पत्रकारको डायरी : भुङ्ग्रोमा झै बित्यो मेचीको कोभिडमा ३२ घण्टा

  प्रकाशित मिति
२४ कार्तिक २०७७, सोमबार १४:३०


।। गणेशमान मुखिया ।।

कार्तिक १७ गते विहान २ बजे र ४.३० बजे दुईपल्ट स्वास फेर्न गाह्रो भो । अक्सिजनको मात्रा अक्सिमिटरमा हेरे ९० भन्दा तल ८९ मा छ । दुईपल्ट नै पन्ध्र पन्ध्र मिनट अक्सिजन आफैले लगाए २ अंकमा ।

स्वास्थ्यकर्मी जीवन चम्लागाईलाई विहान ६ बजे फोन गरें र समस्या बताएँ । उहाँले तुरुन्त कोभिड अस्पताल मेची आउनु अक्सिजनको ब्यवस्था गरौंला भन्नु भयो । सिम्सिम् पानी परी राखेको थियो । डब्बल रेनकोट लगाएर बाइक चलाएरै १७ किलोमिटर टाडा मेची अस्पताल एक्लै ७ बजे विहान पुगे ।

औषधी पाइयो । घरमा जे खाइरहेको थिएँ त्यही औषधी पाइयो । दिन छिपिदै गयो । त्यही समस्या म मा बढ्न थाल्यो । समाचार सम्प्रेषण गर्न जाँदाको कोभिड अस्पतालको अवस्था र पोजिटिभ विरामी भई जाँदाको अवस्था फरक पाएं । पहिले पुरुष विरामीको लागि पूर्वपट्टि र महिला विरामीको पश्चिम पट्टि बस्ने ब्यवस्था थियो । तर एकसय विरामी बस्ने क्षमता भए पनि म पुग्दा २ महिला र ६ पुरुष गरी जम्मा ८ जना थिएँ । अक्सिजन पाइपबाट सप्लाई गर्न धमाधम दुई जना प्राविधिक पीपीई लगाएर काम गर्दै थिएँ ।

दिउँसो ४ बजेतिर फोक्सोलाई सजिलो बनाउन २ वटा इन्जेक्सन स्वास्थ्यकर्मीले लगाई दिए । पानी प्रशस्त पिउने र प्रत्येक दुईदुई घण्टामा वाफ लिने क्रम जारी राखे । अक्सिजन मात्रा कम हुनसाथ तातोपानी धारधुर बनाउँदै पिउने क्रम बढाउन थाले ।

पानीमा अक्सिजन मात्रा वढाउँदै पिउँदा धेरै रिलिफ हुन्थ्यो । मलाई रातीको समयमा स्वास फेर्न साह्रै गाह्रो हुने । ६ रात सुत्न सकेको थिइन ।

कोभिड अस्पतालमा पनि समस्या त्यही मात्र होइन झन् वढी हुन थाल्यो । कोभिडको विरामीलाई अक्सिजन वढी चाहिन्छ । तर अस्पतालमा हावा खेल्ने ठाउँ नै छैन । राती १२ बजे स्वास फेर्न गाह्रो भो । आफैले २ लेभलमा ३० मिनट अक्सिजन लगाएँ । पुनः विहानपख पनि अक्सिजन आफै लगाएँ ।

विहान ६ बजेबाट ७ बजेसम्म ६ पटक डाइरिया भयो । मलाई लाग्यो ताप्केबाट उफ्रेको माछा भुङ्ग्रामा । कति छिटो यहाँबाट बाहिर निस्कने त्यही मेरो भलाई छ भन्ने लाग्यो । चिकित्सकलाई सोधे । मलाई रेमडेसिभिर भेक्सिन चाहियो भनें । चिकित्सकलाई रेमडेसिभिर भ्याक्सिन चाहियो भनें । रियाक्सन हुन सक्छ आइसीयू र भेन्टिलेटर नभएकोले भ्याक्सिन लगाउन गाह्रो हुने बताउनु भयो ।

रेमडेसिभिर भ्याक्सिन चाहियो भनि वीएन्डसी अस्पतालमा सम्पर्क गरें । हुन्छ भन्ने जनाउ पाएपछि कोभिडबाट डिस्चार्जको प्रक्रिया अगाडि बढाइयो । चिकित्सकलाई सीटी भ्यालुसहितको पीसीआर रिपोर्ट चाहिन्छ भने । स्वाव परीक्षण ११ बजे दिएर अस्पतालबाट हिँड्ने तयार गरे ।

दिउँसो ३ बजे मेचीबाट निस्के । पुनः बाइक चलाएर विर्तामोडस्थित बीएन्डसी अस्पताल भर्ना भइयो । त्यहाँ पनि संक्रमितसँगै बस्ने वेड तयारी थियो । सवै सामान त्यही राखेर तातोपानीको वाफ लिइसकेर आराम गर्दै थिए । अस्पतालबाट चिकित्सकको बधाई आयो, मुखियाजी बधाई छ । पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । त्यो वाक्य सुन्ने वित्तिकै ५० प्रतिशत मलाई जाति भएको अनुभव भयो । तत्काल त्यहाबाट छुट्टै क्याविनमा सरे ।

त्यसपछि छातीको सीटी स्क्यान गरे । फोक्सोमा हल्का दाग देखियो । भोलिपल्ट साँझ डिस्चार्ज भई घर आइयो । अहिले घरमै झोलिलो र तागतिलो प्रोटिनयुक्त खाना खाइराखेको छ । दैनिक ३ पल्ट तातोपानीको वाफ लिइराखेको छ । तातोपानी त पिउनै पर्यो ।

अयोध्याबाट राजा दशरथले रामलाई वनवास पठाए । लक्ष्मणलाई वनवास नपठाए पनि लक्षमण दाइ रामको साथ लागेर वनवास गए । रामको हर सुखदुःखमा साथ दिए लक्ष्मणले । मैले पनि लक्ष्मणको रुपमा भाइ (इन्द्रजित मुखिया एनटीभी सम्बाददाता) पाएको छु । कोरोना पोजिटिभ भएदेखि सवै सामान जुटाइदिने र तलाई जसरी नि बचाउँछु भन्ने भाइ । विद्यालयका सहपाठी एवम् डा. लक्ष्मीप्रसाद मैनाली । विहान, दिउँसो र बेलुका दैनिक ३ पल्ट अवस्थाको वारेमा फोन गर्ने । कोभिड अस्पतालका डा. गोविन्द कँडेल र डा. रामबाबु खड्का, स्वास्थ्यकर्मी जागेश्वर यादव, जीवन चाम्लागाई, भाइ एलवी मुखिया, सहकर्मी महाप्रसाद खतिवडा जहिले भन्नु हुन्थ्यो, अक्सिजन मात्रा घट्दा हल्का रुपमा नलिनु तुरुन्त चिकित्सकसँग परामर्श गर्नु भन्नु हुन्थ्यो ।

त्यस्तै न्यूज डेक्सबाट समेत हौसला आउँदा आफुलाई धेरै हल्का भएको महशुस हुन्थ्यो । कोरोना कहरबाट सवै सचेत रहौं । कसैले पनि हल्का रुपमा नलिउँ ।

(लेखक गणेशमान मुखिया कान्तिपुर टेलिभिजनका झापा रिपोर्टर हुन् । यो उनको कोरोना संक्रमणका बेलाको अनुभूति हो ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: