न्यानो कपडा अभावमा विद्यालय जादैनन् बालबालिका

  प्रकाशित मिति
१९ पुष २०७३, मंगलवार १६:३८


balbalika

दमक । जाडो बढेसँगै झापाका ग्रामीण क्षेत्रका सरकारी विद्यालयमा अध्ययन गर्ने बालबालिका विद्यालय नै जाँदैनन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने सिमान्तकृत, आदिवासी तथा विपन्न समुदायका बालबालिकाहरु न्यानो कपडाको अभावमा विद्यालय जान नसकेका हुन् ।

झापाको दक्षिणी भेगमा पर्ने पॉचगाछी, महाभारा, कोरोबारीलगायतका गाविसहरुमा बसोबास गर्ने सिमान्तकृत, आदिवासी तथा विपन्न समुदायका बालबालिकाहरु जाडोको समयमा विद्यालय नै जाँदैनन् । जाडोमा लगाउने न्यानो कपडा नहुँदा उनीहरू विद्यालय जान नसकेका हुन् ।

दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने यी समुदायका अभिभावकले न्यानो कपडा किन्न नसकेका कारण बालबालिकाहरू जाडो छल्न घरमै बस्ने गरेका छन् । गरिबीको कारण जाडोमा लगाउने न्यानो कपडा नहँुदा अधिकांश विद्यार्थी विद्यालय नआउने, आए पनि चाँडै फर्कने गरेको बालकल्याण मावि महाभाराका प्रधानाध्यापक भोलाप्रसाद खतिवडाले बताए ।

दक्षिणी भेगका यी गाविसमा बैगुन्धुरा स्रोतकेन्द्र अन्तर्गतका १८ वटा सरकारी विद्यालय सञ्चालित छन् । ती विद्यालयमा ३ हजार ६५ जनाभन्दा बढी बालबालिका पठनपाठन गर्छन् । तर, जाडोको समयमा अधिकांश विद्यालयमा विद्यार्थीको उपस्थिति आधाभन्दा कम हुने गरेको छ ।

विद्यालय समयमै सञ्चालन गरे पनि विद्यार्थीहरू ढिलो आउने साथै आउँदै नआउने कारण कतिपय विद्यालय जाडो बढेसँगै बन्द समेत गर्नुपर्ने अवस्था भएको मञ्जुश्री आधारभूत प्राविका प्रधानाध्यापक चन्द्रकला दाहालले बताइन् ।

यी गाविस आदिवासी तथा सिमान्तकृत ताजपुरीया, राजवंशी, सन्थाल, मुसहर , गनगाईलगायतका समुदायको बाहुल्यता भएको क्षेत्र हो । यहाँका सामुदायिक विद्यालयमा प्रायजसो यही समुदायका बालबालिका पठनपाठन गर्ने गरेका छन् । धेरैजसो यी समुदायका बालबालिका नै विद्यालयमा उपस्थित नहुने जनता प्राथमिक विद्यालय पाँचगाछीका प्रधानाध्यापक जयकुमार राजवंशीले बताए । अभिभावकले गरिवीका कारण मौसम अनुसारको न्यानो कपडा खरिद नगरिदिने हुनाले गर्मीको समयमा विद्यालयमा आए पनि जाडोमा कपडाकै अभावले विद्यालय नआउनेको सङ्ख्या उच्च हुने गरेको बैगुनधुरा स्रोत केन्द्रका स्रोतव्यक्ति छवि बस्नेतले स्वीकार गरे ।

उनले यही अवस्थालाई कम गर्न यो वर्षदेखि बैगुनधुरा स्रोतकेन्द्र अन्तर्गतका विद्यालयमा विभिन्न सहयोगी दाताहरु खोजेर न्यानो कपडा वितरणको सुरुवात समेत गरेको बताए । यसले बालबालिकालाई जाडोमा पनि विद्यालय आउन मद्दत पुग्ने र समस्याको समाधान हुने उनले बताए । नेपाल सरकारले सरकारी शिक्षालाई गुणास्तरीय र प्रभावकारी बनाउन विभिन्न अभियानहरु चलाइरहेको पाइन्छ । यसको लागि बर्सेनि राज्यको कोषबाट ठूलो रकम समेत खर्च हुने गरेको छ । तर, यी र यस्तै कारणले अहिले पनि अधिकांश ग्रामीण भेगका विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: