‘बाबा, प्लीज घर फर्कनुहोस्’
मेचीनगर । चार दिनदेखि सम्पर्कविहीन मेचीनगरका सामाजिक कार्यकर्ता दिपक भण्डारीलाई घर फर्किन परिवार र शुभचिन्तकहरुले आग्रह गरेका छन् ।
बुधवार विहान ९ बजेर ४० मिनट जाँदा रिक्सा चढेर उनी भारतको पानीटङ्की नाका पुगेको सीसी क्यामेराको फुटेज बाहेक अरु केही तथ्य फेला परेको छैन ।
परिवार, साथीभाइ र सामाजिक सञ्जाल कतै पनि सम्पर्कमा हुन नसकेपछि चिन्तित हुँदै सबैले सामाजिक सञ्जालमार्फत भण्डारीलाई घर फर्किन आह्वान गरिरहेका छन् ।
‘प्लीज यो साथ सँगै हुनुपर्छ’–भण्डारीकी पत्नी गीता भण्डारीले फेसबुकमा आइतवार भावुक विचार पोस्ट गर्दै भनेकी छन् ।
उनले यस अघि फेसबुकमार्फत नै ‘उफ् म सोच्नै सक्दिन, आज के भयो…’ भनेर आफ्ना पतिलाई घर फर्किन आग्रह गरेकी थिइन् ।
यसैगरी अमेरिका पढ्न गएका भण्डारीका जेठो छोरा दर्पण भण्डारीले पनि फेसबुकमा भावुक पोस्ट गर्दै भनेका छन्–‘बाबा, हजुरलाई थाहा छ त हामी कति माया गर्छौं हजुरलाई भनेर !’
‘हामी सबै हजुरको पर्खाइमा छौँ बाबा, सास रहुन्जेल आश रहन्छ’, छोरा दर्पण आफ्ना पितालाई घर फर्किन अनुनय गर्दै लेख्छन्–‘हजुर फर्केर आउनु हुन्छ भन्ने विश्वास कहिल्यै मर्दैन, जहाँ जस्तो परिस्थिति भएनि सँगै लडौँला बाबा, प्लीज फर्किनु ।’
भण्डारीका कान्छो छोरा यसपाली एसइइ दिने तयारीमा छन् । पिता सम्पर्कविहीन भएको तनावले उनको पढाई प्रभावित भएको छ ।
सुलभले पनि पितालाई घर फर्किन अनुरोध गर्दै फेसबुकमा लेखेका छन्–‘ड्याड प्लीज कम ब्याक !’
भण्डारी नेकपा मेचीनगरका नेता हुन् । उनको सम्पर्कविहीन अवस्थाले कार्यकर्ता पङ्ति र शुभचिन्तकहरु चिन्तित छन् ।
शुभचिन्तकहरुले फेसबुकमा उनलाई छिटो घर फर्केर परिवार र शुभचिन्तकहरुको चिन्ता हटाउन अनुरोध गरिरहेका छन् ।
साविक नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलले सम्पूर्ण पार्टी पङ्तिलाई खोजी कार्यमा जुट्न आह्वान गरेका छन् ।
सन्तोष गौतम फेसबुकमा लेख्छन्–‘प्यारो दाजु, हजुर अचानक सम्पर्कविहीन हुँदा हामी असाध्यै चिन्तित छौँ, जहाँ भए पनि यथाशीघ्र सम्पर्कका आउनु होला ।’
शिक्षासेवी कविन्द्र श्रेष्ठले पनि भण्डारीलाई घर फर्किन आग्रह गरेका छन् ।
उनी लेख्छन्–‘हामी सबै तपाईको प्रतिक्षामा छौँ ।’
रिचा बहुगुणाले फेसबुकमा ‘परिवारको परीक्षा लिने समय होइन’ भन्दै भण्डारीलाई चाँडो घर आउन आग्रह गरेका छन् ।्
उनी लेख्छन्–‘छोराहरु सानै छन्, पढ्ने छोराहरुलाई कति टेन्सन भयो । दिदी, आमा, बुबाहरु सबै धेरै चिन्तित छन्, तपाई जता हुनुहुन्छ छिटै फर्किनु होस् ।’
भण्डारीको सम्पर्कविहीन अवस्थाको सम्बेदनशीलता नबुझी यो विषयलाई जोडेर केही मिडियाले अनर्गल प्रचार गरेको भन्दै सामाजिक सञ्जालमा आक्रोश समेत पोखिएको पाइएको छ ।
फेसबुकमा नविन विष्ट लेख्छन्–‘विषयको गाम्भीर्यता बुझेर मानवीय सम्बेदनशीलतालाई ध्यानमा राखी अनावश्यक, अनर्गल कुप्रचार नगर्न, कसैको चरित्र हत्या नगर्न, कपोलकल्पित षडयन्त्र नगर्न अनुरोध गरिन्छ ।’
उनले अति सम्बेदनशील विषयमा पत्रकारहरुले ‘सतही समाचार’ लेखेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
‘परिवार, आफन्त, साथीभाइ, शुभचिन्तकहरु पीडामा भएको बेला जे मन लाग्यो त्यही लेख्ने पत्रकारलाई कडाभन्दा कडा कार्वाही हुनु पर्छ’–गीता लकाई खड्का फेसबुकमा लेख्छिन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
…………..