नेपाली भाषा दिग्भ्रमितबाट स्पष्टतातिर

  प्रकाशित मिति
२५ भाद्र २०७३, शनिबार १७:२८


bhasa

मानवीय उच्चारण अङ्गबाट निस्केका सार्थक ध्वनिहरूको समूहलाई भाषा भनिन्छ । त्यसैले भाषा मानवीय वस्तु हो । मानिसले समाजमा भाषा प्रयोग गर्ने भएकाले भाषालाई सामाजिक वस्तु भनिन्छ । मानिसबाहेक पशुपन्छीले पनि मानवीय भाषाको प्रयोग गर्छन् भनिए पनि त्यो भाषा होइन । किनभने सुगा, मैनाले प्रयोग गरेको ध्वनि मानिसकै जस्तो सुनिए पनि त्यसमा उत्पादनात्मकता हुँदैन । भाषाको विशिष्टता नै उत्पादनात्मकता हो । सीमित शब्द प्रयोग गरी असीमित वाक्य प्रयोग गर्नसक्नु उत्पादनात्मकताकै कारण हो । जुन गुण मानिसबाहेक अन्य प्राणीमा नहुने भएकाले भाषा मानिस मात्रको निजी सम्पत्ति हो । मानिसले विभिन्न सङ्केत र इसारा पनि प्रयोग गर्छ तर ती भाषा होइनन् । किनभने भाषाको उत्पादनमा मानवीय उच्चारण अङ्ग प्रयोग भएको हुनुपर्छ भने ध्वनिहरू पनि सार्थक हुनुपर्छ ।
भाषा वस्तुलाई बुझाउन प्रयोग गरिने सङ्केत मात्र हो । भाषा र वास्तविक वस्तुबिच कुनै सम्बन्ध हुँदैन । यदि वस्तुमा भएको कुनै खास गुणका कारण वस्तुलाई बुझाउन नाम (भाषा) प्रयोग गरिन्थ्यो भने संसारमा एउटा मात्र भाषा हुन्थ्यो । तर, एउटै वस्तुलाई बुझाउन संसारमा भाषापिच्छे फरक–फरक नाम छन् । त्यसैले भाषा प्रतीक मात्र हो । यस्ता प्रतीकहरू एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरित हुन्छन् । त्यही भएर भाषा परम्परामा बाँचेको हुन्छ । भाषा व्यवस्थित वस्तु हो । सबै भाषाको आन्तरिक व्यवस्था हुन्छ । भाषाको व्यवस्थित प्रयोग सिकाउन मानक तथा स्तरीय रूप निर्माण गरिन्छ । यसका लगि व्याकरण लेख्ने, शब्दकोश निर्माण गर्ने, साहित्यिक कृति रचना गर्ने जस्ता कार्य गरिन्छ । मानक रूप विस्तार गरी भाषाको स्तरीय कथ्य र लेख्य रूप सिकाउन भाषा शिक्षण गरिन्छ ।

वर्षाैँदेखि हामी भाषाको शुद्ध प्रयोगका लागि शुद्ध वर्ण विन्यास शिक्षण गरिरहेका छौँ । वर्ण विन्यासका नियम रटाइरहेका छौँ । नेपाली भाषा शुद्ध लेख्ने अर्थात् वर्ण विन्यासको प्रयोग बारेमा धेरै बहस भए । वर्ण विन्यास प्रयोग सन्दर्भमा भाषिक आन्दोलनहरू भए । वर्ण विन्यासका घोषण पत्र जारी भए । मानक वर्ण विन्यास कुन हो भन्ने सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्ष निर्माण भए । एउटै प्रकृतिबाट बनेका शब्दको वर्ण विन्यास फरक–फरक तरिकाले लेख्नेहरु सुधारिएको वर्ण विन्यासलाई भाषा मासेको आरोप लगाउँदै छन् । हिजडा वर्ण विन्यासका पक्षधरहरु आफूलाई नेपाली भाषाका अभियन्ता घोषणा गर्दै छन् । नेपाली भाषाको मौलिक रुपको विरोध गर्नेहरु भाषा बचाउ समिति गठन गरेर तमासा देखाउँदै छन् ।

विसं. १९६५ को हलन्त बहिष्कार आन्दोलन, १९९१ को नेकशुले (नेपाली कसरी शुद्ध लेख्ने ?) देखि २०१३ को झर्राेवादी आन्दोलन, वृहत् नेपाली शब्दकोश २०४० तथा नेपाल सरकारले २०६९ सालमा स्वीकृत गरेको वर्ण विन्याससम्म आइपुग्दा नेपाली भाषाको वर्ण विन्यासको मानक रूप कहिल्यै एउटै बन्न सकेन । व्यक्तिगत वर्ण विन्यासका कारण समयको अन्तरालमा एउटै शब्दका लेख्य रूप परिवर्तन हुँदै आए, जसको प्रमाण विसं. २०२८ देखि २०७२ सम्म प्रकाशित विद्यालय तहका नेपाली भाषाका पाठ्यपुस्तक हेरे पुग्छ । यो देखि बाहेक लेखक तथा साहित्यकारका कृतिमा त एउटै समयमा नै भिन्नता पाइन्छ ।

भाषामा स्थानीय भेद हुन्छ, जसलाई भाषिका भनिन्छ । नेपाली भाषाका पनि भाषिका र तिनका उपभाषिका छन् । त्यस्तै क्षेत्रीय भेदहरू पनि छन् । तर भाषिका, उपभाषिका र क्षेत्रीय भेदहरू लेख्य भाषामा नभई कथ्य भाषा अर्थात् बोलीचालीमा मात्र प्रयोग हुन्छन् । खासगरी अनौपचारिक सन्दर्भ र परिवेशमा मात्र प्रयोग हुन्छ । तर, लेखनमै विविधता पाइनु अनि विविधता हटाएर मानक रूप निर्माण गर्न नसक्नु हाम्रो कमजोरी हो ।

भाषा व्यवस्थित वस्तु हो । भाषामा निश्चित वर्ण हुन्छन् । अर्थपूर्ण भाषिक एकाइ मात्र शब्द हुन्छ । अनि शब्दहरूको उचित सङ्गतिबाट मात्र वाक्य बन्छ । यो सबै भाषिक व्यवस्थाकै कारण हो । भाषिक व्यवस्थालाई हामी व्याकरण भन्छौँ । नेपाली भाषाका सन्दर्भमा एउटै भाषिक रूप र वाक्यको प्रयोगमा पनि भाषाशास्त्रीहरूको एकमत भएन । त्यसैले “नेपाली भाषा जस्तो लेखे पनि हुन्छ” भन्ने स्थितिमा पुग्यो । यो लेख्य भाषाका सन्दर्भमा जटिल समस्या र दयनीय अवस्था हो । यसकै परिणाम हो गलत भाषिक प्रयोग । अहिले भाषा प्रयोगका सन्दर्भमा कथ्य र लेख्य भाषामा त्रुटि छ भनेर औँल्याइ दियो भने प्रयोगकर्ताको साझा प्रतिव्रिmया हुन्छ, “मैले त पहिल्यैदेखि यस्तै प्रयोग गर्दै आइरहेको छु ।” यसको कारण भाषिक प्रयोगमा त्रुटि संस्थागत हुनु हो । भाषिक प्रयोगमा हुने त्रुटिलाई कारण सम्मत पुष्टि नगरेपछि र त्यसलाई नसच्याई प्रयोग गरेपछि त्रुटि नै मानक रूपमा स्थापित भयो ।

नेपाली भाषाको शब्द भण्डार संस्कृत भाषाका शब्दहरू (तत्सम), मौलिक नेपाली शब्दहरू (तद्भव) र अन्य स्वदेशी तथा विदेशी भाषाबाट आएका शब्दहरू (आगन्तुक) बाट बनेको छ । संस्कृत भाषा नेपाली भाषाको जननी भाषा भएकाले नेपालीमा अत्यधिक संस्कृत शब्द हुबहु प्रयोग हुन्छन् । संस्कृत भाषाका शब्द नेपाली लेखनमा प्रयोग गर्दा संस्कृत नियमानुसार नै प्रयोग हुन्छन् । मौलिक शब्दहरू र आगन्तुक शब्दहरूको लेखन चाहिँ नेपाली नियमानुसार नै चलेको छ ।

नेपाली भाषाको लेखनमा वर्ण विन्यासका दुईवटा नियम चलेका हुनाले यसमा विभिन्न मत र दृष्टिकोणहरू बेला–बेलामा आइरहन्छन् । एकथरी विद्वान्हरू शिष्ट परम्परा भनी संस्कृत नियम नै प्रयोग गरी तद्भव र आगन्तुक शब्दको लेखन गर्छन् भने अर्काथरी तत्सम शब्द संस्कृत नियमानुसार तथा तद्भव र आगन्तुक शब्द नेपाली नियमानुसार लेखन गर्छन् । यी दुई मान्यता नै नेपाली वर्ण विन्यासको मतभेद हो । यी मान्यताका पक्ष र विपक्षमा आन्दोलन नै छेडिएका छन् । परम्परागत लेखनलाई नै सही मानेर तथा शिष्ट परम्पराको पहिरन लगाएर नेपाली कसरी शुद्ध लेख्ने ? भन्ने घोषणा पत्र पनि सार्वजनिक भएका छन् । ती घोषणा पत्र हेर्ने जोकोहीलाई नेपाली लेखनको वास्तविक रूप कुन हो भन्ने अस्पष्टता रहिरहन्छ ।

विसं.२०५६ सालमा पाठ्यव्रmम विकास केन्द्रले प्रकाशन गरेको सम्पादन शैली पुस्तिकाले परम्परागत लेखनमा रहेको ‘शहीद’ शब्दलाई ‘सहिद’ लेखन सुरु गरेपछि नेपाली भाषामा अक्षम्य अपराध भएझैँ ठानी होहल्ला मच्चियो । केहीले यसलाई भाषामा आफ्नो विरासत गुमेको पनि ठाने । पत्र पत्रिकामा ‘श’ र ‘ई’ वर्ण नेपाली भाषाबाट हटाइए भनेझैँ अफवाह फैलाइए र अद्यापि त्यो चलिरहेको छ । तर, वास्तवमा त्यो भएको केही थिएन । ‘सहिद’ शब्द आगन्तुक भएकाले यसलाई नेपाली नियमानुसार लेखिएको मात्र थियो । तद्भव र आगन्तुक शब्दको लेखनमा ञ, ण, श, ष, क्ष, त्र, ज्ञ वर्ण प्रयोग हुँदैनन् भने शब्दको सुरु र बिचमा ह्रस्व तथा अन्त्यमा भए दीर्घ लेख्ने नेपाली नियम हो । ‘सहिद’ शब्दको लेखन पाठ्यव्रmम विकास केन्द्रले यही मान्यतानुसार गरेको थियो ।

संस्कृतबाट रूप परिवर्तन भएर नेपाली मौलिक शब्द बनेका तद्भव शब्दलाई पनि तत्सम नै ठानी संस्कृत नियमानुसार लेख्ने मान्यता पनि नेपाली भाषाको मौलिक लेखनको विरुद्धमा उभियो । त्यसै गरी तत्समबाट तद्भव बनेका मौलिक शब्दलाई पनि क्षतिपूर्ति दीर्घी भवनको कृत्रिम नियम निर्माण गरेर दूध, ठूलो, बूढो, फूल जस्ता शब्दका सुरुमा दीर्घ गर्ने जस्तो विरोधाभास सिर्जना गरियो । यी शब्दहरू दीर्घ लेख्ने कुनै वैज्ञानिक आधार छैन । तर, भाषा विज्ञानको मान्यतालाई बिर्सेर कारण र प्रमाण बिना हचुवाका भरमा प्रयोग गरिएको वर्ण विन्यासलाई परम्परादेखि चलेको भन्ने अडान तेस्र्याएर भाषिक स्तरीकरण र मानकीकरण होइन द्विविधा फैलाएर ‘नेपाली जसरी लेखे पनि हुने’ भन्ने भ्रम छरियो ।

दुध, ठुलो, बुढो, फुल जस्ता शब्द संस्कृतका ‘दुग्ध, वृहत्, वृद्ध, पुष्प’ बाट नेपालीमा रूप परिवर्तन भएर आएका हुन् । यी शब्दहरू तद्भव हुन् । तद्भव शब्दको लेखन नेपाली नियमानुसार हुन्छ । नेपाली नियम शब्दको सुरु र बिचमा ह्रस्व लेखिन्छ । यति स्पष्ट भएर पनि यी शब्दलाई दीर्घ लेख्नु सामान्य भाषिक प्रयोगकर्ता र नेपाली भाषा सिकिरहेका विद्यार्थीलाई कुहिराको काग बनाउनु मात्र हो ।
उच्च माध्यमिक शिक्षा परिषद्ले २०६७ सालमा अनिवार्य नेपाली विषयमा प्रयोग गरेको वर्ण विन्यास तथा, नेपाल सरकारले २०६९ सालमा स्वीकृत गरेको वर्ण विन्यास नेपाली भाषाको मौलिक रूप संरक्षण गर्ने तथा लेख्य भाषामा एकरूपता कायम गर्ने महत्त्वपूर्ण उपलब्धि हो । यो वर्ण विन्यासमा संस्कृतबाट रूप परिवर्तन भएर तद्भव बनेका शब्दलाई नेपाली नियमानुसार नै लेख्ने, शिक्षण गर्ने निर्देशन छ । साथै पाठ्यव्रmम विकास केन्द्रबाट प्रकाशन हुने सामग्रीमा यही वर्ण विन्यास प्रयोग गरिने उल्लेख छ । फलस्वरुप अहिले कक्षा ६, ७, ८ र ९ मा यही वर्ण विन्यास लागु भएको छ ।

त्यस्तै संयुक्त व्यञ्जनको लेखन सुधार गरी छुट्याएर लेख्ने सुरुवात भएको छ । संयुक्त व्यञ्जन लेख्ने परम्पराले नेपाली भाषामा हामी दिग्भ्रमित भइ रह्यौँ । ‘द्य’ संयुक्त व्यञ्जन के हो ? कसरी यो निर्माण भएको छ ? भन्ने कुरा स्पष्ट नभई हामी यसको प्रयोगमा यसरी अभ्यस्त भयौँ कि अब यसलाई छुट्याएर लेख्नुपर्छ भन्दा हामीलाई अचम्म मात्र होइन असम्भव लाग्छ । ‘द्य’ वर्ण प्रयोग भएका विद्या, विद्यार्थी, विद्यालय, उद्योग, उद्यान जस्ता शब्द लेख्दा ‘द्य’ लाई ‘ध’ ठानेर डिको पुरा नदिई लेख्न हामीलाई हाम्रा गुरुहरूले सिकाए अनि ‘ध’ नै ठानेर उच्चारण गर्न र जीवनभर त्यसरी लेख्न हामी उद्यत् भइ रह्यौँ तर वास्तविकता खोजेनौँ । वास्तविकता भनी दिँदा पत्याउन नसक्ने भयौँ । अरू त के व्यञ्जन वर्णमा नभएको ‘द्य’ वर्ण लेख्न लगाउँदा आफ्नै छोराछोरीले वा विद्यार्थीहरूले यो के हो ? कसरी यस्तो भयो भनेर सोधेको प्रश्नको जवाफ दिन नसकेर जीवनभर नाजवाफ बनेका हामी उल्टो यस्ता फाल्तु कुरा गर्ने भनेर झर्किन्छौँ । ‘द्य’ संयुक्त व्यञ्जन ‘द्य’ हो भनेर सुरुकै कक्षामा हामीलाई सिकाइएको भए वा हामीले सिकाएको भए यस्तो दिग्भ्रमित हुनु पर्ने थिएन । सुधारिएको लेखनले हाम्रो लेखनलाई स्पष्ट, वैज्ञानिक र व्यावहारिक बनाएको छ । अब किन यस्तो लेख्ने वा लेखिएको भन्ने प्रश्नको उत्तर नपाएर भौँतारिनु पर्ने छैन भने नाजवाफ भएर दिग्भ्रमित हुनुपर्ने छैन ।

नेपाल सरकारले स्वीकृत गरेको वर्ण विन्यासमा सबैभन्दा विवाद गरिएको पक्ष तत्समबाट तद्भव बनेका शब्दहरूको ‘ह्रस्व’ करण हो । त्यसमा पनि ‘फुल’ शब्दलाई लिएर यति विवाद गरियो, फुल शब्द बगैँचामा फुलेको फुल होइन ‘अन्डा’ नै भइदियो । ‘फुल’ वस्तुले रूप परिवर्तन गरे जस्तै यसलाई प्रचार गरियो । ‘फूल’ र ‘फुल’ साँच्चै के हो भनेर नछुट्टिने भयो भनेर रुवाबासी नै भयो । तर, यथार्थ के हो भने नेपाली भाषामा यस्ता अनेकार्थी शब्द प्रशस्त छन् । जस्तै ः मुसा, कर, तर, तिर, उत्तर यी शब्दहरूको लेखनमा हामीलाई कुनै समस्या छैन । ‘मुसा’ शब्दले जीव र रोग बुझाउँछ । तर ‘मुसा’ ले जीव र रोग कुन बुझाउँछ भन्ने कुरामा हामीलाई कुनै समस्या छैन । किनभने हामी ‘मुसा, कर, तर, तिर’ जस्ता शब्दको अर्थ वाक्यमा प्रयोग भएको सन्दर्भबाट बुझ्छौँ ।

‘फुल’ शब्द पनि भिन्नार्थी शब्द हो । यो पनि बगैँचामा फुलेको ‘पुष्प’ हो वा ‘अन्डा’ भन्ने हामी यसको प्रयोग सन्दर्भबाटै बुझ्छौँ । ‘फुल’ ले पुष्प बुझाउन छोड्यो ‘अन्डा’ बुझाउन थाल्यो भनेर सगर थाम्ने हुट्टिट्याउँहरू आफैँ चाहिँ ‘अन्डा’ लाई ‘फुल’ नभनेर अन्डा नै भन्छन् । अन्डालाई अधिकांश नेपाली भाषीहरू फुल नभनी अन्डा नै भन्छन् । त्यसैले ‘फुल’ को अर्थ कसरी बुझ्ने भन्ने तर्क गर्नु बेकार छ । शब्दकोशमा भएका शब्दहरू निर्जीव हुन् । वाक्यमा प्रयोग भएपछि मात्र तिनले जीवन पाउँछन् । शब्दको अर्थ वाक्यमा प्रयुक्त सन्दर्भबाट स्पष्ट हुने भएकाले ‘फुल’ को बहसको अर्थ छैन ।
(साभार ः स्वर्ण सौगात, ज्यामिरगढी मावि)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: