नेपाली साहित्यका भक्त

  प्रकाशित मिति
२८ असार २०७३, मंगलवार २०:३७


dipak subediनेपालका राष्ट्रिय विभूति एवं नेपाली साहित्यिक गगनका भानु जसकोे जन्म विक्रम संवत १८७१ असार २९ गतेका दिन हालको गण्डकी अञ्चलको तनहूँ जिल्लाको चुँदी बेसीमाथिको रम्घा गाउँमा र मृत्यु वि.स.१९२५ सालमा छपन्न वर्षको उमेरमा तनहूँकै सतीघाटमा भएको थियो । भानुभक्त आचार्यका बाबु धनञ्जय आचार्य थिए र आमा धर्मावती आचार्य थिइन् । संस्कृत भाषाका प्रकाण्ड विद्वान बाजे श्रीकृष्ण आचार्य र धनञ्जयका पाँच भाइमध्ये ठाँहिला भाइ गंगादत्त आचार्य जो व्याकरण र ज्योतिषका विद्वान थिए । उनीहरुकै सान्निध्यमा रहेर उनले अनौपचारिक शिक्षा घरमै आर्जन गरेका थिए । त्यसबैला आजभोलि जस्तो औपचारिक शिक्षाआर्जन गर्ने विद्यालय थिएनन् । अतः उनले आफ्नै स्वाध्ययनका भरमा शिक्षा हासिल गरे ।

पुरानै संस्कार र मान्यतामा हुर्केबढेका भानुलाई आफ्ना पूर्वजले हिँडेको बाटो नै प्रिय लाग्नु स्वभाविकै थियो । बाजे काँशीबास गर्न जाँदा साथमा गएकाले नै त्यहीँ बसी शिक्षा आर्जन गर्ने मौका र कविता लेख्ने प्रेरणा केटाकेटी अवस्थादेखि नै पाएका थिए । बाजेको धार्मिक परमार्थिक चरित्रको प्रभाव उनमा सानैदेखि परेको थियो । काँशीको ५÷६ वर्षको बसाइले पनि उनमा साहित्यिक अनुराग जगाएको थियो ।

भानुभक्त आचार्यको पहिलो रचना शिखरिणी छन्दमा लेखिएको उनकै जन्मपत्रिकाको बयान गरिएको दशहरफे कविता हो । पछि उनले १८९८ मा रामायणको बालकाण्ड तयार पारे । पाल्पाको मालमा खरिदार पदमा रहेका उनका बाबु धनञ्जयको मृत्युपछि बाबुबाट फस्र्यौट हुन बाँकी हिसाब बुझाउन हकवालाकै नाताले उनलाई समातिएकोले उनले १९०९ तिर पाँच महिनासम्म नजरबन्दी भएर रहनु पर्यो ।

यसै समयमा रामायणको अयोध्याकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्डको रचना गरे । नजरबन्दबाट छुटेपछि अकिञ्चन घाँसीको घाँस बेचेर परिवारको भरणपोषण गरी शेष रहेको पैसा जम्मा पारेर कुवा खनाउन खोज्ने विचार सुनेपछि भानुभक्तको अहम् बिउँझियो अनि त आफ्नो कीर्ति फिँजाउन खोज्ने घाँसीका अर्तीबाट धिक्कार होस् मकन बस्नु नराखी कीर्ति भन्दै भानुभक्तले आफूलाई आफैँ धिक्कारे । घाँसीले घाँस बेच्ने कुरा, अहिले त बिक्दैन । त्यो पनि त्यस समयको तनहूँमा ! तर पनि कुवा खनाएर बटुवाका तिर्खाएका आँतलाई शीतलता प्रदान गर्ने परोपकारी घाँसीको अर्तीले उनलाई लोकको गरु हित् भनी भन्दै लोकहितको बाटामा डोर्यायो । अनि त सुगौलीसन्धिको पराजयले उत्पीडित नेपालीहरुको छियाछिया भएको मनमा उनले १९१० तिर रामायणका युद्घकाण्ड र उत्तरकाण्ड पनि तयार पारी शील, शक्ति र सौन्दर्यको संचार गराइदिए ।

कान्तिपुर वर्णन र बालाज्यू वर्णन कवितामा भानुभक्तले स्वर्गबाट सुन्दर विम्ब टपक्क टिपेर ल्याई थपक्क सिँगारेका छन् । अनि सौन्दर्य चेतना एवम् कल्पनाचातुर्यले ती कवितालाई ढपक्क ढाकेका छन् । नेपालको राजधानी कान्तिपुरलाई स्वर्गको राजधानी अमरावतीसँग र स्वर्णिम उद्यान बालाजूलाई स्वर्गको रमणीय स्थलसँग तुलना गर्दै उनले नेपाललाई स्वर्ग र नेपालीलाई देवताको कोटिमा पु¥याएका छन् । ब्राम्हणवादको दवदवा भएको बेलामा सबैले बुझ्ने जनभाषामा संस्कृत काव्यको उल्था गरेर एउटा कठोर परम्पराको विरोधमा पनि उनी उत्रेका थिए । विभिन्न वर्गमा विभाजित नेपाली समाजलाई भाषाका माध्यमबाट एकसूत्रमा बाँध्ने कामको थालनी पनि यिनीबाट नै शुरm भएको थियो । यति मात्र नभई ईश्वरभक्तिको समय थियो त्यसैले वैराग्यभावना जगाउन शान्तरसको परिपाकका साथ लेखिएको भक्तमाला (१९१०), मानव जीवनोयोगी उच्च नैतिक मूल्यका शाश्वत् उपदेशहरm भएको प्रश्नोत्तर (१९१०), तद्युगीन आवश्यकता बमोजिम पारिवारिक शान्तिको सन्देश बोकेको बधूशिक्षा (१९१९), रामगीता (१९२५) र गजाघर सोतीको प्रसङ्ग रचनाको सन्दर्भलाई हेर्दा उनीभित्र आशु कवित्व प्रतिभा विद्यामान थियो । यसै कारणले भानुभक्तलाई वि.स. १९४८ मा आदिकवि पदवीद्वारा सम्मानित गरिएको थियो । यसपछि भानुभक्त नेपाली साहित्यमा एउटा युगका रmपमा चिनिए, रामभक्ति धाराका केन्द्रीय ज्योतिका रmपमा चम्किए । आज आदिकवि विभूषण प्रति धेरैले प्रश्न उठाएका छन् । भक्तिधारा अन्तरगत भानुभक्तभन्दा पूर्व नै नेपाली कविताको लेखन विभिन्न रmपमा प्रारम्भ भइसकेको थियो तर पनि मौलिकता, सरसता र सरलतामा उनलाई उछिन्ने कुनै कवि नेपाली साहित्यमा देखा परेका थिएनन् । अध्यात्म चेतना, उपदेश, नैतिकता, छन्दको सफल प्रयोग जस्ता गुणका कारण उनीभन्दा अघि कविहरु भए पनि सर्वप्रथम मोतीराम भट्टले यिनलाई लाक्षणिक अर्थमा आदिकविको विभूषण पहिराइदिए र आज पनि उनलाई नै नेपाली साहित्यमा आदिकवि मानिन्छ ।

भक्तमाला र बधूशिक्षा मौलिक, प्रश्नोत्तर र रामगीता अनूदित, रामायण मौलिकता र अनुवादको दोसाँधका रmपमा भएका कृति हुन् । रामायण भक्ति, भाषाशैली, सङ्गीत र आध्यात्मिकताका दृष्टिले आज पनि महत्वपूर्ण मानिन्छ । गरिएको यो अनुवादले उनलाई अनुवादक मात्र भनेर पन्छाउन मिल्दैन । कथावस्तु अध्यात्म रामायणबाट लिए तापनि यसमा उनले प्रशस्त मात्रामा मौलिकताका साथै काव्यात्मकता समावेश गरेका छन् । यसका पात्रमाहरmमा नेपालीपन छ र राम, लक्ष्मण, सीता आदि नेपाली भएर उत्रेका छन् । महाकवि देवकोटा लेख्छन् –“साहित्यिक श्रेष्ठताको नाप जनतामा परेका प्रभाव र सर्वकालीन हृदयस्पर्शितामा निर्भर रहन्छ । नेपाली साहित्यको इतिहास हेर्दा हामीलाई त्यत्तिको प्रभावकारी र सर्वप्रिय रचनाहरm अरm जँच्दैन, जतिको भानुभक्त कविको नेपाली रामायण ।”
अनुदित हुँदा मूल कृतिमा भएका भवना, लालित्य र सौन्दर्य यथावत रहन्छन् भन्न गाह्रो पर्छ, तर तिनको क्षतिपूर्ति अरm प्रकारले गर्न सक्नु कुशल शिल्पीको कला हो । गद्यको भन्दा पनि पद्यको अनुवाद गर्नु अझ बढी कठिन हुन्छ । कविताको भाषा र शब्द मात्र नभएर गुन्जन, लय र छन्दका सूक्ष्म तथा सुकोमल गतिमा प्रवाह सृष्टि गर्ने भावचेतनाको स्फूरण पनि हो । यसैले कविताको रmपान्तरणमा समस्याको उत्पति गर्ने हुन्छ तर पनि सफल अनुवादकले आफ्नँै माटो र पानीमा भिजेझैँ गरी भाव प्रस्तुत गर्दछ, जुन भानुभक्तले गरेका छन् ।
औपदेशिकता, नैतिकता, भक्तिपरकता, राष्ट्रियता, देशप्रेम,प्रकृतिप्रेम, सौन्दर्य र सुधारात्मकता उनका प्रवत्ति हुन् । नेपाली भाषाका एकीकरणकर्ता, शास्त्रीय छन्दमा सुन्दर काव्य रचना गर्ने श्रष्टा एवं युग द्रष्टा भानुभक्त आचार्र्यमा विशेषतः आध्यात्मिक नीतिचेतना र युगबोधजस्ता विशेषता पाइन्छन् ।

राष्ट्रियतालाई दरिलो पार्ने आधारहरु मध्ये साहित्य पनि एक हो । माटोरmपी भू–खण्डप्रति मुटुरुपी जनताको आस्था र भक्ति जीवन्त नहुन्जेल राष्ट्रियता सशक्त बन्दैन । अतः देशप्रति जनताको आस्था जागररुक गराउने सशक्त साहित्यको खाँचो युगीन आवश्यकताका रुपमा त्यतिबेला मुलुकमा देखापरेको थियो । यसै कारणले गर्दा भानुभक्तले लोकभाषामा मात्र सिमित रहेको नेपाली भाषालाई काखमा राखेर काव्यभाषाका रुपमा अवतरण गराउँदै राष्ट्रिय एवम् जातीय एकताको शङ्खनाद गराएका थिए । नेपाली भाषा र साहित्यको माध्यमबाट राष्ट्रलाई सुदृढ पार्न योगदान दिएका कारण राष्ट्रिय विभूतिका रmपमा दीप्तिमान भएका छन् । जाति, भाषा र काव्यका त्रिवेणी भानुभक्त नेपाली साहित्यका चम्किला भानु हुन् । युगीन आवश्यकताका उपज भानुभक्त आचार्य नेपाली साहित्यका अमूल्य रत्न हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: