मेचीनगर, ३ असोज । नेपाल पत्रकार महासंघ, १ नं. प्रदेश समितिको कार्यालय आजदेखि आफ्नै नवनिर्मित भवनमा सरेको छ ।
विराटनगर–५ मा बन्दै गरेको भवनमा संविधान दिवसको अवसर पारेर शनिबार आफ्नै नवनिर्मित भवनमा कार्यालय सारिएको हो । यसअघि महासंघको कार्यालय भाडामा बस्दै आएको थियो ।
प्रदेश सरकारको सहयोग तथा विराटनगर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरि कार्यालय सारिएको पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष बिक्रम लुईटेलले जानकारी दिए ।
चारतले भवन निर्माण गर्ने लक्ष्य राखेर निर्माण प्रारम्भ गरिएको भवन निर्माणाधिन अवस्थामै छ ।
महानगरपालिकाले उपलब्ध गराएको एककठ्ठा जग्गामा एककरोड लागतमा भवन सम्पन्न गर्ने योजना रहेको महासचिव विवेक गौतमले बताए । महासचिव गौतमका अनुसार अहिलेसम्ममा लगभग ७३ लाख रुपैयाँ खर्च भइसकेको छ ।
मुलुक संघीयतामा गएसँगै संघीय संरचना अनुसार प्रदेश समिति गठन गरेको महासंघका ७ भुगोल र ३ विषेश प्रदेश समितिमध्ये आफ्नै भवन बनाउने प्रदेश समिति १ नंं. पहिलो बनेको छ ।