पति बचाउन दुबईमा गार्ड

  प्रकाशित मिति
१८ चैत्र २०७२, बिहीबार ०५:२३


 

manoj (2)ज्यामिरगढी । वैदेशिक रोजगारीमा जाने अधिकांशको पैसा कमाउने सपना हुन्छ । त्यो पैसाले आरामसँग जीवन जिउने अर्थात घर–घडेरी जोड्ने आकांक्षा नहुने को होला र ! मलेशिया जाउन् वा कतार, दुवई जाउन् वा अस्ट्रेलिया, सबैको उस्तै उस्तै रहर हुन्छ । विदेश हानिनेहरूको भीडमा एउटी यस्ती महिला पनि छिन्, जसको सपना पैसा कमाउने त हो, तर त्यो सम्पूर्ण कमाई उनी आफ्नो विरामी पतिको उपचारमा लगाउन चाहन्छिन् ।

ती महिला हुन् ज्यामिरगढी–९ गोमनसरीकी पूजा भण्डारी राउत । उनका पति ३२ वर्षीय मनोज (शेरबहादुर) राउत दुवै मिर्गौला ड्यामेज भएर गम्भीर विरामी परेका छन् । तीन वर्ष अघि मनोजको मिर्गौलामा रोग देखिए पछि कहिले भारतको भेलोर र कहिले भद्रपुर र काठमाडौँमा उपचार गराउँदा गराउँदै घरको भएभरको जेथो सिद्धियो । अरु उपाय नभएरै उनी आफ्ना पतिको उपचारमा रकम जुटाउन वैदेशिक रोजगारीमा जान वाध्य भएकी हुन् ।

‘श्रीमानलाई बचाउनु मेरो धर्म हो भनेरै म विदेशमा पैसा कमाउन गएकी हुँ’, दुवईमा सेक्युरिटी गार्डमा काम गर्ने उनी भन्छिन्–‘अहिलेसम्म जति कमाए, त्यो उहाँको डायलासिस गर्नमा खर्च गरेँ ।’ अब उनी अरु आर्जन पतिको मिर्गौला प्रत्यारोपणमा खर्चिने योजनामा छिन् ।

१३ महिनासम्म दुवईमा सेक्युरिटी गार्ड काम गरेर पन्ध्र दिने विदामा यसै साता घर फिरेकी पूजाले विदाको नेपाल बसाईमा मनोजको मिर्गौला प्रत्यारोपण गर्ने सोच बनाइन् । तीन वर्षदेखि भद्रपुरको ओमसाई पथिभरा हस्पिटलमा डायलासिस गराइरहेका मनोजको स्वास्थ्य अवस्था धराप बन्दै गएकाले उनी अब मिर्गौला नै प्रत्यारोपण गर्ने निधोमा पुगेकी हुन् ।

‘उहाँलाई अब मिर्गौला प्रत्यारोपण नै गर्नु पर्छ भन्ने सोचेर विदेशबाट फर्किएकी हुँ’, उनी भन्छिन्–‘सबैको साथ सहयोग लिएर म उहाँको उपचार सम्भव गरेरै छाड्छु ।’

विदेशबाट आउनासाथ उनले घरका सदस्य, आफन्त र गाउँलेसँग मिर्गौला प्रत्यारोपण गर्ने विषयमा सल्लाह गरिन् । सबैले साथ दिने बताए पछि उनी यसै साता पति मनोजलाई काठमाडौँ लगेर सरकारी हस्पिटलबाटै मिर्गौलाको प्रत्यारोपण गराउने तयारीमा जुटिसकेकी छन् ।

‘पतिको उपचारका लागि विदेशसम्म पुगेर पैसा कमाएर ल्याउने उनको हिम्मत प्रशंसनीय छ’, ज्यामिरगढीका समाजसेवी अरुणकुमार बुढाथोकी भन्छन्–‘अब हामी सबैले उनको हिम्मतमा सहयोग पुर्याउन जरुरी छ ।’

गाउँलेले पनि पूजाको योजनामा पुरै सघाएका छन् । गाउँलेहरूको हालै आयोजित एक भेलाले राजन भट्टराईको संयोजकत्वमा १ सय ५१ सदस्यीय ‘मनोज बचाउ समिति’ गठन गरेको छ । समितिले मिर्गौला प्रत्यारोपणका लागि चाहिने १५ लाख रुपैयाँ जुटाउन सहयोग सङ्कलन अभियान सुरु गरिसकेको छ ।

अभियानमा ज्यामिरगढीवासी, झापा जिल्लावासी र मुलुकका विभिन्न ठाउँबाट मात्र नभएर विदेशबाटा समेत सहयोग जुट्न थालिसकेको अभियानका संयोजक भट्टराई बताउँछन् ।

पूजा १३ महिना अघि विर्तामोडको फ्युजन ओभरसिजमार्फत १ लाख ७ हजार रुपैयाँ तिरेर दुवई पुगेकी हुन् । उनी त्यहाँको एउटा कम्पनीमा सेक्युरिटी गार्डमा काम गर्छिन् । उनको मासिक कमाइ ३५ हजार रुपैयाँ छ । खान र वस्नमा अति कम खर्च गरेर उनले अधिकांश कमाई पति मनोजको उपचारमा लगाउन बचत गर्दै आएको बताइन् ।

‘डायलासिस गर्न घरको जेथोले पुगेन, चन्दा मागेर कति पुर्याउनु भन्ने लागेर म विदेश गएँ’, विदामा घर फिरेको बताउँदै उनी भन्छिन्–‘मिर्गौला प्रत्यारोपणमा निकै दिन लाग्ने भएकाले अरु १५ दिन विदा थप्ने प्रयास गर्दैछु ।’ उनी मिर्गौला प्रत्यारोपण सिध्याएर फेरि दुवई नै फर्किने बताउँछिन् ।

मनोजलाई उनका फुपाजु अनिल तिम्सिनाले प्रत्यारोपणका लागि एउटा मिर्गौला दान दिने भएका छन् । फुपाजुको सहयोगले मनोजको उपचारमा ठूलो सहयोग पुग्ने भएको छ ।

पूजाको मनोजसँग २०६२ सालमा विहे भएको हो । हाल उनीहरूको एउटी ९ वर्षकी छोरी प्रकृति छिन् ।

विहे पछिका उनीहरूका दिनहरू हाँसिखुशी नै वितिरहेका थिए । घरको अवस्था कमजोर भएकाले पूजासँगको सल्लाहमै मनोज २०६९ सालमा वैदेशिक रोजगारीमा गए । कतारमा बस्दाबस्दै मनोज विरामी भए । जाँच गर्दा उनको मिर्गौलामा खरावी देखियो । उनलाई कम्पनीले घर फर्काइदियो ।

त्यसपछि मनोजको विभिन्न अस्पतालमा उपचार गरियो । व्यथा निको भएन, झन् बढ्यो ।
‘मैले जीवनमा यस्तो घटना बेहोर्नु पर्ला भनेर कल्पनासम्म गरेकी थिइन’, पूजा पुराना दिन सम्झिदै भनिन्–‘तर, सोचे जस्तो हुँदोरहेनछ जीवन ।’ पूजाका पति मात्र होइन, देवर र जेठाजु समेत वैदेशिक रोजगारीमै गएका छन् । उनीहरूले पनि हालसम्मको डायलासिस लगायतको उपचारमा लाखौँ खर्च व्यहोरेका छन् ।

पूजाको घरमा वृद्धा अवस्थाकी सासु विष्णुमाया राउत छिन् । ससुराको ५ वर्ष अघि नै सडक दुर्घटनामा निधन भएको थियो । वृद्धा आमा विष्णुमायाले पनि छोरा मनोजको जीवन बचाइदिन सबैसँग आग्रह गरेकी छिन् ।

पूजाले पतिको उपचारका लागि विदेशसम्म गएर देखाएको मायाबाट परिवारका सदस्य मात्र होइन, गाउँलेहरू पनि प्रसन्न छन् । मनोज बचाउ अभियानले आर्थिक सहयोग जम्मा गर्नका लागि धुलावारीको ग्लोवल आइएमई बैङ्कमा २३०७०१०००३३८८ नम्वरको खाता खोलेको छ । दाताले सोझै खातामा सहयोग जम्मा गर्न पनि सक्ने छन् ।

…………..

बाह्र वर्षे विश्वराजलाई ब्रेन ट्युमर
दिपेन लावती

शान्तिनगर । ब्रेन ट्युमरको अप्रेसन गर्न उपचार खर्चको अभावमा यहाँका एक वालक जीवन मरणको दोसाँधमा रहेका छन् ।
ब्रेन ट्युमरबाट पीडित शान्तिनगर–१ अमरबस्तीका १२ बर्षीय विश्वराज केरुङलाई बचाई सहयोग गरी दिन उनका बुबा लक्ष्मीप्रसाद केरुङले सबैसँग आग्रह गरेका छन् ।

उनका अनुसार ३ महिना अघि सामान्य उल्टी भए पछि नजिकैको क्लिनिकमा देखाइएको र पछि टाउको दुख्ने समस्या थपिएकाले बिर्तामोडका केहि अस्पतालमा देखाइएको थियो ।

बिर्तामोडको एक अस्पतालले बिराटनगरस्थित न्युरो अस्पतालमा देखाउन सुझाव दिए पछि त्यहाँ जाँच्दा ब्रेन ट्युमर पत्ता लागेको विश्वराजका वावुको भनाई छ ।

सामान्य खेती किसानी गर्दै आएका केरुङ परिवारले हालसम्म उपचारमा १ लाख ५० हजारभन्दा बढि खर्च भइसकेको र काठमाडौँस्थित टिचिङ अस्पतालले उपचारमा ६ लाख खर्च लाग्ने बताए पछि उपचारमा समस्या आएको हो ।

छोराको उपचार खर्च जुटाउन अहिले लक्ष्मीप्रसाद सहयोग खोज्दै विभिन्न ठाउँमा पुगिरहेका छन् ।
गणेश माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत् बालक मेहनती र जेहेन्दार रहेको विद्यालयले जनाएको छ । वालकको उपचारमा छिमेकी चन्द्र धमाला र कुलप्रसाद रिजाल पनि लागि परेका छन् ।

अस्पतालले पनि जति चाँडो छिटो अप्रेसन गर्नु पर्ने बताए पछि रकम जुटाउन लागी परेको चन्द्र धमाला बताउँछन् । उपचारका लागि यतिका रकम आवश्यक परे पछि देश तथा विदेशमा रहेका दाजुभाइसँग सहयोग गरिदिन अनुरोध गरिएको धमालाले बताए ।

सहयोगको लागि नेपाल वैङ्क लिमिटेड शाखा बुधवारेमा लक्ष्मीप्रसाद केरुङको नाममा खोलिएको खाता नं. १२५०००००७००८ मा स्वेच्छिक रकम जम्मा गरी सहयोग गर्न सकिने धमालाले बताए ।

………………

खर्च नभएर मुटुरोगीको विचल्ली
सन्तोष शर्मा

विर्तामोड । शनिअर्जुन–९ सालबारीका मुटुरोगी तिलोचन खनालले सहयोगको याचना गरेका छन् ।
बुधवार पत्रकारसँगको भेटमा आर्थिक अवस्था कमजोर रहेका ३५ वर्षीय खनालले सहयोगको याचना गरेका हुन् ।

विगत सात वर्षदेखि उनी मुटु रोगबाट ग्रसित छन् । ०६५ सालमा मोटरसाइकल दुर्घटनामा परेपछि स्वास्थ्य जाँचका व्रmममा मुटुमा समस्या रहेको डाक्टरले बताएपछि थाहा पाएको उनले बताए ।

सोही समयदेखि उनले डाक्टरकै सल्लाह बमोजिम औषधि सेवन गर्दै आएका छन् । ‘डाक्टरले औषधि खाँदा निको हुन्छ भनेको थियो’, खनालले भने–‘औषधि खाएको सात वर्ष भयो, तर व्यथा बढेको बढ्यै छ ।’

हालै धरानको घोपास्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेकजाँच गर्दा तुरुन्तै मुुटुको एउटा भल्ब फेर्नुपर्ने र अर्को सफा गर्नुपर्ने डाक्टरले बताएपछि उनको परिवारमा दुःखको बाढी आएको छ ।

दुई महिनाभित्र भल्ब फेरिसक्नुपर्ने डाक्टरले बताएको उनले सुनाए । उनको उपचारमा करिब ६ लाख रुपैयाँ खर्च लाग्ने डाक्टरले बताएको उनकी श्रीमती कमलाले बताइन् । घरमुली नै थलिएपछि घरमा खुसी हराएको कमलाले सुनाइन् ।

तिलोचनको एक्लो कमाइले उनको चार जनाको परिवारको लालनपालन हुँदै आएको थियो । स्थानीय सरकारी विद्यालय महारानीगञ्ज मावि सालबारीमा उनका दुई छोरा अध्ययनरत छन् । सालबारीमा डेरा गरी बस्दै आएका खनाल परिवारको नाममा न त जग्गा छ, न त ओत लाग्ने आफ्नै घर । विर्तामोडस्थित बजरङ्ग मेडिकल हलमा सहयोगी काम गर्दै आएका उनी दुई सातादेखि काममा आउन सकेका छैनन् ।

आर्थिक अवस्था नाजुक भएकाले बेलैमा राम्रो उपचार गर्न नसकेको तिलोचन बताउँछन् । ‘कमाएको पैसा घर व्यवहारमै ठिक्क हुन्थ्यो’, उनले भने–‘उपचार गर्ने पैसा कहाँ जुटाउनु ?’ उनले आफ्नो उपचारका लागि सहयोग गरिदिन सहयोगी मनहरूलाई गुहारेका छन् ।

हाल उनका छिमेकीले समेत उनको उपचारका लागि गाउँघरमा रकम जुटाइरहेका छन् । हालसम्म २५ हजार रुपैयाँ गाउँलेले सहयोग उठाएर दिएका छन् । त्यही रकम लिएर उनी बिहीवार काठमाडौँस्थित गङ्गालाल हृयदरोग निवारण केन्द्र जाँदैछन् । उनको उपचारका लागि सहयोग गरिदिन शनिअर्जुन नगरपालिकाले समेत सिफारिस गरिदिएको छ ।

तिलोचनको उपचारको सहयोगका लागि कमलाको नाममा रहेको नेपाल बैङ्कको खाता नम्बर ०८८–१०–१३२४२१ मा पनि रकम जम्मा गर्न सकिनेछ । साथै, सहयोगी दाताले तिलोचनको मोबाइल नम्बर ९८४२७५३१२७ र ९८१४९५९४२३ मा सम्पर्क गरेर पनि रकम दिन सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: