बिर्तामोड । झापाको डोमालाल राजवंशी रङ्गशालामा आयोजित झापा जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिताको उपाधि खोपबाडीको न्यूस्टार क्लबले जितेको छ ।
सोमबार सम्पन्न फाइनल खेलमा पृथ्वीनगरको सिरिजङ्गा स्पोर्टिङ क्लबलाई १–० गोलले पाखा लगाउँदै न्यूस्टारले उपाधि रक्षा गरेको हो । उसका लागि सञ्जोग राईले ६१औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । म्यान अफ दी म्याच घोषित राईले पेनाल्टी सुटमा गोल गरेका हुन् ।
विजेता टोलीले नगद २० हजारसहित ट्रफी तथा उपविजेताले नगद १५ हजार र ट्रफीमा चित्त बुझायो । पुस २६ गतेदेखि सञ्चालित यस प्रतियोगिताबाट १२ वटा टिम ए डिभिजनमा रहेका छन् भने ७ वटा टिम बी डिभिजनमा झरेको छ ।
कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फाका केन्द्रीय सदस्य जलकुमार गुरुङ, संघका पूर्वअध्यक्ष बालजित राई, नवोदय शिक्षा सदनका प्रिन्सिपल धर्मराज माझी, फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’, संघका महासचिव केशवराज दाहाललगायतले पुरस्कार प्रदान गरेका थिए ।