पच्चीस विगाह जमिनको धान गर्भैमा कुहिँदा किसान चिन्तित

  प्रकाशित मिति
५ श्रावण २०७७, सोमबार ०७:४९


झापा, ४ साउन । मेचीनगर नगरपालिका–१ स्थित बाहुनडाँगीको सारु गौडा भन्ने ठाउँका किसानले २५ विगाह जमिनमा लगाएको धान मर्न थालेपछि उनीहरु चिन्तित बनेका छन् ।

धान रोपेको महिना दिनमै सुरुमा गुभो कुहिने र पछि बोटै मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । ‘रोपेको १५ देखि २० दिनभित्रमा धान हरियो देखिनु पर्नेमा सबै रातो देखिन्छ’, स्थानीय ४३ बर्षीय किसान सुवेदवहादुर भुजेल टाउकोमा हात राख्दै भन्छन्, ‘गर्भै रोग लाग्यो, सबै धान सखाप भयो अब के खानु ।’

उनीलगायत सारु गौडाका अन्य १० जना किसानले २५ विगाह जमिनमा लगाएको धानमा यो समस्या देखा परेको छ । महंगो खनजोत, मल र विउको प्रयोग गरी रोपेको धान सुकेपछि किसानमा थप चिन्ता बढेको छ । उनले गतबर्ष पनि धानमा सो समस्या देखा परेको र औषधि छिट्दा ठीक भएको बताउँदै भने, ‘धानको गुभोमा लाभ्रेजस्तो किरा देखियो, औषधि छिट्दा समेत मरेन । अगुवा रोपाई थियो दुई विगाह सबै सखाप भयो ।’

उनले तीन विगाह जमिनमा रञ्जित धान लगाएको बताए । दुई विगाह जमिनमा लगाएको धान सखाप भए पनि बाँकी रहेको कसरी बचाउने भन्ने चिन्तामा देखिन्छन् । उनले धानमा कुन रोग लागेको र के औषधि छिट्नुपर्छ भन्ने बारे जानकारी नहुँदा समस्या भएको बताए ।

स्थानीय सरकारको ध्यान कृषितर्फ भन्दा पनि बाटो, पुल, कल्र्भटलगायत भौतिक पुनर्संरचनामा देखिँदा किसानहरु मारमा परेको स्थानीय सामाजसेवी गोविन्द न्यौपानेको आरोप छ ।

कृषकको बालीमा लागेको रोग, मल विउ, प्राविधिक र सिंचाईका समस्यामा स्थानीय सरकारले चासो दिनुपर्ने उनको भनाई छ । ‘किसानलाई प्राविधिक ज्ञान छैन’, उनी भन्छन्, ‘धानमा के समस्या आउँदा कस्तो औषधि छिट्ने भन्ने विज्ञबाट स्थानीय सरकारले बेलैमा तालिम दिएको भए किसान आफैंले सानो तिनो रोगको निदान गर्न सक्थे, आज यस्तो समस्या आउँदैन थियो ।’

कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जिल्लामा कुनै पनि किसानले रोगका कारण धान मरेको जानकारी नदिएको बताए । उनले, ‘हामीसँग विज्ञ प्राविधिक छन्, समस्या बारे जानकारी पाए प्राविधिक पठाएर औषधिको व्यवस्था गर्ने थियौं, के भएके रहेछ मेचीनगरको कृषि शाखामा बुझ्छु ।’––––

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: