विर्तामोड । झापाका पत्रकार महिलाहरू पत्रकारितासँगै अतिरिक्ति समयमा फुटबल खेलप्रति आकर्षित भएका छन् ।
एक साता अघि मेचीनगरमा नागरिक वडा मञ्चले आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगिताबाट मैदानमा डेब्यु गरेको पत्रकार महिला फुटबल टोलीले मङ्गलवार अर्को प्रतियोगितामा अनुभव साट्न पुग्यो ।
पत्रकार पुरुषहरू मात्र यस अघि मैत्रीपूर्ण फुटबल प्रतियोगितामा समावेश हुने गरेकामा पत्रकार महिलाको सहभागिताले थप रौनक बढाएको छ ।
रेडियो, टीभी, पत्रिका र अनलाइनमा व्यस्त रहने पत्रकार महिलाहरू अब जर्सी र बुट लगाएर ग्राउन्डमा पुग्न थालेका छन् ।
नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको स्मरणमा राष्ट्रिय प्रजातिान्त्रिक महिला सङ्गठनले मङ्गलवार विर्तामोडको वाल्मिकी एजुकेसन फाउन्डेसनको मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।
मैदानमा पत्रकार महिला टोलीको कप्तानी विराट एफएमकी प्रबन्ध निर्देशक लीला अनमोल र राप्रम सङ्गठन टोलीको कप्तानी आयोजक सङ्गठनको २ नं. क्षेत्रीय कमिटी अध्यक्ष मुना बिस्टले गरेकी थिइन् ।
अत्यन्त रोचक प्रतिष्पर्धामा पत्रकार महिला टोली उपविजयी बनेका थिए । पत्रकारविरुद्ध राप्रम सङ्गठन टोली २–० गोलले विजयी बनेको थियो ।
सो फुटबल खेल हेर्न राप्रपा झापाका अध्यक्ष अम्बर विष्ट, सचिव केशव ओझा, उपाध्यक्ष तथा खेलकुद विभागका संयोजक कल्याण खड्का, राप्रम सङ्गठनका जिल्ला अध्यक्ष राधा कार्की, सदस्य रञ्जु प्याकुरेल, पार्टीकी जिल्ला सदस्य शारदा रिजाल, जिल्ला सहसचिव रुकमान लावती, अग्रज मानकुमार लिङ्देन, विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम कार्की, पार्टीका भद्रपुर अध्यक्ष बाबुराम पराजुली, सङ्गठनकी मेचीनगर अध्यक्ष सुनिता शर्मा, नेपाल उद्यमशिल महिला सङ्घ विर्तामोडकी उपाध्यक्ष सीता थापा, पत्रकार महासङ्घको पूर्व केन्द्रीय सदस्य मोहन काजी लगायतको उपस्थिति थियो ।
पत्रकार महिला फुटबल खेलाडीहरू दोस्रोपटक मैदानमा उत्रिए पनि उनीहरूले हालसम्म कुनै तालिम र अभ्यासको अवसर पाएका छैनन् ।
खेलकुदले स्वास्थ्य र सामाजिक सद्भावमा सकारात्मक प्रभाव पार्ने भएकाले पत्रकार महिला टोलीलाई फुटबल सम्बन्धी थप तालिम र अभ्यासको अवसर प्रदान गर्न सके टोलीले उत्कृष्ट प्रस्तुति देखाउने विश्वास गर्न सकिन्छ ।