नेपाल जेसीज ‘निलम्बित’

  प्रकाशित मिति
३१ बैशाख २०७३, शुक्रबार ११:१२


jci-logo-rgbविर्तामोड । अन्तरराष्ट्रिय जेसीज (जेसीआइ वल्र्ड)ले विधानको पालना नगरेको आरोपमा नेपाल जेसीजलाई निलम्बन गरेको छ ।
४० वर्ष उमेर नाघिसकेपछि जेसीजको सदस्य बन्न नपाउने र कुनै पनि पदमा बस्न नपाउने विधानको व्यवस्था उल्लंघन गरेको ठहर गर्दै अन्तरराष्ट्रिय जेसीजले नेपाल जेसीजलाई उसको अन्तर्राट्रिय सदस्यताबाट निलम्बन गरेको हो ।

गत पुस १४ गते महेन्द्रनगरमा सम्पन्न ४२ औँ महाधिवेशनबाट नेपाल जेसीजको अध्यक्ष पदमा निर्वाचित भएका बुटवलका जगतबहादुर पोखरेलले उमेर ढाँटेको पुष्टि भएपछि अन्तर्राष्ट्रिय जेसीजले कार्वाही स्वरुप नेपाल जेसीजको सदस्यता खारेज गरेको हो ।

पोखरेल अध्यक्षको उम्मेदवार बन्नुभन्दा अघि नै ४० वर्ष उमेर पुगिसकेका थिए । उनको वास्तविक जन्म मिति २०३२ साल भदौ १ गते हो । तर उनले एक वर्ष उमेर ढाँटेर आफ्ना जन्ममिति २०३३ भदौ १ गते लेखेका थिए ।

पोखरेलसँग अध्यक्ष पदमा प्रतिष्पर्धा गरेकी पोखराकी संगीता पौडेलले महाधिवेशनलगत्तै नेपाल जेसीज र प्रशासनसमक्ष लिखित उजुरी दिएकी थिइन् । तर नेपालका कुनै निकायले पनि सुनुवाई नगरेपछि पौडेलले अन्तर्राष्ट्रिय जेसीजमा उजुरी पुर्याएकी थिइन् ।

अन्तर्राष्ट्रिय जेसीजले पोखरेलको पासपोर्ट र विदेश भ्रमण ताकाका पहिलेका डकुमेन्ट अध्ययन गर्दा उमेर ढाँटेको ठहर गरेको थियो । अन्तर्राष्ट्रिय जेसीजले पोखरेललाई पद त्याग गर्न र अर्को महाधिवेशन गर्न वारम्वार दवाव दिदा अटेर गरिएपछि अन्तर्राष्ट्रिय सदस्यता नै खारेज गर्ने निर्णय आएको बताइएको छ ।

उजुरीकर्ता संगीता पौडेलले आफुले जेसीजको विधानको मर्यादाका लागि अन्तर्राष्ट्रिय जेसीजमा उजुरी हाल्नु परेको लोकतन्त्र पोस्टसँग बताइन् ।

‘महाधिवेशनको परिणाम आए लगत्तै उमेरको वास्तविकता थाहा पाएपछि मैले नेपाल जेसीज र काठमाडौँ जिल्ला प्रशासनमा उजुरी हालेको थिएँ’, संगीताले भनिन्–‘तर सुनुवाइ गरिएन, म अन्तर्राष्ट्रिय जेसीजमा जान बाध्य भएँ ।’
अन्तर्राष्ट्रिय जेसीजले निलम्वनको अवधि नतोकेको हुँदा अब पोखरेलजीलाई हटाएर नयाँ निर्वाचन गर्ने हो भने नेपाल जेसीजको अन्तर्राष्ट्रिय प्रतिष्ठा जोगाउन सकिने उनले बताइन् ।

स्रोतका अनुसार अन्तर्राष्ट्रिय जेसीजले गत डिसेम्वर २६ मै नेपाल जेसीजलाई सचेत गराउँदै नयाँ निर्वाचन गराउन पत्राचार गरिसकेको थियो । ‘तर अटेर गरिएको परिणाम अहिले बद्नामीको रुपमा भोग्नु पर्यो’–जेसीजका एक नेता भन्छन् ।
महेन्द्रनगर महाधिवेशनमा अध्यक्ष पदका लागि भएको प्रतिष्पर्धामा पोखरेल ६६१ मत ल्याइ विजयी भएका थिए भने पौडेलले ५२१ मत पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: