नेपाली प्रिन्स बने विश्वको एक नम्बर ब्याडमिन्टन खेलाडी

  प्रकाशित मिति
२९ पुष २०७८, बिहीबार १४:५२


झापा, २९ पुस । नेपालले विश्वका महाशक्ति देशहरुलाई जित्ने खेलकुदमा नै हो । ब्याडमिन्टनका जुनियर खेलाडी प्रिन्स दाहालले यसको पुष्टि गरेका छन् ।

इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरियतामा शीर्ष स्थानमा उक्लिएका छन् ।

विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरूष जुनियरतर्फको वरियता अनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन् । उनको १० हजार ५ सय अंक छ ।

महासंघले जारी गरेको वरियता अनुसार जुनियरतर्फ दोस्रो वरियतामा मलेसियाका जस्टिन होह छन् ।

उनको नौ हजार पाँच सय ९० अंक छ । यस्तै मलेसियाकै फाजरिक मोहमद रजिफ ६ हजार ९ सय २५ अंकसहित तेस्रो स्थानमा छन् । फ्रान्सका एलेक्स लानिर ६ हजार ७ सय अंकका साथ चौथो तथा भारतका एस शंकर मुथुसामी सुब्रमन्यम ६ हजार ३ सय ४० अंकसहित पाँचौँ स्थानमा छन् ।

विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष खेलाडी बनेपछि दाहालले आफ्नो सपना पूरा भएको बताएका छन् ।

उनले आफू विश्वकै एक नम्बर खेलाडी बन्ने उद्देश्यका साथ खेल्दै आएको र त्यो पूरा हुँदा अत्यन्त खुसी लागेको बताए । अबको ध्यान वरियतालाई कायमै राख्नतर्फ रहने भन्दै दाहालले भविष्यमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा समेत प्रदर्शन राम्रो गर्दै जाने बताए ।

नेपालमा प्रतियोगिताको अभाव तथा राम्रो प्रशिक्षण पाउन मुश्किल भएको दाहालको गुनासो छ । राज्यले खेलाडीका लागि उचित वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ ।

कोरोना महामारीका कारण लामो समयदेखि प्रतियोगिता र प्रशिक्षणबाट वञ्चित रहनुपरेको दाहाल बताउँछन् । पाँच वर्षको उमेरमै दार्चुलाबाट ब्याडमिन्टन खेल्न थालेका दाहाल हाल काठमाडौंमै अध्ययनरत छन् ।

नेपालका जुनियर खेलाडी दाहालले पाएको यो नै नेपाली ब्याडमिन्टनले हालसम्म पाएको सर्वाधिक ठूलो सफलता हो ।

विश्व ब्याडमिन्टन महासंघले प्रत्येक साता विश्वभरका जुनियर तथा सिनियर खेलाडीको बरियता सार्वजनिक गर्ने गरेको छ ।

दाहाल हाल ललितपुरको लगनखेलस्थित पिनागल कलेजमा कक्षा ११ मा अध्ययनरत छन् । यस्तै विश्व ब्याडमिन्टन महासंघले जारी गरेको जारी गरेको महिला जुनियरतर्फको वरियताअनुसार नेपालकी महिला खेलाडी रसिला महर्जन १९औं स्थानमा पर्न सफल भएकी छन् ।

प्रधानमन्त्री दिए बधाइ

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रिन्स दाहाललाई बधाई दिएका छन् ।

विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्ष स्थानमा पुग्नुभएका दाहाललाई ट्वीटरमार्फत् प्रधानमन्त्रीले बधाई दिउका हुन् ।

‘विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्ष स्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री देउवाले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: