विर्तामोड । पत्रकार तीर्थ सिग्देलको ‘जीवनको गति’ नामक कृति शुक्रवार विमोचन भएको छ ।
होटल हिकोला हेरिटेजमा आयोजित एक फरक शैलीको कार्यक्रममा प्रगतिशील साहित्यकारद्वय यज्ञराज प्रसाई र सरोज ओलीले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।
न सभापति, न आसनग्रहण, न मञ्चमा अतिथिको उराल । कार्यक्रमका सहभागी सबै अतिथिको रुपमा दर्शक दीर्घामा थिए । उद्घोषक याम विमलीले अग्रज साहित्यकारद्वय प्रसाई र ओलीलाई मञ्चमा केहीबेर निम्त्याए र पुस्तकको लोकार्पण गराए । दर्शकका लागि बोझिलो नहुने किसिमको साधारण र छोटो कार्यक्रम शैलीलाई सहभागीले रुचाएका थिए ।
कृतिकार सिग्देलले पत्रकारिताको दुई दशकमा समाजका भोगाइहरूलाई पुस्तकका पानामा उतारेको बताउँदै कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
जिल्लाका प्रतिष्ठित साहित्यकारहरू, सामाजिक व्यक्तित्वहरू, नेपाली सेनाका गणपति खेमनारायण पौडेल, पत्रकारहरू र सहकारीकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको विमोचन कार्यक्रममा प्रमुख अतिथि प्रसाई र विशेष अतिथि ओलीले पुस्तकका विषयमा विचार राखेका थिए ।
दुबै अतिथि बक्ताले ‘जीवनको गति’ एउटा पठनीय कृति रहेको जनाउँदै यसले झापाको राजनीतिक इतिहासको उत्खनन गरेको बताएका थिए ।
कार्यक्रममा पत्रकार मोहन काजीले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै पुस्तकको विशेषता बारे चर्चा गरेका थिए ।