नेपाली साहित्यमा डायस्पोराको बहस

  प्रकाशित मिति
२४ पुष २०७२, शुक्रबार ११:५९


damodar
डायस्पोरा शब्दको प्रचलन करिब तिन हजार वर्ष पुरानो मानिन्छ । यहुदीहरूको आम निष्कासनलाई यसले बुझाउँछ । डायस्पोरा शब्द बेबिलोनसँग जोडिएको छ । प्राग ऐतिहासिक कालमा बेबिलोनियामा प्यालेस्टाइन पनि समावेश थियो । इशापूर्व ५८६ मा यहुदीहरूलाई करिब ४० वर्ष बन्दी बनाइएको थियो । त्यहाँबाट मुक्त भएका यहुदीहरू जन्मभूमि छोडेर विभिन्न दिशामा छरिए । सुरुमा आफ्नै देशबाट लखेटिएर विभिन्न देशमा छरिएका यहुदीहरूले आफ्नो समूह बनाए । त्यसैलाई डायस्पोरा भनियो । त्यसैले डायस्पोराको कोशीय अर्थ यहुदीहरूको समूह हो ।
वर्तमान समयमा डायस्पोराको अर्थाेत्कर्ष (अर्थ विस्तार) भएको छ भने डायस्पोरा निर्माणको आधार र स्वरुप पनि फेरिएको छ । सुरुवातमा युद्धबाट लखेटिएकाहरूलाई मात्र बुझाए पनि अहिले यो विभिन्न कारणले आफ्नो देश छोडेर अर्काे देशमा बसेकाहरूको समूहलाई बुझिन्छ । ती अहिले शिक्षा, रोजगार, व्यापार, सेवा, धर्म, राजनीतिक शरणार्थी, द्वन्द्व प्रभावित, स्वेच्छा आदि विविध कारणले निर्माण भएका छन् ।
विविध कारण भए पनि सबैभन्दा ठुलो सङ्ख्या चाहिँ नयाँ सपनाको संसारले तानेकाहरूको छ । यसरी आफ्नाबाट छुट्टिएकाहरू यताबाट फुक्लिनु र उता जोडिन नसक्नु तथा अफूले बनाएको खोपीमा फर्केर आउन नसक्नाले त्यही सानो समाज निर्माण गर्छन् । फुक्लिएर जोडिन नसकेका तिनै सीमान्तहरूको समूह हो डायस्पोरा, जस्तैः बेलायतका नेपाली, आसामका नेपाली, भुटानका नेपाली, अस्ट्रेलियाका नेपाली, अमेरिकाका नेपाली, कतारका नेपाली अदि । त्यसैले विगतको युद्ध मात्र डायस्पोरा निर्माणको आधार रहेन र तिनै लखेटिएका यहुदीहरूको समूह मात्र पनि रहेन । अहिले विश्वका धनी देशहरू कानुनीरूपमै डायस्पोरा निर्माण गरिरहेछन्, गरिब देशका नागरिकहरू अकर्षित भइरहेछन् । समृद्ध र सम्पन्न देशमा गएर सीमान्त समूह बन्नुलाई हामी प्रतिष्ठा बनाइरहेछौँ । त्यसैले डायस्पोरा समाज विश्वभरि थपिँदा छन् ।

नेपालीहरूले पनि सयौँ वर्ष अघिदेखि विविध कारणले प्रवासमा आफ्ना समूहहरू बनाए । छिमेकी देश भारत त परापूर्व कालदेखि नै नेपालीहरूले बनाएको डायस्पोरा हो भने भुटान र बर्मामा पनि शताब्दी अघिदेखि नै राजनीतिक कारणले नेपालीहरूको डायस्पोरा बनेको हो । भुटानी शरणार्थीहरू तेस्रो देश पुनस्र्थापनाबाट युरोप र अमेरिका पुगेका छन् । तिनले पनि त्यहाँ आफ्नो समूहका डायस्पोरा निर्माण गरिरहेका छन् । यसरी आफ्नो मूल थातथलोबाट छुट्टिएर संसारभरि छरिएका नेपालीहरू आफ्नो भाषा, साहित्य, कला, संस्कृतिको संरक्षणमा जुटेका छन् । मनभरि आफ्नो संस्कृति र बाकसमा आफ्ना मौलिक पोसाक राखेर ती बाँचिरहेका छन् । दिनभरि दोस्रो भाषा बोल्ने तिनीहरू सपना भने नेपालीमै देख्छन् । यस्तो अभिघातमा बाँचेकाहरूले साहित्य सिर्जना गरिरहेका छन् । उनीहरूका साहित्यिक कृतिमा वर्णित पारिस्थितिकी, अन्तर्द्वन्द्व, परिचय विहीनता, भय, क्षयीकरण, ऐकान्तिकता, पूर्वस्मृति नै डायस्पोरिक साहित्यका लक्षण हुन् ।

नेपाली साहित्यमा डायस्पोरिक साहित्यका लक्षण भएका कृति धेरै पहिला रचिए पनि ती कृतिलाई केवल सामाजिक यथार्थवादको दृष्टिले मात्र हेरियो । त्यसैले ती कृतिको समय र परिवेश अध्ययन विश्लेषण गरिए पनि त्यहाँको त्रास, संस्कृतिको ठिमाहीकरण, भाषाको व्रिmयोलाइजेसन (ब्रिटिस र चाइनिजबिच व्यापारका व्रmममा अङ्ग्रेज र चिनियाँ भाषाको मिश्रणबाट पिजिन भाषा निर्माण भयो भने त्यही पिजिनलाई मातृभाषाको रूपमा बोल्ने पुस्ताको भाषालाई व्रिmयोलाइजेसन भनिन्छ । यसै अर्थमा दुई भाषाको सम्मिश्रणबाट बनेको नयाँ शब्द भण्डार), संस्कृतिको क्षयीकरण, परिचय विहीनता, खण्डित आत्म विश्वास, भौतिकता प्रतिको लालसा, सम्पत्तिप्रतिको आसक्ति, जीवनप्रतिको भ्रान्ति जस्ता कुरा ती कृतिमा ओझेल परे । त्यसैले हाम्रो साहित्यमा डायस्पोराको लक्षण भएर पनि त्यसको खोजी गर्न ढिलो भयो ।

वि.सं. २०६० पछि मात्र नेपाली साहित्यमा डायस्पोरिक साहित्यको चर्चा सुरू भयो । डा. गोविन्दराज भट्टराईको समालोचनात्मक कृति ‘उत्तर आधुनिक ऐना’ मा प्रथम पटक नेपाली डायस्पोरिक साहित्यको चर्चा गरिएको छ । उक्त कृतिमा भट्टराईले डायस्पोरिक साहित्यको सैद्धान्तिक आधार र नेपाली डायस्पोरिक साहित्यको चर्चा गरेका छन् । त्यसपछि नै यस विषयमा नेपाली साहित्यमा बहस पनि सुरु भयो । साहित्यिक बहस वस्तुवादी हुनुपर्ने आम मान्यता भए पनि वि.सं. १९४८ मा साहित्यकार मोतीराम भट्टको व्यक्तिवादी समालोचनात्मक कृति ‘भानुभक्ताचार्यको जीवन चरित्र’ बाट सुरु भएको हाम्रो समालोचना प्रणाली अहिले पनि व्यक्तिवादी समालोचनाबाट मुक्त हुन सकेको छैन । यस प्रवृत्तिकै निरन्तरतामा डायस्पोरिक नेपाली साहित्य पनि मुछिन पुग्यो । कतिपय समालोचकहरूले डायस्पोरा साहित्यको विमर्श तत्काललाई विदेशमा बसेका नेपालीहरूको भँडास चर्चा गर्ने मात्र साधन हो भने । यसो भन्नेमा अन्तर्राष्ट्रिय साहित्यको अध्ययन नगर्ने कूपमण्डुकहरू अगाडि देखिए । स्पष्ट भन्नुपर्दा अङ्ग्रेजी साहित्यको अध्ययन नगरेकाहरू डायस्पोरिक नेपाली साहित्यको विपक्षमा देखपरे ।

विभिन्न देशमा नेपाली डायस्पोराका साहित्यिक सङ्घसंस्था पनि खुलेका छन् । अन्तर्राष्ट्रिय साहित्य समाजका विभिन्न देशका च्याप्टरहरूले साहित्यिक कार्यव्रmम गरिरहेका छन् । ती क्षेत्रमा रहेका नेपालीहरूले सिर्जना गरेका साहित्यिक कृतिमाथि छलफल चलाइरहेका पनि छन् । नेपालमा नेपाली डायस्पोरिक साहित्यको चर्चा सुरु भएपछि विदेशमा रहेका नेपाली साहित्यकारहरूले पनि यस विषयमा नेपालबाट चर्चा गर्ने साहित्कारहरू झिकाएर बहसका कार्यव्रmमहरू आयोजना गरे ।

यता देशमा नेपाल प्रज्ञा प्रतिष्ठानले डायस्पोरिक साहित्य र संस्कृतिको अध्ययन अनुसन्धान गराउने, अभिलेख राख्ने, तथा छलपल र कार्यपत्र प्रस्तुत गर्ने जस्ता कार्यहरू गर्न थाल्यो । त्रिभुवन विश्व विद्यालय अङ्ग्रेजी विभागले त एमफिल र पिएचडीसम्म डायस्पोरिक साहित्यको अध्ययन अनुसन्धान सुरु गरिसकेको छ । त्यस्तै त्रिवि नेपाली केन्द्रीय विभागले पनि स्नातकोत्तर तहमा डायस्पोरिक साहित्यको अध्यापन सुरु गरेको छ । यसरी डायस्पोरिक साहित्य नेपाली साहित्यभित्रको अलग धारका रूपमा स्थापित भइसकेको छ । यसका लक्षणहरूकै कारण यसलाई छुट्टै अध्ययन गर्नुपर्ने आवश्यकता देखियो ।

डायस्पोरिक साहित्यसम्बन्धी विदेशमा हुने चर्चा कार्यव्रmमलाई वैदेशिक भ्रमणको अवसर भन्ने जस्ता आक्षेप पनि लगाइयो । त्यति मात्र होइन, आख्यानकार मनु ब्राजाकीले त ‘डायस्पोरा ः यहुदीहरूले फ्याँकेको थोत्रो बोरा’ भन्ने लेख लेखेर डायस्पोरा शब्दमाथि नै हेयको दृष्टि राखे । उनले त नेपालीहरूलाई ‘बहादुर’ भने जस्तै हो यहुदीहरूलाई डायस्पोरा भन्ने अभिव्यक्ति दिए । उनले नेपालबाट समालोचक लगेर विदेशमा बस्ने नेपालीहरूले आफ्ना कृतिको अनावश्यक चर्चा गराएको भनेर साहित्यकारहरूलाई आत्माश्लाघी पनि भने । उनको विचारमा डायस्पोरिक साहित्य एउटा लज्जाको विषय भइदियो । ब्राजाकी जस्ता स्थापित आख्यानकारले डायस्पोरा साहित्यका बारेमा दिएको अभिव्यक्तिले बरु उनको कुण्ठातर्फ सङ्केत ग¥यो । त्यो उनका लागि सुहाउँदो थिएन तर यस्तै कुण्ठाग्रस्त अभिव्यक्तिहरूले नै डायस्पोरालाई जबरजस्त नेपाली साहित्यमा अध्ययन र अनुसन्धानको विषय बनायो ।

यता देशबाट लाखौँ जन बाहिरिएका छन् । उनीहरू फुक्लिनु र जोडिन नसक्नुको अभ्यन्तरमा बाँचेका छन् । त्यही पीडा साहित्यमा लेखिरहेछन् । अनि तिनीहरूको साहित्य कमजोर छ भनेर उडाउनेहरूको अग्र मोर्चामा देखिए समालोचक डा. खगेन्द्र लुइँटेल । उनी त प्रवासी नेपालीहरूले त्यहाँको परिवेश तथा जीवनको सङ्घर्षलाई विषय वस्तु बनाएर लेखिएका कृतिलाई सामाजिक यथार्थवाद हो भन्छन् । उनले त डायस्पोरिक साहित्य नै भन्न नहुने तर्क राखेका छन् । सुरुमा लखेटिएका यहुदीहरूको समूहलाई बुझाउने नाम डायस्पोरा हो भनेर उनले त प्रवासी नेपालीहरूलाई तपाईँहरूलाई कसले लखेट्यो ? भन्ने प्रश्न पनि गरेका छन् । वास्तवमा डायस्पोरा भौतिकरूपमा कसैले नलखेटे पनि अन्य विभिन्न कारणले आप्रवासी बनेको अवस्था हो । यसलाई अर्थ विस्तारको रूपमा बुझ्नुपर्नेमा समालोचकले नै बुझ पचाएको देख्दा चाहिँ दया लागेर पनि आउँछ । अनि हाम्रा समालोचकले कृतिमाथि होइन आफ्ना लागि समालोचना गरेको देख्दा टिठ लागेर आउँछ ।

केही महिना अघि अन्तर्राष्ट्रिय साहित्य समाजको बेल्जियम च्याप्टरको कार्यव्रmमा उपस्थित भएका लुइँटेलले त्यहाँ पनि प्रवासी साहित्यकारहरूलाई तपार्इँहरूलाई देशबाट कसले लखेटेको हो ? भनेर प्रश्न गरे । साथै उनले विदेशमा रहेर साहित्य सिर्जना गरिरहेकाहरूको कृति स्तरीय नभएको पनि दोष लगाए । उनी कार्यरत प्राज्ञिक थलो त्रिविले नेपाली केन्द्रीय विभाग स्नातकोत्तर तहमा डायस्पोरिक साहित्यको अध्ययन सुरु गरिसक्दा पनि उनी चाहिँ यसबारे अप्रासङ्गिक तर्क गर्दै हिँडिरहेका छन् । हालसम्म तिन सयभन्दा बढी डायस्पोरा सम्बन्धी कृति प्रकाशित भइसकेको नेपाली साहित्यमा डायस्पोरा अब जबरजस्त अध्ययनको विषय बनेको छ । किनकि डायस्पोरा आधुनिक युग र समाजको जबरजस्त विशेषता हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: