पत्रकारिता र साहित्यका सतिसाल

  प्रकाशित मिति
२४ असार २०७६, मंगलवार ०९:२७


अशोक अधिकारी

भद्रपुर । भगवान गौतम बुद्धले भनेका छन्–‘जीवन मिल्यो यो भाग्यको कुरा हो । मृत्यु हुनु समयको कुरा हो । तर, मृत्यु पश्चात पनि मानिसको मनमस्तिष्कमा जीवित रहनु चाहिँ असल कर्मको कुरा हो ।’

वास्तवमै असल कर्मले मानिस सधैंभरि याद गर्ने बनाउँछ । र, असल मानिसले गरेका काम पनि कुनै न कुनै रुपमा हाम्रो समाजले फेरि प्राप्त गर्ने अपेक्षा राखेकै हुन्छ ।

नेपाली पत्रकारिता र साहित्य विधामा आधा शताब्दीभन्दा लामो समय कलम चलाएका वरिष्ठ पत्रकार नकुल काजी पाण्डे पनि यस्तै पात्र हुन्, जसको कामलाई हाम्रो समाजले खोजी गरिरहन्छ ।

अर्थात् उनले लेखेका पुस्तक हुन् अथवा सम्पादन गरेका अखबार हुन्, अहिले पनि हजारौं पाठकका मनमस्तिष्कमा ताजै छन् । कुनै समय पूर्वी नेपालमा एकल साम्राज्य बनाएको विवेचना दैनिक अखबारको लामो अवधिसम्म प्रकाशन÷सम्पादन उनैले गरे ।

त्यसमा त्यति बेला प्रकाशित हुने खुराक अध्ययन गर्ने बानी परेको आमपाठक आज पनि पत्रिका भनेकै विवेचना भन्छन् ।

सम्पादक नकुल काजीले पत्रिका छाडे पनि उनले पत्रकारिताको सेवा छाडेका छैनन् । अझै सक्रिय छन् । पत्रकारिता र साहित्यको क्षेत्रमा उनको कलम अविचलित रुपमा चलिरहेको छ । उनको कलमको यात्रा बुढ्यौली उमेरले रोकिएको छैन ।

कयौं झापाली पत्रकारका गुरु, मार्गदर्शक वरिष्ठ पत्रकार नकुल काजी के गर्दैछन् ?

‘म अहिले धार्मिक–अध्यात्मिक पुस्तक पढ्दैछु, पहिल्लो छ महिनामा मैले चार पटक हिन्दु धर्मशास्त्र महाभारत पढिसकेँ,’ काजीले भने–‘अध्यात्मको गहिरो अध्ययनमा लागेको छु ।’

साहित्यकार नकुल काजी अध्ययन मात्रै गर्दैनन् । अध्ययन गरिसकेपछि समग्र समाजको अध्ययनलाई पनि जोडेर पुस्तकको रुप दिन्छन् । त्यही पुस्तकको सिर्जनाका लागि उनी अध्ययनको जमर्को गरिरहेका छन् ।

‘नेपालमा २३ वटा धर्म बजार खोज्दै आएका रहेछन्’, उनले आफ्नो अध्ययनबारे प्रष्ट पारे–‘नेपालमा रेमिट्यान्सबाट ८ अर्ब आउँछ, तर धर्मका नाममा २४ अर्ब बाहिर फ्याकिँदोरहेछ ।’

धर्मका नाममा उनले निरन्तर समाजलाई चुस्ने प्रवृत्तिविरुद्ध कमल चलाउने कोसिसमा रहेको खुलाएका छन् ।

साहित्यकार नकुल काजी पुस्तक लेखनसँगै अखवारी लेखनमा पनि व्यस्त हुन्छन् ।

झापाका उत्कृष्ट दैनिक पत्रिकाहरूमा उनी साप्ताहिक रुपमा धारणा पस्किने गर्छन् । उनको विचार कलुसित राजनीतिविरुद्ध हुन्छ, धर्मका नाममा हुने व्यापार र खोक्रो आडम्बरविरुद्ध हुन्छ ।

‘हो, सत्य एक्लै भए पनि बहुमतमा हुन्छ,’ उनी भन्छन्– ‘जनहित मेरो सरोकार हो, समाजको शुद्धिकरण मेरो लेखनको ध्येय हो ।’

वि.सं. २०१९ सालमा ‘यौवन–तृष्णा’ कविता सङ्ग्रह प्रकाशित गर्दा उनको उमेर १७ वर्षको थियो । पछिल्लो उपन्यास ‘घरहरु भत्किरहेछन्’ प्रकाशित गर्दा निर्भिक साहित्यकार नकुल काजीद्वारा लिखित कृतिको सङ्ख्या १९ पुग्यो ।

उनी अब धार्मिक पुस्तकको तयारीमा छन् । १३ वटा पत्रिका सम्पादन गरेका काजीका अप्रकाशित ५ वटा कृति तयार अवस्थामा छन् । निरन्तर अध्ययन र लेखन कार्यमा संलग्न काजीले घरको पूर्वपट्टिको कोठालाई कार्यालय बनाएका छन् ।

पहिलो पटक जाने जो कोहीले पनि उक्त कोठालाई लाइब्रेरी रहेछ भनेर सम्झिन्छ । वरिपरि ठूल्ठूला किताब राखेर बसेका काजीले पछिल्लो पटक बजारमा आएका अधिकांश पुस्तक छिचोली सकेका हुन्छन् । ‘कतिपय पुस्तकमा भाषा शैली र प्रस्तुति बिजोक छ,’ उनको टिप्पणी छ–‘नेपाली भाषा र साहित्य लथालिङ्ग पारिसके ।’

हरेक विषयवस्तुलाई आलोचनात्मक रुपमा हेर्नु पत्रकारको धर्म हो । पत्रकार नकुल काजीको स्वभाव पनि त्यस्तै छ । उनी कहिल्यै कुनै राजनीतिक दलको कार्यकर्ता बनेनन् । ‘त्यसैले म पटक–पटक ठगिएको छु,’ उनले भने–‘राजनीतिक दलको कार्यकर्ता नभए यहाँ कामको सम्मान नगर्ने प्रकृति मौलाएको छ ।’

शब्दमार्फत तिखो टिप्पणी गर्न माहिर पत्रकार नकुल काजीलाई कसैले चाकडी गरेको मन पर्दैन । उनले पनि ६ दशक लामो पत्रकारिता यात्रामा कसैको चाकडी गरेनन् । कसैको प्रलोभनमा परेर समाचारको तथ्यलाई तोडमोड पनि उनले गरेनन् ।

‘पैसा बोकेर आउँथे, र समाचार नलेख्न आग्रह गर्थे, यस्ता कयौँ घटना छन्,’ उनले प्रष्टयाए–‘हामीले पत्रकारिताको मर्यादा नाघेनौं, कसैको प्रलोभनमा पनि परेनौं ।’

निष्पक्ष समाचार लेखेकै निहुँमा उनलाई पटकपटक जेल हालियो ।

तर, सत्तिसालझै अडिएका काजीले पत्रकारिताको अविचलित यात्रा रोकेनन् । कलमको निबबाट निस्किएको गोलीसँग ठूल्ठूला पञ्चायती शासक पनि डराउँथे उनीसँग । काजी यस्ता पत्रकार हुन्, जोसँग पञ्चायती कालका ठूल्ठूला शासक आँखामा आँखा जुधाएर हेर्न सक्दैनथे ।

वि.सं. २०२२ सालमा दार्जीलिङको पुष्प–पल्लव साहित्यिक पाक्षिकको सम्पादनबाट पत्रकारितामा प्रवेश गरेका पत्रकार नकुल काजीले दार्जीलिङकै आवाज समाचार पाक्षिकमा पनि काम गरेका थिए ।

झापा जिल्ला पञ्चायतको मुखपत्र पञ्चायतको सम्पादन गरे ।

विवेचना साहित्यिक मासिक, विवेचना साप्ताहिक, जनध्वनि साप्ताहिक, शनिबार साप्ताहिक, वरुण साप्ताहिक, झापा एक्सप्रेस दैनिक, इस्टर्न इको अङ्ग्रेजी साप्ताहिक आदिको सम्पादनमा जीवनको लामो समय खर्चिएका पत्रकार काजीले वि.संं २०५० देखि २०६५ सम्म विवेचना दैनिक अखवारको सम्पादन गरे ।

त्यसपछि पनि पूर्वी प्रतिध्वनि साप्ताहिकको सम्पादन गरेका काजीको जीवन धेरै आरोह अवरोहले भरिएको छ ।

भारतीय पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामले भनेका छन्–‘मानिसलाई कठिनाईको आवश्यकता पर्छ किनभने सफलताको आनन्द उठाउनका लागि यसको जरुरी छ ।’

वास्तवमै २०२४ सालमा झापा आएपछि उनको परिवारले केही षड्यन्त्र पनि झेल्यो । तर, अब्दुल कलामले भनेझैँ कठिनाई पछि उनले आनन्दको अनुभूति गर्न अवश्य पाए । उनले आफू जन्मिएको ताप्लेजुङको सावादिन पनि सम्झिँए ।

तमोर र कावेलीका किनारबाट आमाबुवाको काखमा दार्जीलिङ गएको पनि सम्झिँए । ‘मलाई याद त छैन,’ नकुल काजीले भने–‘जन्मेको ३ महिना १० दिनमै ताप्लेजुङ छाडेकाले बाल्यकाल दार्जीलिङकै कुलुबुङस्थित भालुडाँडामा बित्यो ।’

दार्जीलिङका पत्रकार गुमानसिंह चाम्लिङको प्रेरणाबाट पत्रकारितामा प्रवेश गरेका नकुल काजीले सुरुवाती जीवनमा नक्सलवादी आन्दोलनका बारेमा रिपोर्टिङ गरे । नक्सलवादी आन्दोलनका अभियन्ता कानु सन्थाल, चारु मजुम्दार, जगल सन्थालले पनि उनलाई राम्रो व्यवहार गर्थे । यसरी नै उनको पत्रकारिता क्रमशः अघि बढ्यो ।

‘दबंग’ शैलीका पत्रकार नकुल काजी १२–१३ वर्षको उमेरमा दियो पत्रिकामा प्रश्नोत्तर स्तम्भमा आफ्नो नाम प्रकाशित हुँदा फुरुङ्ग भएको अहिले पनि सम्झिन्छन् । १५ वर्षको उमेरमा पश्चिम बङ्गाल पत्रिकामा व्यथा कविता प्रकाशित भएपछि उनी औपचारिक साहित्यिक यात्रामा प्रवेश गरे ।

जीवन प्रश्न कथा सङ्ग्रह पनि २०१९ सालमै प्रकाशित भयो । मुना खण्डकाव्य, सागर, समस्या, शान्ति र गौरी उपन्यास, विद्रोह बोल्छ खण्डकाव्य, सगरमाथाको शान्ति सन्देश मनोविश्लेषण, उपन्यास क्रान्तिको पहिलो चरण, हास्य–व्यङ्ग्य गणतन्त्र र गौथलीको बाऊलगायत १९ वटा कृति प्रकाशित भइसकेका छन् ।

साहित्यमा नाटक बाहेकका सबै विधामा कलम चलाइसकेका नकुल काजीले पत्रकारितालाई मूल कर्म बनाए । साहित्य र पत्रकारिता बाहेक उनले अर्को कुनै काम गरेनन् । पत्रकारितालाई समाजसेवाको एउटा पाटो भन्न रुचाउँछन्, पत्रकार नकुल काजी ।

पत्रकारका रुपमा सधैं आदर्शवान, कर्तव्यनिष्ठ र निर्भिक काजीले सत्य र न्यायलाई कहिल्यै छोडेनन् । आज पर्यन्त उनी आफ्नो अडानमा दृढ छन् । आफ्नो कुरालाई तार्किक रुपमा प्रस्तुत गर्नु र बौद्धिक तथ्यका आधारमा समाधान गर्न खोज्छन्, पत्रकार काजी ।

सरकारी होस् वा निजी कुनै पनि कर्मचारी सीमित अवधिमा सेवा निवृत्त हुन्छ । ‘तर, पत्रकारको कलम जिन्दगीभरि चल्नुपर्छ,’ उनी भन्छन्–‘पत्रकारको धर्म नै कलमसँग खेल्ने हो ।’

(यो समाचार चर्चित पत्रकार अशोक अधिकारीले शुभदिन अनलाइनमा लेखेका हुन् । हाल उनी नेपालन्यूज अनलाइनमा कार्यरत छन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: