धनकुटा,३ असार । धनकुटाको तेलिया वडा नं. ७ खाम्नेरास्थित गोविन्दबहादुर लिम्बुको गोठमा पर्तिर गाई र बाख्रा बाँधिएका छन्, वर्तिर चाहिँ मान्छे । यो दृश्य देख्नेको आँखा रसाउँछ । तर गोविन्दबहादुर आफ्नै छोरा थर्कबहादुरलाई पशुझैँ साङ्लामा बाँध्नु बाध्यता भएको दावी गर्छन् ।
थर्कबहादुर हाल २० वर्षका छन् । मानसिक सन्तुलन गुमाएपछि परिवारले उनलाई नियन्त्रणमा राख्न साङ्लोको सहारा लियो । जसका कारण उनको र गाईबाख्राको जीवन उस्तै उस्तै भएको छ ।
उपचार गर्न आर्थिक अबस्था कमजोर भएकोले थर्कबहादुरलाई गोठमै बाँधेर राख्नु परेको उनका बाबु गोविन्दबहादुरको भनाई छ । कसैले सहयोग गरे उपचारमा लैजान उनी चाहन्छन् । तर अहिलेसम्म मनकारी सहयोगी फेला परेका छैनन् ।
गोबिन्दबहादुर लिम्बू र इन्द्रमाया लिम्बूको माइलो छोरो हुन् थर्कबहादुर । गरीवीका कारण उपचार अभावमा पशुको जस्तो दाम्लोमा जीवन गुजारिरहेका उनको उपचारमा सहयोग पुर्याइदिन स्थानीय बिद्यालयका प्रअ पूर्णबहादुर लिम्बू (९८४२४२४३१६)ले अपिल गरेका छन् ।