पतिको उपचार खर्च जुटाउन टेम्पोको सहारा

  प्रकाशित मिति
२६ बैशाख २०७४, मंगलवार १३:२७


shanta rai 1

अर्जुनधारा । दुबै मिर्गौला खराब भएर विगत एक वर्षदेखि डायलासिस गरिरहेका पतिको उपचार खर्च जुटाउन अर्जुनधारा–७ की २६ वर्षीया शान्ता राईले टेम्पो हाँक्ने साहसिक निर्णय लिएकी छन् ।

आर्थिक अवस्था ज्यादै नाजुक भएकी शान्ताका पति भूपिन राई (३६ वर्षीय)को दुबै मिर्गौला खराब छ । दाताबाट आर्थिक सहयोग जुटाएर उनको उपचार भइरहेको छ ।

सातामा ३ पटक डायलासिस गर्नु पर्ने अवस्था भएका भूपिनलाई उपचार सहयोग जुटाउन स्थानीयले युवा नेता चतुर्भुज काफ्लेको संयोजकत्वमा ‘भूपिन राई बचाउ अभियान’ गठन गरेका थिए । सोही अभियानबाट सङ्कलित रकमबाट टीभीएस कम्पनीको टेम्पो आइतवार खरिद गरिएको हो ।

‘सँधैभरि चन्दा मागेर मात्र साध्य नभएपछि उहाँ (पति)को उपचार खर्च जुटाउन भाडाको टेम्पो चलाउने निर्णय लिएकी हुँ’–लोकतन्त्रसँग शान्ताले भनिन् ।

सहयोग जुटाउन गठित समितिले विगत ६ महिनामा १६ लाख रुपैयाँ सङ्कलन गरेको थियो । काठमाडौँ, धरान र विर्तामोडमा लगातार जाँच तथा उपचार गर्दा खर्च भएर अब समितिसँग बैङ्कमा ११ लाख रुपैयाँ मात्र बाँकी रहेको संयोजक काफ्ले बताउँछन् ।

बारम्बार सहयोग नजुट्ने र दीगो श्रोतको खोजी नगर्दा भएको ढिकुटी पनि रित्तिने भएकाले बेलैमा आय आर्जनको बाटो पहिल्याउँदै भूपिनकी पत्नी शान्तालाई टेम्पो किनेर दिइएको काफ्लेले बताए ।

दुबै मिर्गौला खराब भएका भूपिन राई यलम्बर टाइम्स साप्ताहिकका सम्पादक दिपीन राईका भाइ हुन् । भूपिन आफु मजदुरी काम गर्थे । दुबै मिर्गौला खराब भएपछि परिवारकै हालत खराब भइरहेको छ ।

हाल विर्तासिटी हस्पिटलमा सातामा तीन पटक डायलासिस गराइरहेका भूपिनलाई मिर्गौला प्रत्यारोपणका लागि दाताको मिर्गौला म्याच हुन सकेको छैन । पत्नी शान्ता र आफन्तहरुले एउटा मिर्गौला दान गर्न मञ्जुर हुँदा समेत रगत परीक्षण गर्दा म्याच नभएको बचाउ अभियानका सदस्य चन्द्र लाफा मगर बताउँछन् ।

मिर्गौला प्रत्यारोपण हुन नसक्ने अवस्था भएकाले समितिले हाल उठेको सहयोग रकम परिवारका सदस्यहरुलाई हस्तान्तरण गर्न चाहेको थियो । तर परिवारको सल्लाहमा दीगो आर्थिक स्रोतको पहिचान गर्ने क्रममा त्यही रकमबाट टेम्पो किन्ने निधो भएको हो ।

टेम्पोको बजार मूल्य ५ लाख ३५ हजार रुपैयाँ हो । तर सहारा नेपालले २५ हजार छुट गरिदिएकाले शान्ताले ५ लाख १० हजारमा टेम्पो पाएकी छन् । आइतवार शान्ता र भूपिन दुबैजना विर्तामोड गएर टेम्पो किनेर ल्याएका छन् । विर्तामोडबाट अर्जुनधारासम्म भूपिन आफैले टेम्पो हाँकेका थिए ।

सोमवार विहानैदेखि अर्जुनधारा र शनिश्चरे बजारमा शान्ताको सेतो टेम्पो निकै चर्चाको विषय बन्यो । यात्रुहरुले उनलाई माया गरे । ‘पहिल्यै दिन यात्रुको निकै चाप भयो, घरि शनिश्चरे घरि भाङवारी कुदेको कुद्यै छु’, टेम्पो चलाउनमा व्यस्त शान्ताले सोमवार दिउँसो हर्षित मुद्रामा लोकतन्त्रसँग भनिन्–‘पहिलोपल्ट टेम्पो कुदाएकी हुँ, तैपनि खासै गाह्रो भएको छैन ।’

टेम्पो कुदाएर दैनिक एक हजारदेखि पन्ध्र सय रुपैयाँसम्म आम्दानी हुने शान्ताको अपेक्षा छ । त्यसबाट उनले सातामा ३ पटक पति भूपिनको डायलासिस र परिवारको भरणपोषण खर्च पुर्याउनु पर्छ । उनीहरुका एक छोरी सगुन १० वर्षकी छन्, उनी कक्षा ४ पढ्छिन् । छोरा तान्छोप्पा ६ वर्षका छन्, उनी एलकेजीमा पढ्छन् ।

शान्ताका अनुसार विहानै उठेर परिवारका सबैलाई भात तिहुन पकाएर मात्र उनले टेम्पो लिएर बजारतिर आउने रुटिन बनाएकी छिन् । भूपिनले छोराछोरीलाई भात खुवाएर स्कुल पठाउने जिम्मेवारी लिएका छन् । भूपिन अरु काम गर्न स्वास्थ्यका कारण सक्दैनन् । बेलुका शान्ता छिटै घर फर्किन्छिन् ।

भूपिनसँग २०६१ सालमा शान्ताको विहे भएको थियो । इलामको दानावारी माइत भएकी उनका भागी विहे भएको हो । एसएलसीभन्दा कम पढेकी शान्ताले परिवारको अवस्था कमजोर भएकै कारण वैदेशिक रोजगारीका लागि कतार पनि जानु परेको थियो । तर भूपिनको अवस्था ज्यादै नाजुक भएपछि ७ महिना कतार बसेर उनी नेपाल फर्किन् र उपचारमा ढुक्कै जुटिन् ।

भूपिन बचाउ अभियानका संयोजक काफ्लेले अब टेम्पो चलाएर गरेको आम्दानीले भूपिनको उपचार र परिवारको पालनपोषणमा मनग्ये मदत पुग्ने आशा गरिएको बताए ।

मेरो एफएमका प्रबन्ध निर्देशक तथा पत्रकार कुमार भट्टराई शान्तको साहस अनुकरणीय रहेको र यसबाट दीगो आयआर्जनको उपाय निस्किएको धारणा व्यक्त गर्छन् ।

‘चन्दाबाट उठेको पैसा खर्च हुँदै जाँदा सकिदै जाने र किड्नी फेर्न पनि नमिल्ने भएपछि दीगो आम्दानीका लागि योभन्दा राम्रो अर्को उपाय नै थिएन’–पत्रकार भट्टराई भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: