पत्रकार सहारा उपचार कोषमा सहयोग जुट्दै

  प्रकाशित मिति
३० कार्तिक २०७९, बुधबार १६:३२


झापा, ३० कात्तिक । पत्रकारको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले १ करोडको लक्ष्यसहित स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ६४ लाख रुपैयाँ जम्मा भएको छ ।

कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा घाइते भएको अवस्थामा उपचार खर्च समेत उपलब्ध गराउन थालिएको महासंघ झापाले जनाएको छ ।

सहारा नेपाल साकोससहित विभिन्न सहकारी संस्था, विद्यालय, सामाजिक तथा व्यवसायिक संस्थाले कोषमा रकम सहयोग गरेका हुन् । व्यक्तिगत रुपमा समेत पितृको स्मृति, जन्मोत्सव तथा विवाहउत्सव लागायतका सन्दर्भमा दाताहरुले दिएको सहयोगबाट कोषमा सो रकम जम्मा भएको हो ।

पत्रकारको उपचार तथा दीगो हितका लागि कोषलाई सहयोग गर्ने सबै दाताहरुप्रति महासंघले धन्यवाद ज्ञापन गरेको छ । महासंघले कोषलाई एक करोड पुर्याउने लक्ष्य हासिल गर्न सहयोगका निम्ति सबै पक्षलाई अपिल पनि गरेको छ ।

महासंघका सदस्यले समेत उक्त सुविधा लिन न्यूनतम ३ हजार शुल्क तिरेर कोषमा आवद्ध हुनुपर्ने व्यवस्था छ । महासंघको अघिल्लो साधारणसभाले पारित गरेको कार्यविधि अनुसार पत्रकारले कोषमा एक पटक आवद्धता शुल्क बुझाएपछि पुनः बुझाउनु पर्दैन । महासंघले बिरामी तथा घाइते पत्रकारलाई यसअघि दिईदै आएको उपचार खर्चमा वृद्धि गरेको छ ।

झापाका बिरामी तथा घाइते पत्रकारलाई ‘क’ ‘ख’ र ‘ग’ गरी तीन वर्गमा विभाजन गरी क्रमशः २० हजार, १५ हजार र १० हजार उपचार खर्च दिईदै आएको थियो । उपचार कोष कार्यविधि संसोधन गरी अब ३० हजारसम्म उपचार खर्च दिन निर्णय गरेको छ ।

त्यस्तै पत्रकार महिला सुत्केरी हुँदा यदि शल्यक्रिया गर्नुपर्ने भएमा २५ हजार रुपैयाँ उपचार खर्च महासंघले कोषमार्फत उपलब्ध गराउने निर्णय गरेको छ ।

महासंघले सदस्यको मृत्यु भएमा परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने समेत निर्णय गरेको छ । कोषको ब्याजबाट प्राप्त हुने रकमबाट तत्कालका लागि सो सहयोग प्रदान गरिने र भविश्यमा कोष वृद्धि हुँदै जाँदा सुविधा रकम पनि बढाउदै लगिने बताइएको छ ।

महासंघ झापाको सिफारिसमा उपचार खर्चको आधारमा जिल्लाका पत्रकारहरुले महासंघ केन्द्रीय समिति र प्रेस काउन्सिलबाट समेत उपचार खर्च पाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: