पब्लिक स्पीकर प्रसाईलाई झापामा नागरिक अभिनन्दन

  प्रकाशित मिति
१६ पुष २०७७, बिहीबार १९:१६


झापा, १६ पुस । पब्लिक स्पीकर रमेश प्रसाईलाई बिर्तामोडमा नागरिक अभिनन्दन गरिएको छ ।

बिर्तामोड–१ स्थित देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाती, बहुसाँस्कृतिक संग्रहालय सहितको झापा नाटक घरमा आयोजित कार्यक्रममा क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाली कलाकारहरुको तर्फबाट पब्लिक स्पीकर प्रसाईलाई नागरिक अभिनन्दन गरिएको हो ।

झापाका प्रसाईले वक्तृत्वको माध्यमद्वारा समाज रुपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको समूहले जनाएको छ ।

झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईको सभापतित्व तथा प्रदेश सांसद जसमाया गजमेरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहसंयोजक कुमार भट्टराईले स्वागत गरेका थिए ।

क्षितिज संगीत साधना प्रतिष्ठान झापाका कलाकारहरुले स्वागत गित प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि सांसद गजमेरले दान पेटीकामा एक हजार एक रुपैयाँ हालेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा क्षितिज नाट्य समूह झापाको अगुवाईमा तीन दर्जन भन्दा वढी सामाजिक संघसंस्थाले पब्लिक स्पीकर प्रसाईलाई कदर पत्र, नेपाली टोपी, खादा,दोसल्ला र नगदसहित अभिनन्दन गरेका थिए ।

कार्यक्रम अघि पब्लिक स्पीकर प्रसाईलाई नौमती वाजा, च्याव्रुङ वाजा गाजासहित नेवारी, लिम्वू, सन्थाल, राजवंशी, तमु लगायतका विभिन्न परम्परागत साँस्कृतिक भेषभुसामा सजिएका झापालीहरुले स्कटिङ गरी झापा नाटकघरमा भित्र्याएका थिए ।

कार्यक्रममा पब्लिक स्पीकर प्रसाईले क्षितिज नाट्य समूहले सरकारले समेत बनाउन नसकेको झापा नाटक घर निर्माण गरेको भन्दै प्रशंसा गरेका थिए ।

झापा नाटक घरलाई देशकै नमूना नाटक घर बनाउन आफू पनि लागि पर्ने बताउँदै उनले यसमा सहयोग गर्न सवैलाई आग्रह गरे ।

कार्यक्रममा बहुभाषी, बहुजाती, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि राजकुमार पोखरेल, ज्ञानुराम प्रसाईं, कुमार भट्टराई, गोपीकृष्ण प्रसाईं, प्रकाश शिवाकोटी, प्रशान्त भण्डारी, मिनप्रकाश मैनाली, पार्वता खरेल विमली, गजेन्द्रवहादुर पौडेल, डिल्लीराम सिटौला, मदन रसाइली, सुजना खतिवडाले एक धुर क्षेत्रफलको जग्गा बरावरको रकम एक लाख १ हजारको चेक प्रदान गरेका थिए ।

त्यस्तै अग्निप्रसाद पाण्डे, भिम राई, कमलसरी राजवंशी, युवराज पाठक लगायतले ५१ हजार रुपैयाँ बराबरको चेक प्रदान गरेका थिए भने ८३ वर्षीया मनमाया पाठकले एक व्यक्ति एक इँटा समर्पण अभियान अन्तर्गत एउटा इँटा प्रदान गरेकी थिइन् ।

यसैवीच सोहि कार्यक्रममा मंगलबार गठन गरिएको क्षितिज संगीत साधना प्रतिष्ठानका नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको थियो ।

कार्यक्रममा निर्वाचन अधिकृत नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले क्षितिज संगीत साधना प्रतिष्ठानका अध्यक्ष निरज पोखरेल लगायतका नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुका साथै निर्वाचित प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रदेश सांसद झलकसिंह दर्लामी, बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाई., कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल, जलकुमार गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन क्षितिज नाट्य समूह झापाका अध्यक्ष माधव कल्पितले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: