दुई वर्ष अघि कान्छी छोरी जन्मिएपछि बुट्टावारीस्थित सडक किनारको मलामी चौतारोमा आश्रय लिन पुगेका गाइने लोकबहादुर गन्धर्वको सानो परिवारसँग सम्पत्ति भन्नु लगाएको झुत्रे कपडा मात्र थियो ।
माघे जाडोमा थोत्रे कपडाको बेरा लगाएर चिसो चौतारोमा सिउसिउ गर्दै नवजात शिशु बोकेर कामिरहेकी सुत्केरी मनमामाया चेम्जोङलाई देखेपछि कान्तिपुर र जनसंसद् दैनिकमा पत्रकार पर्वत पोर्तेलले समाचार लेखे–‘चौतारोमा सुत्केरी’ ।
दयालु मनहरू पग्लिए, देशबाट मात्र होइन, विदेशबाट गन्धर्वलाई सहयोगको ओइरो लाग्यो । लुगा कपडा, अन्नपात र सिरक डसना थुप्रिए, नगद निकै जम्मा भयो । पत्रकार पोर्तेल र स्थानीय व्यक्तिहरूलाई लाग्यो–‘उठेको पैसाले गाइनेको परिवारलाई एउटा घर बनाइदिउँ ।’
सडक विभागलाई के भयो कुन्नि, गाइने बस्ने चौतारो भत्काइदियो । गन्धर्व बस्ने पुरानो टहरो हटेपछि रमाएका जग्गा प्लटिङवालाले चिल्लो सडक बनाए । गन्धर्व परिवार नयाँ छाप्रोमा बस्न थाल्यो । एक वर्ष बित्दा पनि गन्धर्वको घर नबनेकोमा पत्रकार पोर्तेल चिन्तित भए । उनले घर बनाइदिने अभियान छाडेनन् ।
विर्तामोड–५ मा ५ धुर जग्गा किनियो । युथ एक्सन झापाका स्वयम्सेवकहरू आफै जुटे घर बनाउन । होलो ब्लक जुट्यो, बालुवा र गिटी जुट्यो, जस्ता पाता र काठ पनि जुट्यो । अनि बन्यो चिटिक्क परेको नयाँ घर ।
२०७२ माघ २८ गते विहीवार गाइने दाइलाई नयाँ घरमा भित्र्याउने साइत जुर्यो । राजमार्गको किनारबाट सिटी रिक्सा चढेर गाइनेको परिवार (लोकबहादुर गन्धर्व, उनी अबोला पत्नी मनकुमारी चेम्जोङ र दुई छोरी) डेढ किलोमिटरको दूरीमा नवनिर्मित घरमा पुग्यो ।
जो जन्मिदा समाचार बनेको थियो, पत्रकार पोर्तेलले गाइने दाइकी उनै कान्छी छोरीको नाम राखिदिएका छन्–‘कान्तिपुर गन्धर्व’ । घरको नाम पनि कान्छी छोरीकै नामबाट राखिएको छ–कान्तिपुर गन्धर्वको घर ।
उत्तर बरण्डा फर्किएको दुई कोठे चिटिक्क परेको घरमा गाइने परिवारले यो समाचार पढ्दासम्ममा दुई रात विताइसकेको हुनेछ । होलो व्लक, काठ र जस्ता पाता प्रयोग गरेर बनाइएको घर भूकम्प प्रतिरोधी र न्यानो छ । नजिकै बाथरुम र ट्वाइलेट छ । छानामा सोलार प्यानल जडान गरिएको छ । सोलार बत्तीले घरका कोठा उज्यालिएका छन् । कोठामा एउटा खाट र अर्को पलङ छ । आँगनमा पानीकल छ ।
दङ्ग छ गाइने परिवार । शुव्रmवार विहानै नयाँ घरमा यो पङ्तिकार पुग्दा गाइने दाई आँगनको छेउमा ढुङ्गाको चम्को जोडेर झिटाले आगो फुक्ने सुरसार गर्दैथिए । ट्याइलेट गएर फर्किएकी मनकुमारी पानीकल पेलेर साबुनले हात धुँदै थिइन् । दुई छोरीहरू सुकुलमा बसेर घाम ताप्दै थिए ।
हात धोइसकेपछि मनकुमारी बाथरुम बाहिर राखिएको ऐनातिर गइन् र चिहाइन् । ऐनामा उनी मुस्कुराएको प्रतिबिम्ब प्रस्टै देखिन्थ्यो । ऐना अग्लो ठाउँमा राखिएको रहेछ । गाइने दाइ गएर ऐना अलि तर सार्दिए । मनकुमारीले आफ्नो हँसिलो अनुहार ऐनामा निकैबेर हेरिरहिन् ।
दाताले जुटाइदिएको घरमा पुगेका गाइने परिवारको भविष्य निकै सुखद्, आशलाग्दो र उत्तिकै चुनौतिपूर्ण छ । बर्षौदेखि खोला किनारमा दिसा पिसाव फेरिरहेका उनीहरू ट्वाइलेट रुम प्रयोग गर्न थालेका छन् । एकान्त छाप्रोमा बस्ने बानी परेका उनीहरूले अब छिमेकी पाएका छन् ।
हिजोसम्म दाताले ल्याइदिएका बोराका बोरा दाल चामलले छाक टार्दै आएकोमा अब सारङ्गी रेटेकै भरमा जिउनु पर्नेछ । घर जग्गा समेत जोडिदिए पछि दाताहरू फेरि दाल, चामल र कपडा बोकेर नआउन सक्छन् ।
गाइने दाइ मदिराप्रेमी छन् । बोल्न नसक्ने उनकी पत्नी मनमायालाई भात पकाउने मेलो आउँदैन । साना छोरीहरूलाई हुर्काउने दायित्व उनीहरूले मिलेर पूरा गर्नु पर्नेछ । उनीहरू मैनबत्ती जल्ने छाप्रोबाट सोलार बल्ने महलमा प्रवेश गरेका छन् । आधुनिक जिउने कला सिक्नु पर्नेछ ।
आशा र भरोसा भनेकै गाइने दाइका दुई छोरी हुन् । ६ बर्षकी ठूली छोरी तुलसा अब विद्यालय जानेछिन् । कान्छी कान्तिपुर टुकुटुकु हिड्ने भएकी छन् । उनीहरूले पढ्ने अवसर पाए भने मात्र गाइने परिवारको जुनी फेरिनेछ ।