मेचीनगर । चुनावमा उम्मेद्वार बनेका एउटा पार्टीका नेताको परिकल्पना भनेर प्रचार गरिएपछि झापासँग जोडिएको दक्षिणी इलामको जिर्मलेमा निर्माण हुन लागेको सिद्धीखोला जलविद्युत परियोजना विवादमा तानिएको छ ।
झापा क्षेत्र नं. १ मा प्रतिनिधि सभाको उम्मेद्वार बनेका नेपाली काङ्ग्रेसका नेता विश्वप्रकाश शर्माले ‘आफ्नो परिकल्पना’ भन्दै चुनावमा भोट माग्ने गरेकोमा सिद्धी खोला जलविद्युत उपभोक्ता तथा सरोकार समितिका संयोजक भेषराज काफ्लेले आपत्ति जनाएका छन् ।
‘सिद्धी खोला जल विद्युत परियोजना पहिले नै परिकल्पना गरिएको हो’, उनले भने–‘तर, एउटा पार्टीको नाममा यसरी चुनावी मसला बनेर आउनु राम्रो भएन ।’
गत मङ्सिर १ गते काँकरभिट्टा खानेपानी कार्यालयको हलमा परियोजनाका लागि साना लगानीकर्ता जुटाउने उद्देश्यले प्रबर्धनात्मक अन्तरक्रिया कार्यक्रम राखिएको थियो ।
नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुको अधिक उपस्थिति रहेको सो कार्यक्रममा सञ्चालक कम्पनी लुम्बिनी बिल्डर्सका केही कर्मचारी तथा पदाधिकारीहरुले समेत ‘परियोजनाको परिकल्पनाकार विश्वप्रकाश शर्मा भएको’ भन्दै भ्रामक धारणा राखेपछि परियोजना विवादमा तानिएको हो ।
सो कार्यक्रममा वक्ताको रुपमा रहेका उम्मेद्वार शर्मा आफैले पनि परियोजना आफ्नो ड्रिम प्रोजेक्ट भएको र त्यसको परिकल्पना आफ्नो भएको दावी गरेका थिए ।
साविक जिर्मले र हालको रोङ गाउँपालिकामा रहेको सिद्धी खोलामा बन्ने परियोजनाबाट बर्खामा १० मेगावाट र हिउँदमा अढाई मेगावाट विद्युत उत्पादनको लक्ष्य लिइएको छ ।
विभिन्न मिडियामा समेत परियोजनाको परिकल्पनाकार भनेर नेपाली काङ्ग्रेसका उम्मेद्वारको नाम जोड्न थालिएपछि नेकपा एमालेले समेत यसलाई ‘झुठो प्रचार’ भन्दै विरोध जनाएको छ ।
तत्कालीन सांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले सिद्धीखोला जलबिद्युत परियोजना नेपाली काङ्ग्रेस वा सो पार्टीका कुनै पनि नेताको परिकल्पना नभएको बताएका छन् ।
‘सिद्धीखोलामा जलबिद्युत परियोजना बनाउने भनेर इलामका सांसद तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग पटकपटक उच्चतहको छलफल गरी हामीले नै परियोजना अघि बढाएका हौँ’, पूर्व सांसद एमाले नेता कोइरालाले लोकतन्त्र पोस्टसँगको कुराकानीमा भने–‘चुनावको मुखमा आएर एउटा पार्टीको नेताले आफ्नो परिकल्पना भनी जनता झुक्याउने कुरा गरेकोमा हाम्रो गम्भीर आपत्ति छ ।’
परियोजना निर्माणको जिम्मा पाएको लुम्बिनी विल्डर्सले सो हाइड्रो प्रोजेक्टको ६० वर्ग किलोमिटर सर्भे गरेको थियो । जिर्मलेलाई क्याचमेन्ट एरिया बनाएर कम्पनीले २०६४ सालमा प्रोजेक्टको फिजिबिलिटी प्रोसेस अघि बढाएको थियो ।
तर, चुनावको मुखैमा विकासे एजेन्डा बनाएर परियोजनालाई राजनीतिसँग जोड्न खोजिएको स्थानीय सरोकार समितिका सचिव चन्द्रमणि राई बताउँछन् ।
सिद्धीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका मुख्य सञ्चालक मदन अधिकारीले नेपाली काङ्ग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्मा परियोजनाको परिकल्पनाकार नभएको प्रस्ट पारेका छन् ।
‘उहाँ हाम्रो कम्पनीको साझेदार हो’, अधिकारीले लोकतन्त्र पोस्टसँग भने–‘लुम्बिनी बिल्डर्सले दर्ता गरेको परियोजना हामीले किनेका हौँ ।’
काङ्ग्रेसका उम्मेद्वार शर्मा परियोजनाको विकासक्रममा धेरै पछि जोडिएको समेत अधिकारी बताउँछन् ।
परियोजनाको कनेक्सन एग्रीमेन्टका बेला नेपाली काङ्ग्रेसका ऊर्जामन्त्री प्रकाशशरण महत भएको बेला
सिद्धीखोलाको विद्युतलाई फिक्कल सबस्टेसनमार्फत राष्ट्रि«य प्रशारण लाइनमा जोड्ने सम्झौता भएको हो । त्यसबेला काङ्ग्रेस नेता शर्माको सहयोग लिइएको पनि अधिकारीले प्रस्ट पारेका छन् ।
‘हामीले उहाँ (विश्वप्रकाश शर्मा) परिकल्पनाकार हो भनेका छैनौँ’, सञ्चालक अधिकारी भन्छन्–‘चुनावका बेला यस्तो विवाद हुनु र कसैले पनि भोट माग्नका लागि परियोजनालाई राजनीतिकरण गर्नु राम्रो होइन ।’
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)