काठमाडौँ, २६ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गएराति निधन भएको छ ।
फोक्सोमा भएको सङ्क्रमण र निमोनियाका कारण आफ्नै निवास महाराजगन्जमा राति १२ः५० बजे उनको निधन भएको नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । कोइराला विगत केही दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ थिए । लामो समयदेखि अर्बुद रोगको उपचारगराइरहेका कोइराला ७६ वर्षका हुन् ।
मुलुकको लोकतान्त्रिक आन्दोलनमा अहोरात्र नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो । उहाँलाई नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा पार्टी सभापतिका प्रत्यासीका रुपमा हेरिएको थियो ।
संविधानसभाको दोस्रो निर्वाचनपछि ठूलो राजनीतिक दलको नेताको हैसियतले उहाँ २०७० माघ २७ गते मुलुकको ३७औँ प्रधानमन्त्री बने ।
बुबा बोधप्रसाद र माता कुमुदिनी कोइरालाको सन्तानका रुपमा १९९६ साउन २८ गते ९सन् १९३९ अगष्ट १२० मा मोरङको विराटनगरमा जन्मिउक थिए । स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला राति नै कोइराला निवास पुगेका छन् ।
यसैबीच सभापति कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले बिहान ८ः०० बजेसम्म निवासमै राखिने भएको छ । बिहान ८ः०० बजेदेखि दिउँसो १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, सानेपामा र त्यसपछि श्रद्धाञ्जलिका लागि दशरथ रङ्गशालामा राखिने उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।