नेपाली सेनाले दियो जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशिक्षण

  प्रकाशित मिति
१८ बैशाख २०७७, बिहीबार १४:०८


भद्रपुर । कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारको तयारी र योजना सम्बन्धी नेपाली सेनाले प्रदर्शनी गर्नुका साथै जिल्लाका स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण प्रदान गरेको छ ।

श्री नम्बर २१ बाहिनी अड्डाको मातहतमा रहेको ताप्लेजुङ, पाँचथर, इलाम र झापामा नेपाली सेनाले नेपाल सरकारको निर्देशनमा कोभिड १९ को नियन्त्रण तथा उपचार कार्यहरुमा आवश्यक स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी खटाएको बाहिनीपति सहायक रथी डा. आशबहादुर तामाङले बताए ।

उनका अनुसार झापाको कलबलगुढी, इलामको सूर्योदय नगरपालिकास्थित पशुपति नगर प्राथमिक स्वास्थ्य केन्द्र तथा सार्वजनिक आधारभूत विद्यालय, रोङ गाउँपालिकाको शान्ति निकेतन मावि कुटीडाँडालगायतका स्थानमा रहेका क्वारेन्टाइनमा नेपाली सेनाले सुरक्षाफौज खटाएको छ ।

भद्रपुर नगरपालिकामा रहेको कलबलगुढीमा नेपाली सेनाले नै खाना तथा सुरक्षाको व्यवस्था गरेको छ । जुन जिल्लाकै नमूना क्वारेन्टाइन पनि हो । सो क्वारेन्टाइनमा हाल १५ जना विदेशबाट आएका नेपालीहरु रहेका छन् भने २९ जनाले क्वारेन्टाइन अवधि पूरा गरी घर फर्किसकेका उनले बताए ।

सहायक रथी डा. तामाङले क्वारेन्टाइनमा मापदण्ड अनुसार सञ्चालन गर्न आवश्यक पाल तथा खाटहरु समेत उपलब्ध गराएको बताए । कोभिड १९को संक्रमण फैलन नदिन जनताको सुरक्षामा नेपाली सेना अनवरत रुपमा लागि पर्ने उनको भनाई छ ।

सेनाले नम्बर २१ फिल्ड एम्बुलेन्सका डाक्टर तथा स्वास्थ्यकर्मीबाट जिल्लामा रहेका ५० बढी स्वास्थ्यकर्मीहरुलाई कोेरोना भाइरसबाट बच्न अप्नाउनु पर्ने सावधानीका बारेमा समेत प्रशिक्षण प्रदान गर्दै आएको बताए ।

सेनाले केही दिन अघि मात्र चारआलीस्थित श्री नयाँ श्रीनाथ गणको परिसरमा प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की,सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेर, जिल्ला समन्वय समितिका संयोजक, स्थानीयतहका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा अन्तर्राष्ट्रिय सीमा पार गरी नेपाल प्रवेश गर्नेलाई सुरक्षित व्यवस्थापन गर्न सकिने उपायका बारेमा ‘डेमो’ प्रदर्शनी गरेको थियो ।

दक्षिण तर्फको छिमेकी मुलुकमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ भने हाम्रै जिल्लामा दुई जना संक्रमितको संख्या पुगिसक्यो’, सहायक रथी डा. तामाङ भन्छन्, ‘जोखिम बढेमा सावधानीपूर्वक व्यवस्थापन गर्नु अपरिहार्य महसूस गरी हामीले प्रदर्शनी गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: