नेपाली समाजको स्तरीकरण

  प्रकाशित मिति
२८ माघ २०७२, बिहीबार ०४:३४


naresh khati

समाज सामाजिक, आर्थिक, लैङ्गिक, जातीय, धार्मिक आदि रुपमा विभाजित छ । समाजलाई तल माथि, धेरै थोरै, राम्रो नराम्रो, विकसित अविकसित, विशिष्ट विशिष्टहीन आदि आधारमा विभाजन गर्ने प्रव्रिmयालाई सामाजिक स्तरीकारण भनिन्छ । सामाजिक स्तरीकरणले समाजका सदस्यहरूलाई तहगत रुपमा राख्ने र तहगत सर्वोच्चता र घनिष्टताका आधारमा वर्गीकृत गर्ने काम गर्दछ । यसले समाजका मानिसलाई निश्चित समूहमा राख्ने र समूहमा तल्लो उपल्लोको व्यवहारस्थिति सिर्जना गर्दछ ।

नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिक ठानिन्छ भने, दलितलाई न्युनतम् मानवीय व्यवहारसम्म पनि गर्न समाजका कथित उपल्ला जातिका व्यक्तिहरू हिच्किचाउँछन् । राज्यका निकायमा न्युन उपस्थितिले राज्यको सेवा सुविधाबाट बञ्चित छन् ।

समाजशस्त्रीहरूले विश्वका समाजको स्तर निर्धारण गर्ने कार्यका सम्बन्धमा विभिन्न सिद्धान्तहरू प्रतिपादन गरेका छन् । माक्र्स, ववेर, अडेबिज र मुरे, गीन्सवर्ग लगायतले समाजको स्तरीकरणको आ–आफ्नो सिद्धान्त अगाडि राखेका छन् । जर्मनी अर्थशस्त्री तथा समाजशस्त्री काल माक्र्सले उत्पादनका प्रणालीको स्वरुप माथि जोड दिँदै समाजको स्तरीकरण निर्धारणमा पूँजी अर्थात् धनलाई प्रमुख मानेका छन् । समाजमा उच–निच भेदभावको मुख्य जड उत्पादन प्रणाली हो र यसको स्वरुपका आधारमा उच्च वर्ग र निम्न वर्ग हुन्छ भनेका छन् ।

अर्का समाजशस्त्री ववेरले आफ्नो विश्लेषणमा शक्तिका विभाजनका अधारमा समाजमा स्तर निर्धारण हुने दाबी गर्दछन् । शक्तिका आधारमा सामाजिक समूह तथा व्यक्तिमा उच्चता र निचताको स्थिति देखिएको हुन्छ, समाजमा हुने शक्तिको असमानता नै स्तरीकरणको मूल आधार उनी मान्दछन् ।

डेविज र मोरेले धर्म, सरकार, धन सम्पत्ति र श्रम र प्राविधिक ज्ञानका आधारमा समाजमा स्तर निर्धारण हुने विश्लेषण अघि सारेका छन् । समाजशस्त्रीहरूमा माक्र्सले उत्पादन प्रणालीको स्वरुपलाई, ववेरले शक्ति विभाजन र डेविज र मोरेले धर्म र सरकार, धन सम्पत्ति र श्रम र प्राविधिक ज्ञानका आधारमा समाजिक स्तरीकरण हुने कुरामा जोड दिएका छन् । विश्व समाजको स्तर निर्धारणका बारेमा समाजशस्त्रीहरूले अघि सारेका विश्लेषणमध्ये नेपाली समाजको स्तर निर्धारणका सम्बन्धमा डेविस र मोरेको विश्लेषण अत्यधिक मेल खान्छ ।

नेपाली समाजको स्तर निर्धारणका सम्बन्धमा विगतको ऐतिहासिक पृष्टभूमिलाई नियाल्नु जरुरी हुन आउँछ । मल्लकाल अर्थात् बाइसे, चौबीसे राज्यकाल, पृथ्वीनारायण शाह पछिको राज्य विस्तारकाल र राणा शासनकाल गरी विभाजन गरी हेर्न सकिन्छ ।

नेपाली समाजको वर्गीकरण हिन्दू धर्मको वर्ण व्यवस्था अनुसार भएको पाइन्छ । हिन्दुधर्मको ऋग्वेदको दशौं मण्डलमा चार वर्णको उल्लेख छ । उक्त मण्डलमा भनिएको छ– ‘त्यस विराट पुरुषको मुख ब्राम्हण, हात क्षेत्री, जाँघ वैश्य र खुट्टा शुद्र । कहीँ संसारको विकासका लागि मुख, बाहु, तिघ्रा र खुट्टाबाट व्रmमैसँग ब्राम्हण, क्षत्रीय, वैश्य र शुद्रहरूलाई उत्पन्न गरे । (मनुस्मृति तिलकप्रसाद लुइँटेल)

जयस्थिति मल्ल (सन् १३६० — १३९५) ले कीर्तिनाथ उपाध्याय र मैथिल ब्राम्हणहरू रघुनाथ झा, रामनाथ झा, दक्षिण भारतका श्रीनाथ भट्ट र महिनाथ भट्टलाई वाग्मती उपत्यकामा चार वर्ण चौसट्ठी जातमा समाजलाई विभक्त गरे । उनकै पालामा बौद्ध धर्मीय नेवार समुदायबीच वर्णाश्रम व्यवस्था लागू गरियो । गोरखाका राजा राम शाह (सन् १६०५—१६३६) ले वर्ण व्यवस्थालाई बलियो बनाउन चार वर्ण छत्तीस जातको व्याख्या गरे ।

तराईमा मधेशी समुदायमा वर्ण व्यवस्था भारतको केन्द्रीय थलोबाट विस्तार हँुदै आइपुगेको थियो । पृथ्वीनारायण शाह (सन् १७२२—१७७५) ले असली हिन्दुस्तान निर्माण गर्न हिन्दु धर्मको वर्णाश्रम व्यवस्थालाई चार वर्ण छत्तीस जातको साझा फूलबारीको नाम दिएर विद्यमान समाजको विभेदपूर्ण स्तरीकरणलाई कायम गरे । वर्ण व्यवस्थाको निरन्तरता र अन्य जनजातिमा समेत प्रसार गरियो । हिन्दु धर्मले गरेका काम विभाजनमा ब्राम्हणले पढ्ने पढाउने, दान लिने दिने, क्षेत्रीले राज्य सञ्चालन प्रजा रक्षा, वैश्यले व्यापार व्यवसाय तथा अर्थोपार्जन र शुद्रले तीन वर्ण ब्राम्हण, क्षेत्री, वैश्य र राज्यको सेवा गर्ने व्यवस्था मिलाइयो ।

जङ्गबहादुर कुवँरले राज्य आफ्नो हातमा लिएपछि परम्परागत रुपमा सञ्चालित धार्मिक शासन प्रणालीलाई लिपिबद्ध गरेर नेपालमा पहिलो पटक लिखित कानुन विस. १९१०को मुलुकी ऐन ल्याए । जुन ऐन हिन्दु धर्मको मनुस्मृति अनुसार बनाइएको थियो । जसमा पहिलो पटक हिन्दु धर्मभित्रको वर्णाश्रम व्यवस्थामा नपर्ने जनजातिलाई जातपातको परिबन्धभित्र राखियो । तागाधारी मतवाली – (नमासिन्या मतुवाली र मासिन्या मतुवाली) पानी नचल्ने छिटो हाल्नु नपन्र्या र पानी नचल्ने छिटो हल्नु पर्ने भनी व्यक्तिलाई विभिन्न श्रेणीमा विभाजन मात्र गरिएन, जात अनुसार दण्ड सजायको व्यवस्था समेत गरियो ।

राज्यमा राजनीतिक अधिकार पाउने र राज्यमा सहभागिता जात र लिङ्गका आधारमा निर्धारण गरियो भने समाजमा धर्मका आधारमा संस्कार–संस्कृति, रीतिरिवाज अनुकूल व्यवहार गरियो । हिन्दु धर्ममा शुद्रलाई ज्ञान सिकाउनु, जुठो हव्य र काव्य खान, प्रत्यक्ष रुपमा धर्म र व्रतका कुराहरू सिकाउन पनि हँुदैन । ज्ञानले ब्राम्हणको, बलले क्षेत्रीयको, सम्पत्तिले वैश्यको र उमेरले शुद्रको महानता हुन्छ । (मनुस्मृति )

महिलालाई हिन्दु धर्ममा पतिको सेवा गर्ने, छोरालाई वंशको अधिकारी मान्ने र पितृलाई नरकबाट तार्ने भएकाले महत्वपूर्ण स्थान प्राप्त भयो । छोरीले बाबुआमाको घरमा सेवा गर्ने र कन्यादान पछि पतिको घरमा काम गर्नु पर्ने जिम्मा दिइयो । पिताले वा पिताका आज्ञाले दाजुभाइहरूले जुन पुरुषसंँग विवाह गरिदिन्छन्, जीवनकाल भरि शुद्ध हृदयले स्त्रीले उसैको सेवा गर्नुपर्छ । (मनुस्मृति)

नेपालमा २००७ सालमा प्रजातन्त्र त आयो तर समयानुकूल राज्य संरचनामा परिर्वतन हुन सकेन । पुराना कानुन अनुसार राज्यमा श्रेणीगत विभाजन कायम रह्यो । महिलालाई दास वा शासितको रुपमा र पुरुषलाई शासक, मालिकका रुपमा व्यवहार गरियो । हिन्दू राज्यका रुपमा रहेको नेपालले हिन्दू धर्ममा भएका चालचलनलाई राज्यका जनताको सभ्यतासँग जोडिदियो । त्यसका आधारमा समाजले आआफ्नो किसिमको सामाजिक नीति–नियम, संस्कृति, मूल्य, मान्यता, परम्परा, रीतिथिति आदिका आधारमा जात, लिङ्गको भूमिका निश्चित गरेको हुन्छ ।

घरबाहिरको काम गर्नुपर्ने पढ्नु, जागिर खाने र घरभित्रको काम महिलाले गर्नु र पढ्नु हँुदैन भन्ने जस्ता परम्परागत मान्यताले महिला पछि परेका छन् । मतुवालीको रुपमा विभाजनमा परेका जनजातिलाई हिन्दुकरण गरी राज्यको सेवा सुविधाबाट वञ्चित गर्दै अपहेलित गरियो । पानी अचल तथा छिटो हाल्नु पर्ने जातका रुपमा रहेका दलित सामाजिक स्तरीकरणको पुछारमा रहे । आम्दानी वितरण सहभागिता र राज्य र समाजको निर्णय प्रव्रिmयामा न्यायोचित अधिकार बाँडफाँड नहुँदा हिन्दु धर्म अनुसार वर्णमा विभाजित ब्राम्हण, क्षेत्री, वैश्य र शुद्रमा पर्ने वर्गमा सामाजिक विभेदसँगै सामाजिकस्तर निर्माण भएको छ । जसलाई नेपाली विद्वानहरूले नेपालको वर्ग पनि भन्ने गरेका छन् ।

नेपाली समाजमा वर्तमान जुन किसिमको स्तर निर्धारण गरिएको छ । जसका आधारमा उसको सामाजिक हैसियत र राज्यका निकायमा उपस्थिति छ त्यसकापछि नेपालमा विगतमा राज्यले अपनाइएको हिन्दू धर्ममा आधारित शासन व्यवस्था जिम्मेवार छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: