पदीय सम्मान

  प्रकाशित मिति
१७ कार्तिक २०७५, शनिबार ०९:५३


भनिन्छ अरुलाई सम्मान गरे मात्र आफूले पनि सम्मान पाइन्छ । सम्मानको मूल मार्ग नेपाली संस्कारमा नमस्ते शब्दबाट प्रारम्भ हुन्छ । सानाबाट ठुलाहरुलाई आफुले आदर गन्र्ने व्यक्तिहरुप्रति गरिने असल व्यवहार नै सम्मानको खुड्किला मान्न सकिन्छ । आ–आफ्ना भिन्न जाति, भाषा, संस्कृति आस्थाको आधारमा पनि सम्मान प्रकट गरिन्छ ।

सामाजिक घटनाक्रम र परिवर्तनको निम्ति शिक्षा, सूचना, नैतिकता, न्याय, सुरक्षा, प्रशासन, कला, धर्म, संस्कृति, उत्पादन उपभोग आदि क्षेत्रमा गरिएको योगदान प्रति खेलेको भूमिका स्वरुप गरिने सम्मान सामाजिक विकासमा सहयोग पुग्ने सम्मानको अर्को पक्ष र विशेषता पनि छ । सम्मान प्राप्तिकै निम्ति मानिस सामाजिक सम्बन्धलाई हरेक दृष्टिले बलियो बनाउन चाहन्छ । समाजमा आफूलाई स्थापित गर्न चाहन्छ । आफुलाई सबैले चिनुन्, अरुभन्दा सम्मानित भएर बाचौँ भन्ने चाहना राख्दछ । एउटा सचेत र कर्तव्यनिष्ठ नागरिक सामाजिक, राजनीतिक तथा आर्थिक प्रतिस्पर्धाको आधारमा समाजमा स्थान बनाउन चाहन्छ त कोही जबरजस्त अराजकता पैदा गराएर आफूलाई प्रतिष्ठित र अब्बल हुँ भन्ने बनाउन चाहन्छ ।

अर्कोतर्फ जिम्मेवारी र पदले पनि मानिसले आफैमा सम्मानित स्थान ग्रहण गरेको हुन्छ । धार्मिक, प्रशासनिक, राजनीतिक, प्राविधिक, न्यायिक आदि क्षेत्रमा पदीय नेतृत्व गरेका व्यक्तिहरुलाई समाजले स्वत सम्मानित स्थान प्रदान गरेको हुन्छ । जस्तैः डाक्टर, इन्जिनियर, धर्मगुरु, सरकारी सेवाका कर्मचारी÷हाकिमहरु, सुरक्षा निकायका व्यक्तिहरु, जनप्रतिनिधि तथा राजनीति नेतृत्वहरु आदि सम्मानित पदको रुपमा हेरिन्छ । उनीहरुको योगदानले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । जसले गर्दा उक्त पदहरु आफैमा सम्मानित भएका छन् । त्यस्तै, समाजमा बौदिक समूह छन् । उद्योगपति छन् । शिक्षक वर्ग छन् । पत्रकारहरु छन् । कलाकर्मीहरु छन् । पाइलटहरु लगायत धेरै यस्ता क्षेत्रहरु छन् । जो उनीहरु सबै आफैमा सम्मानित छन् ।

तर, यस्तो सम्मानित पदको सामाजिक मान्यता र कर्तव्यको भूमिकालाई लोकतान्त्रिक आधुनिकीकरणको दृष्टिकोणले हेर्ने हो भने यी सबै पदीय भ्रमजाल, व्यक्तिवादी निरङ्कुश शक्ति र अस्त्रको रुपमा, शासन सञ्चालन गर्ने शासकको रुपमा प्रयोग भइरहेको छ भन्दा गलत नहोला । यथार्थमा यस्ता सम्मानित पदहरु शासकहरुको उदय गराउन सञ्चालित भएको चाकारीबादको अदृश्य शक्तिशाली हतियारको रुपमा प्रतिनिधित्व गरेको छ । मानिस पदीय जिम्मेवारीमा सामेल हुन्छ भने त्यही जिम्मेवारीबाट व्यवहारिक ज्ञान हासिल गर्छ र त्यही परिवेशमा आफ्नो कार्यशैली र व्यवहार प्रस्तुत गर्दछ । र, उसको सोच्ने आधार पनि त्यहीँबाट नै निर्माण हुने हुँदा त्यसले सामाजिक जीवनमा प्रत्यक्ष असर पारेको हुन्छ । व्यवहारतः कुनै एउटा सरकारी वा ठुला प्रतिष्ठानका अधिकारीले एउटा सर्वसाधारणसँग गर्ने व्यवहारले धेरै फरक पारेको हुन्छ । सामान्यतः उक्त व्यक्तिले सम्मान स्वरुप नमस्ते गर्दा ती अधिकारी नमस्ते पनि फर्काउन चाहदैनन् । फर्काइ हाले भने पनि अप्राकृतिक र असान्दर्भिक लाग्ने प्रकारको व्यवहार जस्तो देखिन्छ । त्यस्ता क्रियाकलाप र व्यवहारले आफुले गरेको मान सम्मानमा ठेस पुग्न जान्छ, अपमानित भएको हुन जान्छ ।

वास्तविक रुपमा सम्मानित पदहरु सामन्त शैली, भ्रष्ट सोच र व्यवहारवाट थिचिएको छ । पद एउटा जिम्मेवारी मात्र हो, सबैथोक होइन भन्ने चटकै भुलेको अवस्था छ । गणतान्त्रिक मुलुकमा अझै पनि सामन्ती राज्यसत्ता जस्तो सोच र व्यवहार कायम हुनु ज्यादै दुर्भाग्यपूर्ण छ । शितल निवास भित्रको दसैँ टीका प्रकरण त एउटा सापेक्ष घटना मात्र हो । प्रत्येक सरकारी कार्यालय र ठुला प्रतिष्ठानहरुमा त्यस्ता सत्य निरपेक्ष घटनाहरु छन् । जहाँ प्रतिसेकेन्ड दरमा भइरहेका छन् । फरक घुँडा टेक्ने कि नटेक्ने मात्र हो ।

मेरो जिम्मेवारीमा रहेको सेवा क्षेत्रमा आउने अर्थात कार्यालयमा आउने हरेकलाई मैले आफू सरह सोच्न सक्नु पर्यो । उक्त व्यक्ति पनि अन्य कुनै पनि पदीय हैसियत र जिम्मेवारीमा छ भन्ने ठान्नु पर्यो मेरो जस्तै भूमिकाले समाज विकासमा सहयोग पुर्याएको छ भन्ने सोच बनाउनु पर्यो ।

सोही अनुसारको सम्मानित व्यवहार गन्र्नु कर्तव्यबोध हुनु पर्यो । समाज र देश विकासमा हरेक नागरिकको भूमिका गाँसिएको हुन्छ । सबैको एकै प्रकारको नहोला तर त्यहाँ भित्रको भिन्न व्यवहारले खिन्न हुने गरीको हुनु हुँदैन । पदीय जिम्मेवारी गुणात्मक रुपमा भिन्न भए पनि त्यसलाई सम्मानित अभिन्न रुपमा जोड्न सक्नु पर्दछ । आफू सम्मानित हुनलाई अरुको पनि सम्मान गर्न सकियो भने मात्र सबैको आत्मसम्मान हुन्छ । सोच बदलौँ । शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: