ज्यामिगरगढी । मेचीनगर–१५ का नवनिर्वाचित जनप्रतिनिधिहरुले सोमवार वडा कार्यालयमा पदवहाली गरेका छन् ।
साविक ज्यामिरगढी गाविसको वडा नं। १ देखि ७ सम्मलाई मिलाएर मेचीनगर–१५ निर्माण भएको छ । साविक ज्यामिरगढी गाविस कार्यालयलाई नै सो वडाको कार्यालय बनाइएको छ ।
वडामा नेपाली काङ्ग्रेसका गुणराज भट्टराई वडाध्यक्ष पदमा निर्वाचित भएका छन् भने सदस्यहरुमा काङ्ग्रेस र नेकपा एमालेले २÷२ सिट जितेका छन् ।
एमालेबाट जितेका सदस्यहरुमा कुसुम चौधरी र कैलाश कट्टेल हुन् भने काङ्ग्रेसबाट जित्नेहरुमा वृक्षलाल राजबंशी र पवित्रा नेपाली रहेका छन् ।
पद वहालीका अवसरमा वडाध्यक्ष र सदस्यहरुलाई वडा कार्यालयमा विशेष स्वागत तथा सम्मानको कार्यक्रम राखिएको थियो ।
सम्मानपछि वडाध्यक्ष भट्टराईले आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेका थिए ।
वडा कार्यालयका सचिव रुद्र तिमिल्सिनाको सभापतित्वमा भएको पदवहाली तथा सम्मान कार्यक्रममा नेपाली काङ्ग्रेसका तारावीर कटुवाल, नेकपा एमालेका पदम गौतम, नेकपा माओबादी केन्द्रका झपट बहादुर न्यौपाने र राप्रपाका इन्द्र थापाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष भट्टराईले हिजोसम्म पार्टीबाट प्रतिनिधित्व गर्दै आए पनि अब सबैको साझा भएर जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका थिए ।
उनले पिछडिएको ज्यामिरगढीलाई विकासका दृष्टिले समृद्ध बनाउन आफु लागिपर्ने र त्यसमा सहयोग पुर्याउन सबै राजनीतिक दल र सर्वसाधारणलाई आग्रह गरेका छन् ।
चारैतिरबाट खोलाले घेरिएको, सुकुम्बासीहरुले धनीपूर्जा पाउन नसकेको र एउटा गाउँबाट अर्को गाउँ जान खोलामा पुल नभएको विषयमा दलका नेताहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रमको सञ्चालन स्थानीय स्वास्थ्य चौकीका प्रमुख प्रदीप गुप्ताले गरेका थिए ।