शिलबन्दी पानीभित्र जीवितै कीरा

  प्रकाशित मिति
२० जेष्ठ २०७३, बिहीबार १०:५८


20160601_165236

विर्तामोड । दमकबाट उत्पादित ‘न्यू अक्वा ड्र«प’ ब्रान्डको ‘ड्रिङ्किङ् वाटर’को शिलबन्दी बोतलभित्र जीवितै कीरा फेला परेको छ ।
विर्तामोडको मेडिका हस्पिटलमा गर्भवती पत्नीलाई उपचारका लागि ल्याएका विर्तामोड–१ का प्रमोद लुइँटेलले पानी पिउन हस्पिटलकै क्यान्टिनमा बुधवार दिउँसो खरिद गरेको ‘न्यू अक्वा ड्र«प’मा कीरा फेला परेको हो ।

लुइँटेलले बोतलको शिल तोड्नु अघि पानीभित्र कीरा कुदिरहेको देखेको बताए । त्यसपछि उनले लोकतन्त्र पोस्टमा खबर गरे ।
केहीवेर पछि खबर पाएर इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी खड्गबहादुर खत्री स्वयम् क्यान्टिनमा आएका थिए । कीरा भएको शिलबन्दी पानीको बोतल प्रहरीले लगेको छ ।

डीएसपी खत्रीले शिलबन्दी बोतलभित्र कीरा कुदिरहेको छ्याङ्गै देखिएको बताए । ‘आवश्यक कार्वाही अघि बढाइनेछ’–उनले बताए ।
उत्पादन मितिमा ‘मे २०१६’ लेखिएको र ६ महिनासम्म प्रयोग गर्न मिल्ने भनिएको सो पानीको बोतलमा कीरा जीवितै भेटिनु अनौठो भएको छ । बोतलको लेभलमा व्याच नं. ०१० मात्र लेखिएको छ । उत्पादक कम्पनीको नाम ‘सबलाइन बेभरेज इन्डस्ट्रिज, दमक–१५, झापा’ उल्लेख छ । तर कम्पनीको सम्पर्क फोन नं. बोतलको लेबलमा उल्लेख छैन ।

‘पत्नीलाई बेडमा भर्ना गरेर पानी पिउन क्यान्टिन गएको थिएँ’, लुइँटेलले लोकतन्त्रसँग भने–‘बिर्को खोल्नु अघि मेरो आँखा पानीभित्र कुदिरहेको कीरामा पुग्यो ।’

क्यान्टिनमा कार्यरत स्टाफ सञ्जु लिम्बुले पनि त्यो बोतलको पानीभित्र कीरा फेला परेको बताइन् । ‘२५ रुपैयाँ लिएर पानीको बोतल दिएँ’, लिम्बु भन्छिन्–‘कीरा रहेछ भन्दै उहाँ (लुइँटेल)ले भन्नु भयो, मैले पनि यसो हेरे–कीरा कुदिरहेको थियो ।’

लिम्बुले विर्तामोडको गोपाल दाइ नाम गरेका पसलेबाट ‘न्यू अक्वा ड्र«प’ पानी खरिद गरेर विहीवार विहान ल्याएको बताउँदै यो ब्रान्डको पानी पहिलोपल्ट बेचेको बताइन् । पिउने पानीको बोतलभित्र कीरा भेटिनुले ‘न्यू अक्वा ड्र«प’को गम्भीर लापरवाही सावित भएको स्थानीय सामाजिक व्यक्तित्व सुमन शर्मा बताउँछन् । ‘प्रशोधन नगरी असुरक्षित धारा वा ड्रमबाट बोतलमा पानी भरेर शिल लगाइएको हुनसक्छ’–शर्मा आशङ्का गर्छन् । पसलेले लुइँटेललाई पानी बेच्दा लिएको २५ रुपैयाँ फिर्ता गरेका छन् । लुइँटेलले पिउने पानीमा यस्तो गम्भीर लापरवाही गर्ने कम्पनीलाई कडा कार्वाहीको माग गरेका छन् । उनले दोषीलाई कार्वाहीको दायरामा ल्याउन प्रहरी, उपभोक्ता अधिकारसँग सम्बद्ध संस्था, पत्रकार र सचेत नागरिक समुदायसँग अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: