पठन संस्कारलाई लकडाउन नगरौं

  प्रकाशित मिति
३ जेष्ठ २०७७, शनिबार ०७:३२


।। विनय कार्की ।।

साजन तामाङ कक्षा १० मा पढ्दै गरेका विद्यार्थी हुन् । साजन फलामे ढोका एसइई परीक्षाको तयारीमा थिए । उनीसँग भोलिबाट सुरु हँुदै गरेको परीक्षा तथा परीक्षा पछिको लामो बिदालाई कसरी सदुपयोग गर्ने भन्ने योजनाहरु पनि तयार थिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत्र ५ गते बसेको बैठकले चैत्र ६ गतेबाट सुरु हुने भनिएको पूर्व निर्धारित एसइई परीक्षाका साथै अरु सीटीईभीटी र विश्वविद्यालय तहका सम्पूर्ण परीक्षाहरु अर्को सूचना नभएसम्म स्थगित गर्ने निर्णय गर्यो । यो सूचना उनलाई उनीसँगै डेरामा बस्ने दाइले दिँदा पत्याएनन् । उनलाई परीक्षा नसरे हुन्थ्यो भन्ने लागेको थियो । उनी परीक्षाका लागि पूर्ण तयार रहेकाले परीक्षा निर्धारित समयमा नै सकियोस् भन्ने चाहन्थ्ये ।

नेपालको संविधान २०७२ को भाग ३ को धारा ३१ मा शिक्षा सम्बन्धी व्यवस्था गरिएको छ । जसमा आधारभूत शिक्षामा हरेक नागरिकलाई पहुँचको हक हुने उल्लेख गरिएको छ । कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको दुई महिना पुग्न लागिसकेको छ । शिक्षा क्षेत्रमा कोरोना कहरको विहङ्गम प्रभाव देखिन्छ । कोरोनाको कारण मुखैमा आएको परीक्षा रोकिएका विद्यार्थीहरुलाई अनिश्चित लामो अन्तरालले सताउन थालेको छ । अभिभावकहरु पनि छोराछोरीको रोकिएको पढाइका कारण चिन्तित छन् । शिक्षक तथा बौद्धिक वर्गहरु माझ अवरुद्ध भएको शिक्षालाई कसरी सुचारु गर्ने भन्ने बिषयमा निकै बहस र छलफल हुन थालेका छन् । लाखै सङ्ख्यामा रहेका अध्ययनरत् विद्यार्थीहरु कोरोनाको प्रभाव क्षेत्रमा छन् ।

नेपाली समाजमा शिक्षा विद्यालयको चार किल्लाभित्र र पाठ्यक्रमका पानाबाट मात्र पाउन सकिन्छ भन्ने मान्यता स्थापित छ । मेरो देशले हाल अवलम्बन गरेको शिक्षा प्रणालीले बिद्यार्थीको लागि ज्ञान र शिक्षाको निश्चित परिधि बनाएको छ, त्यो हो पाठ्यक्रम । कक्षा १० देखि बाहेक प्राथमिक तथा माध्यमिक तहको २०७६ सालको बार्षिक परीक्षा सकिएको छ । परीक्षा सकिएको अवस्थामा विद्यार्थीलाई खासै पाठ्यक्रम पढ्नको लागि दवाव छैन । विद्यार्थीहरुसँग नपढ्ने बहानाको पनि खासै कमी छैन । यस्ता बहानाहरुमा उनीहरु बार्षिक परीक्षाफल प्रकाशित भएकै छैन । नयाँ पुस्तक हाम्रा हात लागेका छैनन् । कक्षा सुरु भएकै छैन् भन्ने जस्ता अनेकै बहाना गर्छन् ।
बिद्यार्थीसँग नपढ्ने बहाना भए जस्तै अहिले अभिभावकसँग पनि छोराछोरीलाई नपढ्दा चित्त बुझाउने बहाना छन् । धेरै विद्यार्थी विद्यालय बन्द भएकोमा खुसी छन् । विद्यालय बन्द हुनु मात्रलाई ठूलो समस्या मान्न पर्दैन । अझ भनौं यो समस्या कोरोनाको जोखिम र त्रास भन्दा ठूलो समस्या हुँदै होइन । समस्या विद्यालय बन्द हुँदा अधिकांश माध्यमिक तहसम्म अध्यायनरत विद्यार्थीहरुको अध्ययनशिलता, शिक्षा आर्जन प्रकृया तथा ज्ञानको खोजी बन्द हुनु हो । ठूलो चुनौती भनेकै लम्बिदै गएको लकडाउनबाट विद्यार्थीहरुको पठनपाठन गर्ने संस्कार जोगाउनु हो ।

नानीलाई चित्रकला सिकाउँदै काँकरभिट्टा निवासी प्रसिद्ध चित्रकार छितेन शेर्पा ।

भनिन्छ २१ दिनसम्म दैनिक कुनै कुरा गरियो भने त्यो बानीको रुपमा बिकास हुन्छ । त्यस्तै पाठ्यक्रम र पुस्तकभन्दा बाहिरका कुरामा दिनको सम्पूर्ण समय विद्यार्थीहरुलाई बिताउन दिने हो भने भोलि पुस्तक समाउन गारो पर्नेछ । विद्यार्थीहरुको पढ्ने लेख्ने बानी जोगाउनु पर्छ । उनीहरुको कुनै बहाना सुनेर अभिभावकले नपढ्न छुट दिन मिल्दैन ।

मेरो देशमा धेरैको लागि विद्यालय बन्द हँुदा शिक्षा बन्द हुन्छ । सरकार, विश्वविद्यालय, शिक्षक तथा यस क्षेत्रका चिन्तकहरुबाट ठप्प भएको बिद्यालय शिक्षाको निकासको खोजी गर्न थालिएको छ । एउटा निकासको बाटो अनलाइन कक्षा सञ्चालन गर्ने भन्ने हो । अनलाइन कक्षाको बिषयमा सामाजिक सञ्जालमा सघन बहस र छलफल भइरहेका छन् । यो निर्णयका समर्थक र आलोचक दुबै देखिन्छन् । कति बिद्यालयले अनलाइन कक्षा समेत सञ्चालन गरिसकेका छन् भने कति गर्ने तयारीमा छन् । प्रविधिको प्रयोग गरेर कक्षा सञ्चालन गर्न थाल्नु स्वागतयोग्य कदम हो । तर, यी विद्यालयले हरेक विद्यार्थीलाई अनिवार्य उपस्थितिको नियममा बाध्न मिल्दैन । नेपाली नागरिकहरुमा वर्गीय विविधता विद्यमान छ । त्यसका बावजुद अधिकांश विद्यालयमा सबै वर्गका विद्यार्थी एकै छातामुनि पढ्दै आएका छन् । त्यसैले विद्यालयहरुले अनिवार्य अनलाइन कक्षामा सहभागी हुनै पर्छ भन्ने नियम बनाउँदा निम्न र मध्यम वर्गका अभिभावकहरुलाई आर्थिक बोझ पर्न जान्छ ।

विद्यालयले अनलाइन माध्यमबाट परीक्षाफल प्रकाशन गरिसकेका छन् । सरकारले पुस्तक पसल खुल्ला गर्ने निर्णय गरेको छ । सहरी क्षेत्रमा अध्ययनरत् केही विद्यार्थीको हातमा अब नयाँ शैक्षिक सत्रको पुस्तक पुग्ने छ । यसले पनि घरमा अभिभावकले केटाकेटीलाई पढ्न लगाउँछन् । साथै विद्यार्थीहरुलाई पनि केही समय पढाइमा मन लाग्ने छ ।

कतिपय ग्रामीण क्षेत्रहरुमा आवश्यक पूर्वाधारको अभावमा पनि धेरै विद्यालय अनलाइन कक्षा सञ्चालन गर्न असम्भब छ । यो सगँै शिक्षकहरुसगँै इन्टरनेट पहँुच नहुनु । अनलाइन कक्षा सञ्चालन गर्न तरिका र सीपको कमी हुनु । अनलाइनमा पढाउने र पढ्ने बानी नहुनुले पनि यो निर्णय सबैका लागि उपयुक्त नहुन सक्दछ । त्यसैले, सिङ्गो देशभरिका माध्यमिक तहसम्म अध्ययनरत् विधार्थीहरुको लागि अनलाइन कक्षा मात्र पठनपाठन सुचारु गर्ने बिकल्प होइन ।

सामाजिक सञ्जालमा यसै विषयसँग सम्बन्धित व्यङ्ग्य चर्चामा रह्यो । त्यहाँ लेखिएको थियो फोन गर्न रुख र डाँडा चढ्नु पर्ने देशमा अनलाइन कक्षा कति सम्भब होला ? सम्भब हुनेले यो उपाय प्रयोग गर्नु सराहनीय हो । यस्ता कक्षामा बस्न असम्भव विद्यार्थीहरुको लागि बिकल्प के होला ? आज लकडाउन हँुदा अनलाइन पढाउन सक्ने विद्यालयले हिजो सामान्य अवस्थामा किन यसको प्रयोग गर्न सिकाएनन् ? आजको विज्ञान र सूचना प्रविधिको युगमा पनि अनलाइन कक्षा सुचारु गर्न कोरोना जस्तो महामारी नै आउनु पर्ने ? किन ? यसले हाम्रा बिद्यालयको स्तरोन्नति गर्न स्रोत र साधन सम्पन्न बनाउन जरुरीे देखाउँछ । कोरोना माहामारीले प्रमाणित गरेको छ हाम्रो देशको शिक्षा प्रणाली समय सापेक्ष छैन । यो शिक्षा प्रणालीको स्तरोन्नति र परिमार्जन गर्न सरकार, शैक्षिक संस्था र अभिभाबकहरु विच सहकार्य हुन जरुरत छ ।

एउटा उपाय घरमै लेखपढ र छलफल
इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीहरुलाई घरमै पनि रचनात्मक तरिकाबाट लेखपढ गराउन सकिन्छ । यो प्रकृया अविलम्ब सुरु गर्नपर्छ । भनिन्छ घर पहिलो विद्यालय हो । त्यसैले अभिभावकले यतिबेला शिक्षकको भूमिका पनि निभाउन पर्छ । लकडाउनले धेरैको समय घर परिवारसँग वितिरहेको छ । लामो समयको लकडाउनले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक गतिविधिमा प्रभाव देखाउन थालेको छ । शिक्षा क्षेत्र पनि यसबाट अछुतो छैन । छोराछोरीको पठनपाठनलाई लिएर अभिभावकमा चिन्ता देखिन थालेको छ । उनीहरुको चिन्ता पनि स्वाभाविक नै हो । माध्यमिक तहमा अध्ययनरत नानीहरुका लागि घर परिवार समाज र सामाजिक संरचना अध्ययन एउटा सजिलो बिकल्प हुन सक्छ । अभिभावकले आफ्ना नानीहरुलाई दैनिक केही समयको लागि घरमै लेख्न पढ्न लगाउनु पर्छ ।

१) साना कक्षामा पढ्ने नानीहरुलाई आफ्नो, आफ्नो परिवारका सदस्य (आमा,बाबा, दाजुदिदी, भाइबहिनी) को बारेमा लेख्न लगाउन सकिन्छ । उनीहरुलाई आफ्नो साथैँ अरु सदस्यहरुको दैनिकी पनि लेख्न लगाउन सकिन्छ । भोलि के गर्ने भन्ने बारेमा सोचेर योजना बनाउन सहयोग गर्न सकिन्छ । परिवारका कुन सदस्यले के गर्दा उनीहरुलाई राम्रो लाग्छ तथा के गरेको राम्रो लाग्दैन छलफल र लेखन गर्न सकिन्छ । उनीहरुलाई आफ्नो रुचिका बिषय, खेल, साथी, शिक्षकहरुको बिषयमा खुलेर लेख्न र बोलाउन सकिन्छ । जे बिषयमा लेख्न मन पर्छ त्यहि विषयमा लेख्न लगाऔँ । सोचेर लेख्न लगाऔँ । कल्पना गरेर लेख्न लगाऔँ । यसले उनीहरुको कल्पना शक्ति र सोच्ने क्षमता विकास गर्न मदत गर्न सक्छ । एक अर्कालाई नजिक ल्याउन भूमिका खेल्छ । पारिवारिक सम्बन्ध सुमधुर बनाउन सकिन्छ ।

२. माथिलो तहमा पढ्ने विद्यार्थीहरुलाई अभिभावकहरुले सामाजिक दुरि र लकडाउनको नियम पालना गर्दै सामाजिक सम्बन्ध, परिवारिक हिसाब, समाज विज्ञान, समाजको इतिहास जस्ता बिषयमा लेख्ने, बुझ्ने र छलफल गर्ने वातावरण बनाउन सक्नुपर्छ । घर परिवार, छिमेक, वरिपरि अवस्थित सामाजिक संरचनाहरु (आमा समूह, वाल क्लव, टोल विकास संस्था साथै धार्मिक संरचना)को विषयमा बुझेर लेख्न लगाऔँ । परिवारको आम्दानीका स्रोत, मासिक आम्दानी, मासिक खर्च गरिने विषयहरुमा उनीहरुमाझ छलफल गर्न सकिन्छ । आफ्नो समाजमा रहेका सामाजिक बिभेद तथा अन्तरद्वन्द्वका उत्पीडनहरुलाई खोजेर लेख्न लगाउन सकिन्छ । लंैगिक भूमिकाको बिषयमा लेख्न लगाऔँ । लेख्न मात्र होइन योजनाहरु बनाउन लगाऔँ । गृहकार्यहरुमा पारिवारिक खर्चका योजना, नयाँ सामाजिक सम्बन्ध कस्तो हुने भन्ने बारेमा छलफल गर्न दिनुहोस् । समाजको विज्ञान, आफ्नो समाजको इतिहास खोज्न लगाऔँ । खोजेर लेख्न लगाअँौ । विकास पूर्वाधारको विकासक्रम, शिक्षाको विकास, स्वास्थ्य क्षेत्र, राजनीतिको परिर्वतन बारे बुझ्ने र लेख्ने वातावरण बनाउन पर्छ । लेख्नमात्र होइन सम्पूर्ण परिवार बसेर लेखिएका बिषयमा छलफल पनि गर्नुहोस् ।

३) उनीहरुले लेखेका लेख पढ्न सक्नुहुन्छ पढ्नुस् । पढ्न सक्नु हुन्न उनीहरुलाई आफै पढेर सुनाउन लगाउनुहोस् । अभिभावकले दिनको दुई घन्टा आफ्ना केटाकेटीको लागि छुट्याउनुस् । उनीहरुले लेखेका बिषयमा छलफल गर्नुस् । लेखहरुलाई सुरक्षित राख्नुस् । छलफललाई सहजीकरण मात्र गर्नुहोस् । उनीहरुलाई हतोत्साहित भन्दा हौसला प्रदान गर्नुहोस् । लेख्ने, पढ्ने र सोच्ने बानीको विकास गर्न सहयोग गर्नुहोस् । नैतिक शिक्षामा पनि जोड दिआंै । घर परिवार समाज गाउँ सबैको साथैँ आफु भित्रको क्षमता चिन्न र खोज्न पनि यो समय सदुपयोग गरांै ।

लकडाउन भएको शिक्षालाई सुचारु गर्नुपर्छ । देश लकडाउन भए पनि शिक्षा लकडाउन हुन हुन्न । अभिभावक र गाउँघरमा रहेका शिक्षक तथा शिक्षित जनशक्तिले रोकिएको शिक्षा सुचारु गर्न पर्छ । दैनिक केही समय पढने बानी आफ्ना नानीहरुलाई लगाऊ । साना कक्षामा पढिरहेका बिद्यार्थीहरुलाई लेख्ने र सोच्ने बानी बसाल्न भूमिका खेलाँै । पढ्न संस्कार जोगाउनु आजको पहिलो प्राथमिकता हो । अनलाइन पढ्न सक्नेले पढौं । जोसँग यसको पहुँच छैन उनीहरुलाई घरमै बसेर पढ्ने वातावरण बनाउन पर्छ । अधिकांश समय टेलिभिजनको पर्दा अगाडि, अनलाइन र मोबाइल गेम, सामाजिक सञ्जाल, घरको काममा समय विताउन थालेका विद्यार्थीहरुलाई लेखपढ गर्न केही समय लगाउनु पर्छ । अनलाइन पढाउन सक्नेले अनलाइन पढाउने नसक्नेले पनि घरमा पढाउनु पर्छ ।
(मेचीनगर, झापा)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: