पर्यटक पर्खिरहेछ खुट्टीडाँगी

  प्रकाशित मिति
२० जेष्ठ २०७४, शनिबार ०९:४१


Kazi

मेचीनगर । दिनहुँ हजारौँ पर्यटक भित्रिने र बाहिरिने सुदूर पूर्वी नेपालको महत्वपूर्ण नाका हो–मेचीनगर । मुलुककै प्रवेशद्वारको रुपमा चिनिएको यस नगरभित्र पर्यटकीय आकर्षणका केन्द्रहरुको खोजी गर्ने हो भने ‘खुट्टीडाँगी सामुदायिक बन’ अग्रपङ्तिमा आउँछ । किनकि, यस नगरभित्र अरु ठाउँभन्दा ‘खुट्टीडाँगी’को सुन्दरता र भविष्य बढी नै सम्भावनायुक्त छ ।

मेचीनगर–९ को साढे एघार हेक्टरमा फैलिएको हरियाम्ये सालघारी, पूर्वी किनारमा लमतन्न जलाशय, वरिपरि विभिन्न जनजाति र आदिवासीको सांस्कृतिक विविधायुक्त सघन बसोबास यहाँको मुख्य आकर्षण हो । स्थानीय समुदायको जागरुकतामा यहाँको पर्यटकीय विकासले भर्खरै मात्र यात्रा सुरु गर्दैछ । यहाँको भावी योजनाले मूर्त रुप लिने हो भने खुट्टीडाँगी क्षेत्र मुलुककै एउटा उदाहरणीय एवम् समृद्ध पर्यटन क्षेत्रमा रुपान्तरण हुने निश्चित छ ।

‘सामुदायिक बन’को पहल ः
खुट्टीडाँगी पर्यटन क्षेत्रको अवधारणा यहाँको ‘खुट्टीडाँगी सामुदायिक बन उपभोक्ता समूह’ले ल्याएको हो । विगतमा जङ्गल फडानी हुँदै जाँदा बँचेको एउटा ‘टुक्रे बन’ नै अहिलेको सामुदायिक बन हो ।

सरकारले टुक्रे बनको संरक्षणका लागि स्थानीय समुदायलाई जिम्मेवारी हस्तान्तरण गर्ने नीति लिए पछि वि.सं. २०५२ सालमा खुट्टीडाँगी सामुदायिक बन उपभोक्ता समूह स्थापना भयो । त्यसले दर्ता भने २०५४ सालमा मात्र पाएको थियो ।

समूहको संस्थापक अध्यक्ष मदन निरौला थिए भने त्यसपछि विभिन्न कार्यकालमा नारायण बानियाँ र टङ्कबहादुर नेपालले बनको नेतृत्व सम्हाल्दै आएका छन् । हाल टङ्कबहादुर नेपालले तेस्रो कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।

वर्तमान अध्यक्ष टङ्कबहादुर नेपाल थोरै क्षेत्रफलमा रहेको बनको काठ र दाउरा सीमित हुने भएकाले संस्था चलाउन नै मुस्किल भएपछि यसलाई पर्यटकीय क्षेत्रमा रुपान्तरण गर्ने सोच पलाएको बताउँछन् ।

‘बन घुम्न आउनेहरु बढेको देखेपछि यसलाई पर्यटकीय क्षेत्र बनाउनु पर्छ भन्ने लाग्यो’, पर्यटन क्षेत्र बनाउने सोच कसरी आयो भन्ने प्रश्न गर्दा अध्यक्ष नेपाल भन्छन्–‘सुरुङ्गाको जामुनखाडी लगायतका अरु ठाउँ पनि हेरियो, त्योभन्दा हाम्रो ठाउँ केही कुरामा कमी छ जस्तो लागेन, अनि यसलाई पर्यटकीय क्षेत्र बनाउन थालिएको हो ।’

8अहिलेको अवस्था ः
खुट्टीडाँगी पर्यटन क्षेत्रमा अहिले २३ कठ्ठा जमिनमा फैलिएको विशाल पोखरी छ । पोखरीमा नौका चलाउनका लागि एक छेउमा यात्रु चढ्ने र ओर्लिने स्टेन्ड बनाउने क्रम जारी छ ।

साल जातका ठूला र साना बोटहरुले यहाँको सुन्दरता बढाएको मात्र छैन, पर्यटकलाई जङ्गलको छेउ छेउमा छहारीमा बसेर भलाकुसारी गर्न सकिने गोलघरहरु समेत निर्माण भइसकेको छ । व्यक्तिगत वा कार्यबोझका कारण हुने तनाव हटाउन यहाँको घुमफिर लाभदायक देखिन्छ । शान्त र हरियाली वातावरणमा सबै उमेरका मानिसको मन रमाउने निश्चित छ । गोलघरसम्म पुग्ने गोरेटोहरु बनेका छन्, बन क्षेत्रको वरिपरि डुल्न सकिने गरी पदमार्ग समेत बनाइएको छ ।

बन क्षेत्रभित्र विजुली र शुद्ध पानीको व्यवस्था मिलाइएको छ । पर्यटकीय पूर्वाधार निर्माणाधीन अवस्थामा नै भए पनि यहाँको प्राकृतिक सुन्दरताले मोहित भएर आन्तरिक पर्यटक आउने क्रम बाह्रै महिना जारी रहने गरेको छ ।

नौका विहारका लागि पोखरी तयार छँदैछ, बन समितिले कोलकाताबाट दुई वटा आकर्षक डुङ्गा समेत किनेर ल्याइसकेको छ । निकट भविष्यमै नौका विहार सुरु गरिने खुट्टीडाँगी सामुदायिक बन उपभोक्ता समूहको कार्यालयका प्रमुख राजु धिमाल बताउँछन् ।

5यस्तो छ गुरुयोजना ः
खुट्टीडाँगी पर्यटन क्षेत्रको सम्भावनालाई देखेर यसको पूर्वाधार विकासका लागि मेचीनगर नगरपालिका, पर्यटन कार्यालय, विराट क्षेत्र पर्यटन विकास समिति लगायतले सहयोगको हात बढाउन थालेका छन् ।

काँकरभिट्टा र धुलावारी जस्ता सहरको राजमार्गबाट सबैभन्दा नजिकको दुरीमा रहेको यस क्षेत्रलाई पर्यटकीय आकर्षणको थलो बनाउन सके स्वदेशी मात्र नभएर, छिमेकी मुलुक भारतको पश्चिम बङ्गाल, सिक्किम, आसाम लगायत तेस्रो मुलुक भूटान र बङ्गलादेशका पर्यटक समेत यहाँ आउन लोभिन सक्ने सम्भावना देखिएको छ ।

दातृ निकायहरुकै सल्लाह बमोजिम यस क्षेत्रको व्यवस्थित विकास गर्नका लागि सामुदायिक बन समितिले ‘खुट्टीडाँगी पर्यटन क्षेत्र गुरुयोजना’ तयार पारेको छ । अहिले जति पनि पूर्वाधार निर्माणका कामहरु भइरहेका छन्, त्यही गुरुयोजना अनुसार नै भइरहेको संस्थाकी सचिव रेणुका डाँगी बताउँछिन् ।

सचिव डाँगीका अनुसार खुट्टीडाँगी पर्यटन क्षेत्रको गुरुयोजनामा नौका विहार, चिल्ड्रेन पार्क, पिकनिक स्पट, प्रवेशद्वार, फिसिङ पोन्ड, साइक्लिङ लेन, बेलिब्रिज, मन्दिर, फ्री वाइफाइ जोन आदिको निर्माण समावेश छन् ।

7महत्वाकांक्षी योजनाहरु वाटर फाउन्टेन, स्वीमिङ पुल, कटेज र भ्यू टावरको निर्माण गुरुयोजनामा समेटिएको सचिव डाँगी बताउँछिन् । उनका अनुसार सुरुङ्गाको एभरेस्ट इन्जिनियरिङ कन्सल्टेन्सीले २०७० सालमै बनाएको गुरुयोजना बमोजिमको सम्पूर्ण कार्य सम्पन्न गर्नका लागि ६ करोड ३५ लाख रुपैयाँ बजेट लाग्ने छ ।

गुरुयोजना निर्माण गरी अघि बढिसकेको खुट्टीडाँगी सामुदायिक बनलाई अब दातृ निकायको हातेमालोको आवश्यक छ । ‘विकासका कार्यहरु हचुवाका तालमा होइन, गुरुयोजना बमोजिम हुनु पर्छ भन्ने हाम्रो सोच हो’, पर्यटकीय विकासका लागि मरिमेटेर लागिरहेकी संस्थाकी सचिव डाँगी भन्छिन्–‘हाम्रो सोच अनुसार काम गर्न पाइयो र दाताहरुबाट सहयोग जुटाउन सकियो भने गुरुयोजनालाई केही बर्षभित्रै विपनामा देख्न पाइने निश्चित छ ।’

पोखरीको रोचक इतिहास ः
अहिले २३ कठ्ठा क्षेत्रफलमा जुन सुन्दर जलाशय देख्न सकिन्छ, त्यो संस्थाले निर्माण गरेको कृत्रिम पोखरी हो । साढे १३ कठ्ठा जग्गा खरिद गरेर बनको सिमसार क्षेत्रमा महिनौँ समय लगाएर पोखरी खनिएको थियो । त्यहाँ जमेको पानी भने प्राकृतिक रुपमै जम्मा भएको हो ।

4बनका उपभोक्ता एवम् स्थानीय बुद्धिजीवी चुडामणि रेग्मीका अनुसार हालको पोखरी रहेको ठाउँमा धेरै पहिले प्राकृतिक पोखरी नै थियो । जसको स्थानीय नाम थियो–ब्याङडुबी । आदिबासीहरुले भ्यागुताले डुबुल्की मार्ने पोखरी भएकाले ब्याङडुबी नाम राखेको किम्बदन्ती छ ।

संस्थाको कार्यालय प्रमुख राजु धिमालका अनुसार ब्याङडुबी पोखरीको एकछेउमा पुरानो इनार भएको बुढापाकाहरु बताउँथे । जङ्गलले घेरिएको स्थान भएकाले इनारमा रुखका पातहरु झर्थे । त्यही इनार वरपर दिनभर एउटा रङ्गीन चरा बस्थ्यो । जसले इनारमा पात झर्नासाथ टिपेर बाहिर निकाल्थ्यो रे । चराको त्यो अनौठो काम देखेर स्थानीय मानिसहरु चरा र इनारमा दैवी शक्ति भएको ठान्थे । स्थानीयवासीमा अहिले पनि त्यो मान्यता छ ।

यही किम्बदन्ती सुनेर पोखरीको किनारमा ब्याङडुबी भगवतीको मन्दिर निर्माण गरिएको छ । त्यस मन्दिरलाई विशेष संरक्षण गर्दै जाने गुरुयोजनामा समेत उल्लेख छ ।

6स्थानीय समुदाय र विकास ः
पर्यटन क्षेत्रको विकासको सोझो फाइदा वरपर बसोबास गर्दै आएका समुदायले पाउने निश्चित छ । यसको ज्वलन्त उदाहरण जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रमा देख्न सकिन्छ ।

एक दशक अघिसम्म जामुनखाडीको अवस्था अहिलेको खुट्टीडाँगी सामुदायिक बनकै जस्तो थियो । गङ्गा र जमुना भनिने दुईवटा पुरिएका पोखरीलाई उत्खनन गरेर त्यहाँ अहिलेको भव्य पर्यटन क्षेत्र बनाइएको हो । यसको नेतृत्व लिए–जामुनखाडी सामुदायिक बनका अध्यक्ष परशुराम गिरीले ।

जङ्गलको ढलापडा रुखका दाउरा र काठ बेचेर पहिले पहिले खासै आम्दानी नपाउने जामुनखाडी सामुदायिक बनले हाल पर्यटक प्रवेशको टिकट बेचेरै दैनिक एक लाख रुपैयाँसम्म कमाउन सक्षम भएको छ । उसको यो सफलताका पछाडि एउटै कारण छ–पर्यटन ।

जामुनखाडीमा आउने पर्यटक बढेसँगै वरपरका बासिन्दाले होटल, रेस्टुरेन्ट, किराना पसल, कस्मेटिक पसल लगायतका व्यवसाय चलाउन पाएका छन् । हिजोका दिनमा अर्काको खेतीमा हाजिरा गरेर जसोतसो पेटपालन गर्दै आएका त्यहाँका बासिन्दा अहिले सम्पन्न बनेका छन् ।

ठिक यस्तै अवस्था छ खुट्टीडाँगीमा पनि । बन क्षेत्र वरपर ३ सय ७० घरधुरी आदिवासी, जनजाति र अन्य जातिको सघन बसोबास छ । खुट्टीडाँगी पर्यटन क्षेत्रले विकास गर्र्दै जाँदा भविष्यमा यहाँ झुपडीपिच्छे पसल चल्ने छन् । स्थानीयको आयआर्जन बढेर जाने छ । तसर्थ समुदायले पनि पर्यटन क्षेत्रको विकास गर्न सामाजिक दवाव सिर्जना गर्न जरुरी देखिन्छ ।

11
‘खुट्टीडाँगीको सुन्दर र समृद्ध भविष्यसँग गाँसिएको यो विषयमा राजनीतिक दलहरुले पनि गम्भीर चासो राखिदिनु पर्छ ।’ -टङ्कबहादुर नेपाल

लगनशील र परिपक्व नेतृत्व ः
कुनै पनि संस्थालाई अग्रगति प्रदान गर्नका लागि नेतृत्व गतिशील र सक्षम हुनु पर्दछ । खुट्टीडाँगी सामुदायिक बनको वर्तमान समितिले बन क्षेत्रलाई पर्यटन क्षेत्रमा रुपान्तरण गर्ने दूरदृष्टि लगाउनु परिपक्वताको परिचय हो ।

हाल संस्थाको समितिमा अध्यक्ष टङ्कबहादुर नेपाल, उपाध्यक्ष इन्दिरा नेपाल, सचिव रेणुका डाँगी, कोषाध्यक्ष भद्रिका दाहाल र उपसचिव पुरनपाल राई रहेका छन् भने सदस्यमा सुजाता नेपाल, मनकुमार दर्जी, शुशिला बिस्ट, गणेश भट्टराई, बिर्खबहादुर कटुवाल र यशोदा राणा रहेका छन् । कार्यालयको प्रमुखको जिम्मेवारी सामाजिक क्षेत्रमा क्रियाशील स्थानीय युवा राजु धिमालले सम्हालेका छन् ।

‘हामी जे काम गर्छौ, संस्थाको हितलाई ध्यानमा राखेर मात्र गर्छौँ’, उपभोक्ताको मतबाट तीन कार्यकाल अध्यक्ष चुनिएका टङ्कबहादुर नेपाल भन्छन्–‘व्यक्तिगत रुपमा केही पाइएला भनेर समितिमा आएकै होइनौँ ।’

मेचीनगरको विभिन्न सामाजिक सङ्घ संस्थाको नेतृत्वदायी भूमिकामा रहेकी बन समितिकी सचिव रेणुका डाँगी पनि समितिका सबै अग्रज तथा साथीहरुले समुदाय र संस्थाको हित सोचेर कुनै पनि निर्णय लिने गरिएको बताउँछिन् ।

जिल्लाकै उत्कृष्ट बन ः
थोरै बन क्षेत्र र सानो कारोवार भए तापनि खुट्टीडाँगी सामुदायिक बन उपभोक्ता समूहको व्यवस्थापन जिल्लाकै उत्कृष्ट मानिन्छ ।
सामुदायिक बन उपभोक्ता जिल्ला महासङ्घ झापाले गत वर्ष जिल्लाभरिको सबैभन्दा राम्रो सामुदायिक बनको रुपमा यसलाई सम्मानित समेत गरेको थियो ।

बनको वार्षिक आम्दानी ५ लाख रुपैयाँको हाराहारीमा हुने गरेको छ । आफ्ना उपभोक्ताहरुलाई सहुलियतमा काठ र दाउरा दिन नसके पछि यस संस्थाले छिमेकी थोप्लेविरान सामुदायिक बनबाट काठ दाउरा किनेर समेत ल्याउने गरेको छ ।

12
‘हाम्रो सोच अनुसार काम गर्न पाइयो र दाताहरुबाट सहयोग जुटाउन सकियो भने गुरुयोजनालाई केही बर्षभित्रै विपनामा देख्न पाइने निश्चित छ ।’ -रेणुका डाँगी

पर्यटन क्षेत्रको विकासमा स्थानीय स्रोत जुटाउनका लागि उपभोक्ताहरुले आफुले पाउँदै आएको सहुलियत समेत पोखरी निर्माणमा खर्चिएका छन् । यसबाट स्थानीय समुदाय समेत पर्यटन क्षेत्रको विकास गर्न आतुर रहेको प्रस्ट हुन्छ ।

संस्थाले समुदायका सदस्यहरुमा बचत गर्ने बानी बसाउन बचत समूह परिचालन गर्दै आएको छ । सदस्य बनेका स्थानीयले मासिक ४० देखि ५० रुपैयाँ जम्मा गर्दै आएका छन् । जसका लागि हरेक समूहलाई संस्थाले १० हजार रुपैयाँ बीउ पूँजी अनुदान दिएको छ ।

समुदायका विपन्न, असहाय र एकल महिलाको परिवारलाई संस्थाले २२ वटा शौचालय निर्माण गरिदिएको छ । संस्थाले विर्तामोडको मनमोहन मेमोरियल हस्पिटलबाट उपभोक्ताहरुले उपचारमा १० प्रतिशत छुट पाउने गरी सम्झौता समेत गरेको छ ।

योजना छ, बजेट छैन ः
आन्तरिक स्रोत न्यून भएको र स्थानीय क्षेत्रका सांसदहरुले समेत हालसम्म एक रुपैयाँ बजेट नदिएको यस खुट्टीडाँगी पर्यटन क्षेत्रको उन्नतिका लागि नगरपालिका, पर्यटन कार्यालय, विराट क्षेत्र पर्यटन प्रबर्धन समिति लगायतका सरोकारवाला निकायहरुले बजेट बिनियोजन गरिदिन जरुरी देखिएको छ ।

‘हामीसँग मास्टरप्लान छ, दूरदृष्टि भएको नेतृत्व छ, तर बजेट छैन’, संस्थाका अध्यक्ष टङ्कबहादुर नेपाल आन्तरिक समस्या बेलिविस्तार लगाउँदै भन्छन्–‘खुट्टीडाँगीको सुन्दर र समृद्ध भविष्यसँग गाँसिएको यो विषयमा राजनीतिक दलहरुले पनि गम्भीर चासो राखिदिनु पर्छ ।’

झापा क्षेत्र नं. १ मा यो सामुदायिक बन पर्दछ । तर यस क्षेत्रबाट रविन कोइराला, उषा गुरुङ, नरेन्द्रविक्रम नेम्वाङ र मिलनकुमारी राजबंशी सांसद बनेकी छन् । यति धेरै सांसद भए पनि खुट्टीडाँगी पर्यटन क्षेत्रको विकासमा सांसद् विकास कोषबाट हालसम्म कुनै सहयोग नपाउनु दुःखदायी विषय भएको समितिका पदाधिकारीहरु गुनासो गर्छन् ।

मेचीनगरको समग्र विकास गर्ने उद्देश्यले केही वर्ष अघि विश्व बैङ्कले खुट्टीडाँगीमा पार्क बनाउने मेगा प्रोजेक्टको चर्चा निकै भएको थियो । करोडौँ बजेट खर्च गरिने सो परियोजनाले साकार रुप नलिदै चर्चा सेलाएर गएकोमा समेत स्थानीयवासीको गुनासो छ ।

आदिवासी जनजाति महासङ्घ महिला समन्वय परिषद्की झापा अध्यक्ष तथा स्थानीय वनको उपभोक्ता सदस्य शान्ता श्रेष्ठ खुट्टीडाँगीलाई पर्यटन क्षेत्र बनाउन सके समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गर्छिन् ।

‘प्राकृतिक सौन्दर्यको खानी छ खुट्टीडाँगी, पर्यटक आकिर्षत गर्न सके यहाँका गरीव समुदायको समेत जीवनस्तर समृद्ध हुनेथ्यो’, उपभोक्ता सदस्य श्रेष्ठ भन्छिन्–‘खुट्टीडाँगीलाई पर्यटकीय क्षेत्र बनाउने कुरा अहिले सपना जस्तो लाग्ला, तर यो यथार्थमा परिणत हुन कुनै गाह्रो पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: