गौरादह,२७ चैत । झापामा रासायनिक मलको अभाव भएको छ । किसानहरुले चैते धान र मकै खेतीका लागि मल मागिरहे पनि सरकारी संस्थानहरुले दिन सकिरहेका छैनन् । अभावले पिरोलिएका किसानहरु कोरोना सल्किने डर पनि नमानी लाइनमा गुजुमुज्ज उभिन थालेका छन् ।
गौरादह–५ को महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले मङ्गलवार ५० बोरा युरिया मल ल्याएको थाहा पाएर बुधवार विहान उज्यालो हुँदा मल लिनका लागि ५०० किसान लामबद्ध भइसकेका थिए ।
‘धेरै किसान भेला हुनुभएको थियो,’ सहकारी संस्थाकी अध्यक्ष मीना ढकालले भनिन्–‘केहीलाई प्राथमिकताका आधारमा बितरण गर्यौं, अरुलाई भोलि पर्सी ल्याएर दिने आश्वासन बाँडेका छौं ।’
यतिखेर किसानले हुर्किदै गरेको मकै र रोप्न थालेको चैते धानमा युरिया मल प्रयोग गर्नुपर्ने हुन्छ । तर लकडाउनले गर्दा बजारमा मल पाइएको छैन ।
गौरीगञ्जस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका भागवत ताजपुरियाले पनि किसानहरुले मागे जति रासायनिक मल उपलब्ध गराउन नसकिएको बताएका छन् । कृषि सामग्री संस्थानबाट ल्याएको ५० बोरा युरिया मल किसानहरुलाई बाँडिसकेको उनले बताए ।
लकडाउनका बेला पनि सरकारले कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङमार्फत रासायनिक मल विक्री गरिरहेको छ । ती सरकारी संस्थानले झापाका १०० वटा सहकारी संस्थालाई मल उपलब्ध गराउँछ । सहकारीहरुले किसानहरुलाई विक्री गर्छन् ।
कृषि सामग्री संस्थानका प्रमुख चन्द्र चौलागाईले लकडाउनको समस्याका बेला समेत संस्थानले सहकारीहरुमार्फत युरिया मल वितरण गरिरहेको बताए ।