परिवारै पुलमुनि

  प्रकाशित मिति
२१ जेष्ठ २०७५, सोमबार ०९:०२


मोहन काजी

धुलावारी । प्रधानमन्त्री केपी ओलीले ‘अब कोही पनि घरवारविहीन हुनु पर्दैन’ भन्दै आएका छन् । मेचीनगरका नगर प्रमुख विमल आचार्य ‘गरीव, श्रमिक र बेसहाराका लागि सहारा बन्न आएको हुँ’ भन्छन् । मेचीनगर–१० का वडाध्यक्ष सुदय पनेरु ‘म जनताको गोठाला हुँ, सेवा गर्न आएको हुँ’ भन्छन् ।

तर हाम्रै देशको, यही मेचीनगरको र त्यही १० नं. वडामा एउटा परिवार बास बस्नका लागि अन्यत्र कतै ठाउँ नपाएर राजमार्गको पुलमुनि छाप्रो हाल्न बाध्य भएको छ ।

धुलावारीको टिमाई पुलमुनि प्लास्टिकको बोराले बेरेको त्यो परिवारको छाप्रो छ । जहाँ उनीहरुले भोग्नु परेको सबै पीडा र दुःखका कथाहरु पुलको छायामा ओझेलिएको छ ।

पुलमुनि छाप्रो हालेर बस्न थालेका व्यक्ति हुन्–पदमबहादुर कुमाल र उनकी पत्नी शान्ति कुमाल । पदमबहादुर जन्मका आधारमा ७४ वर्षका र नागरिकताको आधारमा ६४ वर्षका भए ।

दुई साता अघिदेखि मेचीनगर–१० धुलावारीको टिमाई पुलमुनि पदमबहादुर पत्नीसहित आएर बास बस्न थालेका हुन् ।
उनीहरुसँग सम्पत्तिको नाममा केही थोत्रा लत्ताकपडा, केही भाडाकुडा र दुई वटा बाच्छा मात्र छन् ।

बाढीले बगाउने डर ः
स्थानीयहरुले पुलमुनि बस्दा राति नै बाढीले बगाउला भनेर उनलाई सचेत गराउने गरेका छन् ।

‘यहाँ छाडेर कहाँ जानु, ठाउँ छैन’, उनी पुलमुनि बस्नुको बाध्यता सुनाउँदै भन्छन्–‘बाढीमा बगेर मर्नैै लेखेको रहेछ भने ठिकै छ !’

सरकार, नगरपालिका र वडापालिका भनेको आफुलाई केही थाहा नभएको उनी बताउँछन् ।

चुनावका बेला केहीले नागरिकता छ भन्दै भोट मागेको सुनाउँछन् उनी । भोटरलिस्टमा नाम भए नभएको उनलाई केही थाहा छैन । गत चुनावमा उनी भोट हाल्न पनि गएनन् ।

सहरमा बिजुली, छाप्रोमा टुकी ः
टिमाईको बाढी सोझै ओइरिने पिलरलाई आड बनाएर उनले प्लास्टिकको बोराले बेरा बारेर बाँसको चित्राको चाङ हालेका छन् । न झ्याल न ढोका । आकाशतिर पुलको पक्की ढलान । सुरक्षित छैन छाप्रो ।

थोत्रा डसना ओछ्याएर त्यही चाङमा सुत्छन् कुमाल बुढाबुढी । पिलरको फेदमा तीन चम्के ढुङ्गाको चुल्हो छ, जहाँ साँझ विहान उनीहरु दालभात पकाएर भोक मेटाउँछन् ।

सहरभरि बिजुली झलमल्ल हुँदा उनको छाप्रोमा टुकी धिपधिपाएको दुर्लभ दृश्य देख्न पाइन्छ । छाप्रोमा ३ किलोजति चामल स्टक छ । तरकारी चाहिँ नजिकैको हटियाबाट कहिले किनेर ल्याउँछन् भने कहिले मागेर ल्याउँछन् ।

दुबै जना दिनभरि सहरतिर पसेर कसैको घाँस काटिदिन्छन् भने कहिले फोहोरमैला सफा गरिदिन्छन् । त्यही कामबाट आर्जेको नगद उनीहरुको बाँच्ने आधार हो । आजको आर्जन भोलिलाई बच्दैन । ‘अहिले खायो भने भरे के खाउँ’ भन्ने नाजुक अवस्थामा उनीहरुको जीवनको डुङ्गा हुइँकिरहेको छ ।

अहिलेसम्म के समस्या छ भनेर कुनै नेता, समाजसेवी र ठूलाठालु मान्छेहरु सोध्न नआएको पदमबहादुर बताउँछन् ।

रामघाटबाट बसाई सराई ः
लोकतन्त्र पोस्टको टिम पुलमुनि पुग्दा उनी पुलको ढलान जगलाई आँगन मानेर कुचोले बढार्दै थिए ।

नजिकै दुई वटा साना बाच्छा चर्दै थिए । बनिबुतो गरेर किनेका ती बाच्छालाई उनले पुलमुनि नै स्याहार गरेर हुर्काउँदै आएका छन् ।

पन्ध्र दिन अघिसम्म कुमाल दम्पत्ति धुलावारीकै नन्दा नदीको किनार रामघाट छेउमा अर्को छाप्रोमा बस्दै थिए ।
झट्केलो छोरोले बुहारी भित्राएपछि त्यो छाप्रो छोराबुहारीलाई बस्नका लागि छाडेर बुढाबुढी चाहिँ पुलमुनि आएको पदमबहादुरले बताए ।

सब्जी हटियामा आउँदा एक दिन उनले पुलमुनि बस्दा पो ठिक हुन्छ भन्ने सोचे अरे । रामघाटको छाप्रो छोराबुहारीलाई दिनु परेपछि यतै बसाई आउने सोचाई त्यही दिनदेखि आएको उनी बताउँछन् ।

नागरिकता छ, भत्ता छैन ः
वि.सं. २००१ सालमा जन्मेको बताउने पदमबहादुर नागरिकतामा भने २०१० साल उल्लेख भएकाले बृद्धभत्ता नपाएको गुनासो गर्छन् ।

शान्तिनगरको खारखोलामा जन्मिएका उनको पुख्र्यौली बारी १० कठ्ठा र खेत १ बिघा थियो रे । तर पढाइलेखाइ केही नजान्ने उनको जग्गा आफन्तैले बेचेर खाइदिए ।

भत्ता पाइने आशले केही महिना अघि उनले शान्तिनगर पुगेर रोइकराई गरी घरधुरी रसिद ल्याएर मेचीनगर–१० मा नागरिकताको फोटोकपी समेत पेश गरेर भत्ताको माग गरेको बताए । तर उमेर नपुगेको भन्दै उनलाई फर्काइयो ।

आफन्त आउँदा बिजोग ः
पदमबहादुरलाई पुलमुनि छाप्रो हाल्न पाउँदा आनन्दै लागेको छ । तर आफन्त आउँदा भने एक रात बास बसाउने ठाउँ नहुँदा नमज्जा लागेको उनले बताए ।

खुदुनावारी र शान्तिनगरतिरबाट आफन्तहरु भेटघाटका लागि आउने गरेको उनले बताए ।

असुरक्षित बसाइ ः
पुलमुनिको कुमाल परिवारको बसाई धेरै किसिमको जोखिममा छ ।

नजिकिएको बर्खामा रातारात उनको छाप्रो नै बगाउने खतरा छ भने खुला छाप्रोमा चोरीचकारीको सानो निहुँमा उनीहरुमाथि आपराधिक आक्रमणको पनि उत्तिकै जोखिम छ ।

टिमाइको पुलमुनि सुँगुर र कुकुरको विगविगी हुने गरेको छ । मानव मलमुत्र समेतको फोहोरले बसिनसक्नु त्यो ठाउँमा बस्नु भनेको रोगको सङ्क्रमण निम्त्याउनु पनि हो ।

सर्प, बिच्छी जस्ता किराकिरीले टोक्ने डर पनि छ । तर बास बस्ने अन्यत्र ठाउँ नभएका कुमाल परिवार पुलमुनिको बसाइ नै आफ्ना लागि सबैभन्दा उपयुक्त विकल्प भएको बताउँछन् ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: