कट्टेल, मेची उद्योग वाणिज्य संघका महासचिव ध्रुव कनाल, नेपाल मानव धर्म सेवा समिति मेचीकी संयोजक खिलकुमारी निरौला लगायत विशिष्ट अतिथि रहेका थिए ।
यसैविच, मेचीनगर नगरपालिकाले सद्गुरू सतपालजी महाराजलाई नागरिक अभिनन्दन गरेको छ । अभिनन्दन पत्र नगर उपप्रमुख मिना पोखरेलले वाचन गरेकी थिइन् भने नगरप्रमुख विमल आचार्यले हस्तान्तरण गरेका थिए ।
नेपाल मानव धर्म सेवा समितिको माध्यमबाट समुन्नत समाज निर्माणमा योगदान भएको र सत्सङ्ग समारोहले पर्यटन प्रवर्धनमा दरिलो टेवा पुगेको भन्दै अभिनन्दन गरिएको जनाइएको छ ।
कार्यक्रममा मानव धर्मका सर्वोच्च गुरु सतपाल महाराजकी पत्नी अमृता माताजी र छोराहरु विभूश्री र सुयेशजी महाराजको समेत उपस्थिति रहेको थियो ।