नेपाली सेनाले ‘उपयुक्त समयमा जवाफ दिने’

  प्रकाशित मिति
३ जेष्ठ २०७७, शनिबार ०८:३५


नेपाली सेनाले शिवरात्रीमा गरेको प्रदर्शन । फाइल फोटो

मेचीनगर, ३ जेठ । नेपाली सेनाले उपयुक्त समयमा भारतीय सेनालाई जवाफ दिने भनी प्रतिक्रिया दिएको दिन शुक्रवार दार्चुलाको छाङरुमा सेना पठाएको छ ।

महासेनानीको कमाण्डमा सैनिक टोली छाङरुमा पठाइएको हो । सशस्त्र प्रहरी वलले वीओपी स्थापना गरेकै ठाउँमा सेनाले टोली पठाएको हो ।

नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भनेर भारतीय सेना प्रमुख मनोज नरभानेले विवादास्पद अभिव्यक्ति दिएको विषयलाई नेपाली सेनाले ‘जानकारी’मा राखेको जनाएको छ ।

नेपाली सेनाले उपयुक्त समयमा नरभानेलाई जवाफ दिने पनि सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताएका छन् ।

नरभानेले शुक्रबार एक कार्यक्रममा बोल्दै भारतीय तीर्थयात्रीका लागि खनिएको बाटोमा कुनै पनि विवाद नरहेको पनि बताएका दाबी गरेका थिए । यस विषयमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उपयुक्त मञ्चमा आधिकारिक धारणा व्यक्त गर्ने भनिएको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भनेका छन्, ‘आवश्यकता पर्दा नेपाली सेनाको आधिकारिक धारणा प्रधानसेनापतिले विधि सम्मत ढंगबाट उपयुक्त मञ्चमा व्यक्त गर्नुहुनेछ ।’

भारतले नेपाली भूमि अतिक्रमण गरेर दार्चुलामा सडक निर्माण गरेपछि नेपाली आक्रोशित छन् ।

प्रकरणपछि कालापानी नजिक सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ भने नेपाली सेनाले पनि रेकीका लागि एक विशेष टोली दार्चुला पठाएको हो ।

दार्चुला पुगेको नेपाली सेनाको हेलिकोप्टर ।

सेनाको अपरेसन विभागका एक जना महासेनानीको नेतृत्वमा सेनाले छाङरुमा टोली पठाएको सैनिक स्रोतले बतायो । छाङरु विवादित कालापानी क्षेत्रबाट १२ किलो वरै पर्छ ।

सेनाले त्यहाँको वस्तुस्थितिबारे रेकी गरेको स्रोतले बतायो । टोलीको निष्कर्षका आधारमा केही दिनमै दार्चुलामा सेनाको फौज परिचालन गरिने जंगीअड्डा स्रोतले बतायो ।

भविष्यमा सेनाको टोलीले के–के गर्न सक्छ भन्ने विषयमा पनि दार्चुला पुगेको टोलीले अध्ययन गर्ने जनाइएको छ । सेनाको दार्चुलामा उपस्थितिले सशस्त्र प्रहरीलाई पनि सहज हुने अपेक्षा गरिएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अहिले घाँटीबगर भन्ने स्थानमा ४ सय ५० मिटर सडक निर्माण गर्ने गरी टोली परिचालित हुने बताए ।

पाण्डेले भने, ‘छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक नेपाली सेनाले बनाउँदैछ । त्यसअघि सर्वसाधारणलाई छाङरुसम्म पुग्न घाँटी बगरमा ट्याक खोल्न लागिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: