विराटनगर, १२ भदौ । सरकारले निजी हस्पिटललाई कोरोनाको उपचार गर्न दिएको निर्देशनलाई विराटनगरको न्यूरो–कार्डियो एन्ड मल्टिस्पेसालिटी अस्पतालले पालना गरेको छ ।
कोरोना भाइरस संक्रमितको उपचारका लागि न्यूरोले छुट्टै अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ ।
सातवटा आईसीयू र दुईवटा भेन्टिलेटर सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो ।
न्यूरोको विराटनगर–९ महेन्द्र चोकमा रहेको शाखा मदर एन्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरेको न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।
न्यूरो विराटनगरमा निजी क्षेत्रबाट आइसोलेसन सञ्चालन गर्ने दोस्रो अस्पताल हो । यसअघि विराट मेडिकल कलेजले ६० बेडको आइसोलेसन सञ्चालन गरेको थियो ।
भट्टराईका अनुसार न्यूरोको कोभिड अस्पतालमा ५१ बेड राखिएको छ । जसमा ४२ वटा बेड जनरल सेवा, ७ वटा आईसीयू र दुई वटा भेन्टिलेटर छन् ।